पाण्डेकाे मृत्युमा स्मरण सभा सम्पन्न

३ वैशाख, चितवन

चितवन, बुधबार । भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति तथा दिवाकर बालग्रामको संयुक्त आयोजनामा कृतिशेष दिवस पाण्डेको सातौं दिनको अवसरमा स्मरण तथा समवेदना सभा कालिका नगरपालिका–पदमपुर लामाचोकमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले पाण्डेको जीवन संघर्ष, योगदान र विचारलाई स्मरण गर्दै अन्धविश्वासविरुद्ध संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

दिवाकर बालग्रामकी संस्थापक अध्यक्ष अन्जना विसंखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति अध्यक्ष तथा केन्द्रीय सदस्य ओमनाथ पाण्डेले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा भौतिकवादी समाज नेपालका केन्द्रीय सल्लाहकार सन्देश पाण्डेले कृतिशेष दिवस पाण्डेको जन्मदेखि निधनसम्मको राजनीतिक, सामाजिक तथा वैचारिक यात्राबारे प्रकाश पार्दै उहाँलाई प्रतिभावान, निष्ठावान र संघर्षशील व्यक्तित्वका रूपमा चित्रण गर्नुभयो। उहाँको निधनले आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभयो।

त्यसैगरी, भौतिकवादी समाज नेपालका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले समाजमा रहेको मृत्युपछिको औपचारिक सम्मान र जीवित अवस्थामा हुने उपेक्षाबीचको विरोधाभासप्रति प्रश्न उठाउनुभयो। “मान्छे जीवित हुँदा सम्मान नगर्ने, तर मृत्युपछि फुल, अविर चढाएर गुणगान गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो, “हामीले जिउँदै एकअर्कालाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ।”

उहाँले अन्धविश्वास र कर्मकाण्डका नाममा फैलिएका परम्परागत अभ्यासहरूमाथि कडा आलोचना गर्दै स्वर्ग–नर्कजस्ता अवधारणालाई मनगढन्ते र शोषणका उपकरण भएको टिप्पणी गर्नुभयो। मृत्युपछि गरिने दान, पूजा र कर्मकाण्डलाई “ठगीधन्धा”को संज्ञा दिँदै यस्ता अभ्यासबाट मुक्त हुन आग्रह गर्नुभयो।

कार्यक्रममा दिवाकर बालग्रामका संस्थापक तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि राजनीतिक दलहरू, विशेषगरी कम्युनिष्ट शक्तिहरूले आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। समाज रूपान्तरणका लागि भौतिकवादी विचारधारासँग सहकार्य गर्दै अघि बढे मात्रै कृतिशेष पाण्डेप्रति सच्चा सम्मान हुने उहाँको भनाइ थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अन्जना विसंख्यले दिवस पाण्डेको विचारलाई व्यवहारमा लागू गर्न सके मात्रै उहाँ सधैंका लागि जनताको मनमा जीवित रहने धारणा राख्नुभयो।

सभामा सहभागीहरूले कृतिशेष पाण्डेको योगदानको स्मरण गर्दै अन्धविश्वासमुक्त, वैज्ञानिक सोचयुक्त समाज निर्माणका लागि प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation