
आदरणीय कमरेडहरू,”प्रचण्ड र विप्लव”
उच्च सम्मान सहितको क्रान्तिकारी लालसलाम!!✊
यो एउटा सिपाहीको हृदयबाट निस्किएको आवाज हो, जसमा त्याग, बलिदान र सपनाहरूको भारी छ। जनयुद्धका ती रापिला दिनहरू सम्झँदा आजको राजनीतिक शून्यताले मन पोल्छ, असैय पीडा दिन्छ।
आज यो पत्र लेखिरहँदा मेरो हात काँपिरहेका छन् र आँखाको डिलमा रोल्पा-रुकुमका ती चट्टानी भिरहरू, बेनीको त्यो अँध्यारो रात र चुनबाङको त्यो ऐतिहासिक आँगन नाचिरहेका छन्। म त्यही सिपाही हुँ, जसले तपाईँहरूको एक आदेशमा आफ्नो बैँस, घर-परिवार र जीवनको मोहलाई एउटा झोलामा कोचेर ‘नयाँ नेपाल’ को सपना देख्न यूद्ध मैदानमा निस्किएको थियो।
कमाण्डरहरू,
के तपाईँहरूलाई अझै याद छ? ती दिनहरूमा हाम्रो विचार एउटै थियो, हाम्रो दुश्मन एउटै थियो र हाम्रो सपना पनि एउटै थियो। हामीले हाम्रा प्यारा कमरेडहरूलाई आफ्नै काँधमा बोकेर रगतको पोखरी पार गरेका थियौँ। कतिले हाँस्दै गोलीको जीवन रोजे, बम बारूद रोजे, कतिले आफ्ना नानीहरूलाई टुहुरो बनाएर सहिदको सूचीमा नाम लेखाए। के ती हजारौँ सहिदको रगत र बेपत्ताहरूको आँसुको मूल्य आजको यो फुट र विभाजन मात्रै थियो?
आज तपाईँहरू फरक-फरक धारमा हुनुहुन्छ। एउटा सत्ताको लुछाचुँडी र संसद्को गणितमा हराउँदै हुनुहुन्छ भने अर्को फेरि त्यही पुरानो इतिहासलाई पुनर्जीवित राख्न संघर्षको नयाँ नाम खोज्दै हुनुहुन्छ। तर यसो गरिरहँदा तपाईँहरूले कहिल्यै ऐना हेरेर सोध्नुभएको छ, “हामीले लडेको युद्धको विरासत कहाँ पुग्यो?”
आज माओवादी आन्दोलन एउटा सानो टापु जस्तो बन्दै गएको छ।
हिजो जसलाई हामीले सामन्तवादका नाइके भन्थ्यौँ, आज तिनीहरू नै हाम्रो मर्ममाथि प्रहार गरिरहेका छन्। हाम्राे रक्तरञ्जित इतिहासलाई मेटाउने कुचेष्टा गरिरहेका छन्। आज कम्युनिष्ट आन्दोलन खासगरी माओवादी आन्दोलन कमजोर मात्र भएको छैन, यो एउटा मजाक बन्न थालेको छ। जनयुद्धले ल्याएको परिवर्तनमा टेकेर आज मानिसहरू जनयुद्धकै अर्काे बिल्ला भिराएर गाली गरिरहेका छन्। यो भन्दा ठुलो अपमान हामी सिपाहीका लागि अरू के हुन सक्छ?
म सोध्न चाहन्छु:
– के ती हजारौँ सहिदको सपना टुक्रा-टुक्रा हुन दिनकै लागि हामीले बन्दुक बोकेका थियौँ?
– के हिजो सँगै लडेका सिपाहीहरू आज औषधि उपचार नपाएर छटपटिनु र तपाईँहरू एक-अर्काको अस्तित्व स्विकार्न नसक्नु नै हाम्रो उपलब्धी हो?
– के ‘प्रचण्ड’ र ‘विप्लव’ बीचको इगो, ती गरिब जनताको मुक्तिभन्दा ठुलो हो?
असमझदारीका पहाडहरू होलान्, कार्यदिशाका भिन्नताहरू होलान्। तर याद राख्नुहोस्, इतिहासले तपाईँहरूलाई तपाईँको इगोको आधारमा होइन, तपाईँले कति ठुलो त्याग गरेर आन्दोलन जोगाउनुभयो भन्ने आधारमा मुल्याङ्कन गर्नेछ। दुश्मनहरू हाम्रो फुटमा खुसीयाली मनाइरहेका छन्। उनीहरू चाहन्छन् ,माओवादीहरू आपसमै लडेर सकिउन्।
आदरणीय कमरेडहरू,
अझै पनि ढिलो भएको छैन। विरासत जोगिए मात्र इतिहास बाँच्छ। यदि तपाईँहरू आज पनि एक ठाउँमा उभिन सक्नुहुन्न भने, भोलि इतिहासको पानामा ‘एक समयको महान् क्रान्ति कसरी विसर्जन भयो’ भन्ने एउटा दुखद अध्याय मात्र बाँकी रहने खतरा छ।
एउटा घाइते र थाकेको सिपाहीको बिन्ती छ, ती पुराना घाउहरू कोट्याउन छोड्नुहोस्। सहिदका परिवारको आँसु पुछ्नका लागि भए पनि, बेपत्ताका आमाहरूको पर्खाइलाई न्याय दिनका लागि भए पनि र यो देशमा कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दिनका लागि भए पनि तपाईँहरू एक हुनै पर्छ।
एउटै मञ्चबाट फेरि एक पटक ‘क्रान्ति’ को त्यो पुरानो गर्जन सुन्न चाहन्छन् यी कानहरू। के तपाईँहरू आफ्ना सिपाहीहरूको यो अन्तिम इच्छा पूरा गर्नुहुन्छ?
उही, तपाईँहरूकै आदर्शमा बाँचेको एक गुमनाम सिपाही।
“आदरणीय कमाण्डरहरू,
के तपाईँहरूलाई अझै सम्झना छ? ती दिनहरू जब हामी एउटै धुलाम्मे सडकमा काँधमा काँध मिलाएर संघर्ष गरिरहेका थियौँ। शत्रुको घेराभित्र रहँदा पनि एउटै भान्सामा बसेर मकै-भट्यास बाँडेर खाएको त्यो आत्मीयता आज कुन कुनामा हरायो? एउटै ओतमुनि बसेर समाजवादी क्रान्तिको खाका कोरेको र एउटै मञ्चबाट उत्पीडित जनताका लागि गर्जिएको त्यो दृश्य आज पनि मेरो मानसपटलमा ताजा छ।
आज म मात्र होइन, हिजोका हजारौँ घाइते योद्धाहरू, जेल-नेल भोगेका बन्दीहरू र ती तमाम जनताहरू जसले तपाईँहरूको एक आवाजमा आफ्नो सर्वस्व सुम्पिए, उनीहरू सबैको एउटै चाहना छ, तपाईँहरूलाई फेरि एउटै मञ्चमा उभिएको हेर्न। हामी चाहन्छौँ, तपाईँहरूले व्यक्तिगत इगो र स-साना कार्यनीतिक मतभेदलाई त्यागेर फेरि एक पटक ‘समाजवादी क्रान्ति’ को साझा झण्डामुनि गोलबद्ध हुनुहोस्।
यदि तपाईँहरू अझैपनि एक ठाउँमा उभिन सक्नुभएन भने, भोलि इतिहासले हामीलाई सोध्नेछ, ‘के तिम्रा नेताहरू केवल सत्ता र शक्तिका लागि मात्र लडेका थिए त?’ त्यो प्रश्नको उत्तर दिन हामीसँग कुनै शब्द हुनेछैन। लाखौँ जनताको यो आशा र भरोसालाई मर्न नदिनुहोस्। आन्दोलनको यो ओइलाउँदो विरासतलाई जोगाउन अब तपाईँहरू मिल्नुको विकल्प छैन। हामी अब तपाईंहरू लाई एउटै भान्सामा खाना खाएको, एउटै झण्डा बोकेको, एउटै सडक तताएको र एउटै मञ्चमा उभिएर समाजवादी क्रान्तिका लागि गर्जिएकोे हेर्न चाहन्छौँ। त्यसका लागि यी कानहरू पर्खाइमा रहनेछन्।
के तपाईँहरू आफ्ना सिपाहीहरूको यो अन्तिम इच्छा पूरा गर्नुहुन्छ?अझै पनि समय छ, इतिहासको यो गम्भीर मोडमा एक साहसिक निर्णय लिनुहोस्। हाम्रा सपनाहरू अझै जिउँदै छन्, केवल तपाईँहरूको एकताको पर्खाइमा!
उही, तपाईंहरुकै आदर्शमा बाँचेको गुमनाम सिपाही – कमरेड जटील!
समाजवादी युवा फोर्स – Socialist Youth Force
समाजवादी यूवाफोर्स कर्णाली प्रदेश
















