डिजिटल आतंक र भीडको भ्रम…!

 

यो देशमा गरिखान नसकेर विदेशिनुपर्‍यो भन्नेहरू पनि हामी नै हौँ, र देशमै इलम गरेर पसिना बगाउनेलाई शंका गर्नेहरू पनि हामी नै। यही दोहोरो मानसिकताले समाजलाई कमजोर बनाएको छ। एउटा हातले “देश बनाउँछौँ” भन्ने, अर्को हातले उद्योगी–व्यवसायीलाई दुश्मन देख्ने प्रवृत्ति आखिर कता लैजान खोजेको हो?

हिजोका दिनमा “अरूले देश सके, हामी बनाउँछौँ” भन्नेहरूकै नाममा मीनबहादुरका २८ मध्ये २१ स्टोरमा लुटपाट, तोडफोड र आगजनी भएको कुरा बिर्सिन मिल्छ? जबजब भाटभटेनी देख्छु, ती घटनाका दृश्य सम्झेर जिउँमा काँडा उम्रिन्छ। पसिना, परिश्रम र उद्यमशीलताले उभिएको संरचनालाई केही घण्टाको भीडले ध्वस्त पार्दा त्यसको असर केवल एउटा व्यापारीलाई होइन, हजारौँ श्रमिक, कर्मचारी र परिवारलाई पर्छ। तर जिम्मेवारी कसले लिन्छ?

आजकल नयाँ रोग लागेको छ—“भनिरहेका छन्” भन्ने राजनीति। कसले भनिरहेको छ? कहाँ भनिरहेको छ? प्रमाण के हो? संवाद के हो? तर यति सोध्नासाथ जवाफ आउँछ—“सबैले भनिरहेका छन्।” सामाजिक सञ्जालमा एउटा पोस्ट आयो, केही किबोर्ड योद्धाले सेयर गरे, दुई–चारजना डिजिटल टेररिस्टले ट्रेन्ड बनाइदिए—बस् सत्य स्थापित भयो! न प्रमाण दिनुपर्ने, न संवाद सुनाउनुपर्ने। भनिरहेका छन् भने पुग्यो।

यो भीड मानसिकता खतरनाक छ। भीडले सोच्दैन, भीड उक्सिन्छ। भीडले प्रश्न गर्दैन, भीड नारामा बहन्छ। अनि त्यो भीडको अगाडि परे कसैको पसल, कसैको घर, कसैको उद्योग—सबै जल्छ। पछि फेरि त्यही भीडले भन्छ—“देश किन बन्दैन?” देश बनाउने आधार नै त नष्ट गरिन्छ भने कसरी बन्छ?

राजनीति इतिहास, त्याग र विचारको जगमा उभिनुपर्छ। तर आज केही पात्रहरू बिना इतिहास, बिना योगदान, केवल उत्तेजनात्मक भाषण र डिजिटल हल्लाको भरमा हिरो बन्न खोजिरहेका छन्। राजनीतिक इतिहास नभएका, जनआन्दोलनमा योगदान नभएका, नीति–कार्यक्रमको स्पष्टता नभएका पात्रहरू चर्को स्वरमा चिच्याएर आफूलाई विकल्प घोषणा गर्छन्। विकल्प हुनु नराम्रो होइन, तर विकल्प बन्न त्याग, दृष्टि र जिम्मेवारी चाहिन्छ—केवल स्टन्ट होइन।

देशमा इलम गरेर पैसा कमाउनेलाई दुश्मन देख्नु गलत हो। उद्यमी सफल भयो भने त्यो राष्ट्रको अर्थतन्त्र बलियो हुनु हो। रोजगारी सिर्जना हुनु हो। कर तिरेर राज्यलाई सुदृढ बनाउनु हो। यदि कसैले गैरकानुनी काम गरेको छ भने कानुनले कारबाही गरोस्। तर सम्पूर्ण उद्यमशीलतालाई शत्रु जस्तो व्यवहार गर्नु न्याय होइन।

हामीले अब चुपचाप तरमा छाप हान्ने समय आएको छ—भावनामा होइन, विवेकमा। किबोर्डको हल्लाभन्दा कामको इतिहास हेर्ने। उत्तेजनाभन्दा नीतिको स्पष्टता हेर्ने। डिजिटल ट्रेन्डभन्दा वास्तविक योगदान हेर्ने। भोट भनेको रिस पोख्ने साधन होइन, भविष्य रोज्ने अधिकार हो।

राजनीति मनोरञ्जन होइन। यो देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा—सबैसँग जोडिएको विषय हो। त्यसैले निर्णय गर्दा प्रश्न गरौँ:
– उसले समाजलाई जोड्छ कि भड्काउँछ?
– उसले उद्योग र श्रमको सम्मान गर्छ कि दमन?
– उसले प्रमाण दिन्छ कि केवल “भनिरहेका छन्” भनेर भाग्छ?

यदि हामी सचेत भयौँ भने डिजिटल जन्जालले हामीलाई भेँडा बनाउन सक्दैन। हामीलाई मालिक फेरिँदै जाने चक्रमा राख्न सक्दैन। हामी विवेक प्रयोग गर्‍यौँ भने लुट, आगजनी र उत्तेजनाको राजनीति स्वतः कमजोर हुन्छ।

अन्त्यमा, देश बनाउने जिम्मा कसैको एक्लै काँधमा हुँदैन। यो जिम्मा हामी सबैको हो। त्यसैले चुपचाप तरमा छाप हानौँ—इतिहास नभएका ठगलाई होइन, जिम्मेवार र काम गर्ने नेतृत्वलाई चिनेर। हल्लालाई होइन, सत्यलाई साथ दिऔँ। भीड होइन, चेतना बनौँ। तब मात्रै यो देश साँच्चै बन्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation