अध्यक्षद्वारा विद्यालयको नाम बेचेर गैरकानुनी सामान खरिद

प्युठानको नौबहिनी गाउँपालिका– ८ मा रहेको लुप्लुङ माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट गम्भीर लापरवाही गरी सामान खरिद गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षजस्तो गरिमामय पदमा रहेका श्रीराम भण्डारीले प्रशासनमा कुनै छलफल र निर्णयबिना १ लाख ९१ हजार ८ सय तीस (१,९१,८३०) रुपैयाँको निर्माण सामाग्री आफ्नो घरमा लिएर प्रयोग गरेको र सो रकम विद्यालयको खातामा चढाएको विषय खुल्नमा आएको हो । भण्डारीले झण्डै दुई लाखको सामान आफ्नो व्यक्तिगत प्रयोजनको लागि खरिद गरेर विद्यालयलाई ५ महिनासम्म जानकारी नै नगराउनुले उनको नियतमाथि गम्भीर शंका उत्पन्न भएको विद्यालय परिवारले जनाएको छ ।

घतलाग्दो विषय त के छ भने यो आर्थिक वर्षमा सामान्य रङरोगनबाहेक कुनै निर्माणका काम नपरेको र विद्यालय व्यवस्थापन समितिको खरिद आदेश नै नभएको अवस्थामा विद्यालयको खातामा यसरी रकम चढाएर व्यक्तिगत प्रयोजनका लागि सामान निकालेका निज श्रीराम भण्डारी नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वहालवाला अध्यक्ष हुन् ।

खास भएको के हो ?
विद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीका अनुसार कार्तिक र मङ्सिरको महिनाका विभिन्न मितिमा श्रीराम भण्डारीले बाग्दुलामा रहेको नितेश अर्डर एण्ड सप्लायर्सबाट सिमेन्ट, सरिया, जस्तापाता, पेन्ट लगायतका झण्डै १ लाख ९२ हजार बराबरको सामाग्री आफ्नो घरमा लगेर प्रयोग गरेको र सो रकम विद्यालयको खातामा चढाइएको विषयले आफू आश्चर्यचकित भएको बताएका छन् ।

घटना भएको पाँच महिनापछि एक्कासी नितेश अर्डर एण्ड सप्लायर्सबाट ‘विद्यालयको नाममा बाँकी रहेको रकम किन नतिरेको ?’ भनेर लगातार फोन आएपछि घटनाबारे बुझ्दा निज श्रीराम भण्डारीले सामानहरू आफ्नो व्यक्तिगत प्रयोजनमा लिएर विद्यालयको खातामा रकम जम्मा गरेको खुल्नमा आएको बताएका छन् ।

समाजमा विधिको शासन र कानुनी राज्यको पक्षमा खबरदारी गर्ने संस्थाको प्रमुख नै सो गैरकानुनी काममा जोडिनुले सिंगो पत्रकार महासंघ तथा पत्रकारहरुको मर्यादामा गम्भीर आँच आउने काम भएकोे छ । सुशासन, पारदर्शिता, जबावदेहीता र लगायतका विषयमा सरोकारवाला निकायलाई खबरदारी गर्दै प्रतिपक्षको रुपमा काम गर्ने मिडिया जगत, पत्रकार तथा त्यसको छाता संगठनको नै अध्यक्ष यस्ता गैरकानुनी काममा जोडिनु हद दर्जाको लापरबाही भएको स्रोतहरुको दावी छ ।

समुदायलाई सुसूचित गर्दै पीँधका मानिसहरुलाई पनि विकास निर्माण तथा नीति निर्माण तहको मूलधारमा ल्याउन पैरवी गर्ने संवेदनशील संस्थाको अध्यक्ष हुनुको नाताले विद्यालयको शौक्षिक गुणस्तर विकास तथा नमुना विद्यालय निर्माणमा दत्तचित्त भएर काम गर्नुको सट्टा निजी प्रयोजनको लागि मनोमानी सामान खरिद गर्नुले नेपाल पत्रकार महासंघको समेत धज्जी उडाउने काम भएको पत्रकार अगुवाहरुले बताएका छन् ।

५ महिनादेखि गुपचुप रहेको र अन्नतः प्राणमञ्चले फेला पारेको प्रमाणको आधारमा हामीले विद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीलाई बुझ्दा ५ महिनासम्म पनि सो घटनाबारे आफूलाई कुनै जानकारी नभएको र एकादम नितेश अर्डर एण्ड सप्लायर्सले फोन गरेर रकम माग्दा विद्यालयबाट कुनैपनि खरिद आदेश नभएकाले विद्यालयले पैसा नतिर्ने र जसले सामान लिएको हो उसैले तिर्नुपर्ने स्पष्ट पारिएको प्राणमञ्चसँग बताएका छन् ।

उनले आफूमाथि अनर्गल आरोप लगाउँदै पटकपटक श्रीरामले धम्किको भाषा प्रयोग गरिरहको भएपनि आफू नडगमगाएकाे बताउँदै कानुन विपरीतका अपराधिक कार्य गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताएका छन् । यद्यपि निज प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीको विषयमा पनि विद्यालयमा न्युन उपस्थित हुने, विषयगत नतिजा खस्कदो भएको र पैसा जता धेरै मिल्छ उतै दौडिरहने गरेको अभिभावक र अन्य सरोकारवालाको आरोप छ ।

उता नितेश अर्डर एण्ड सप्लायर्सबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका श्रीराम भण्डारीले हस्ते राखेर सो सामान लगेको र त्यसको भुक्तानी विद्यालयकै नाममा राख्न भनेकोले यसको भुक्तानीको जिम्मा लुप्लुङ माध्यमिक विद्यालय नै हुने जिगिर गरेपछि घटना निकै गम्भीर बनेको छ । यसो त कानुनबमोजि विद्यालयको खातामा उधारो रहेको झण्डै दुई लाख बराबरको रकम श्रीराम भण्डारीले मैले लिएकै होइन, मैले कुनै हालतमा तिर्दैन भनेको खण्डमा आपूर्तिकर्ताले मुद्दामामिला ग¥यो भने विद्यालय सो रकम तिर्न वाध्य हुन्छ । यद्यपि विद्यायलको आधिकारिक निर्णय र खरिद आदेश विपरीत व्यक्तिलाई सामान दिने नितेश अर्डर एण्ड सप्लायर्स पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने कानुनका जानकारहरुले बताएका छन् ।

के भन्छनु सरोकारवालाहरु ?

यस विषयमा हामीले विद्यालयका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद भण्डारीसँग बुझ्दा श्रीराम भण्डारीले नियतवस गडबडी गरेको हो भने कानुनी कारबाहीको कठघरमा ल्याउन जरुरी रहेको बताएका छन् । आफू पनि एक कार्यकाल काम गर्दा पाँच लाखबाट पच्चिस लाख नाफामा पु¥याई दिनरात काम गरेको अवस्थामा श्रीराम भण्डारीले लगायत कसैले पनि विद्यालयको हितविरुद्ध काम गरे गैरकानुनी गडबडीमा सहभागी दोषीलाईे कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धनेश्वर भण्डारीले श्रीराम भण्डारीले नियतवश गडबडी गरेकोले यस्ता गल्तीले सामाजिक संस्थामाथिको मर्यादा र उसको विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा हुनसक्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो जिम्मेवार मान्छेले सामग्री व्यक्तिगत प्रयोजनमा लिँदै जानुले विद्यालयलाई अडिट तथा सार्वजनिक सुनुवाइमा ठुलो समस्यामा पर्नसक्ने बताएका छन् ।

घटनाको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीसँग हाम्रो टिमले जवाफ माग्दा जानअनजानमा आफूबाट गल्ती भएको स्वीकार्दै उधारो बिलको भुक्तानी व्यक्तिगत रूपमा गर्ने भएकोले विद्यालयसँग कुनै सरकार नभएको यद्यपि आफ्नो चरित्र हत्या गर्नको निम्ति विद्यालय प्रशासन र केही अभिभावकहरू आफूविरुद्ध लागेको बताएका छन् ।

हामीले ‘तपाईँ आफैं नै पत्रकार महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा बसेको जिम्मेवार व्यक्तिले त्यसरी गैरकानुनी एवम् अपराधिक कार्य गर्ने आँट कसरी आयो ?’ भनि प्रश्न गर्दा उनले नियतबस कुनै गल्ती नगरिएको र यसलाई आफैले जेठ अन्तिम सातासम्म सल्टाउने प्रतिबद्धता जनाउँदै भूलबस गल्ती भएकोले आगामी दिनहरूमा यस्ता प्रकारका गल्तीहरू नगर्ने र हरेक संस्थाप्रति आफ्नो सामाजिक उत्तरदायित्वप्रति आफू सचेत रहेको दावी गरे । त्यस्तै नौबहिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेघबहादुर बोहराले विद्यालय व्यवस्थापन समितिको निर्णय बिना वा खरिद आदेश बिना विद्यालयकै जिम्मेवार पदाधिकारीले सामान खरिद गर्नु र व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी एवम् अपराधिक कार्य भएकोले कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । विद्यालय जस्तो सार्वजनिक महत्वको संस्थामा व्यक्ति विशेषका निर्णय र उनीहरूका गलत क्रियाकलापले समग्र विद्यालयको इज्जतमा समेत दाग लाग्ने भएकोले यस्ता प्रकारका अपराधिक कामहरूलाई निस्तेज गर्न जरुरी रहेको उनले बताएका छन् ।

विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष एवं सामाजिक परिक्षण समितिका संयोजक नारायणप्रसाद भण्डारीले अध्यक्ष नै गडबडीमा जोडिएको घटनाले निकै दुःखी बनाएको बताउँदै सो घटनामा संलग्न श्रीराम भण्डारीले सबै सरकारवालाहरूलाई छलफलमा जुटाएर विद्यालय जस्तो संवेदनशील क्षेत्रमाको विषयमा उठेका सवालको उचित जवाफ दिनुपर्ने र यदि गैरकानुनी कार्य भएको ठहर भएमा कारबाहीको भागीदार हुनुपर्ने बताए ।

के हुन सक्छ कारबाही ?

सरकारी विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षले प्रचलित खरिद नियमावली विपरित विद्यालयको नाममा सामान खरिद गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु गम्भीर आर्थिक अनियमिता र भ्रष्टाचार भएको मानिन्छ । नेपालको कानुन अनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अध्यक्षले अख्तियारको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याएकोले विशेष अदालतमा मुद्दा लाग्ने र त्यसरी गैरकानुनी रूपमा खरिद गरिएको सामान वा हिनामिना गरिएको रकमको बिगो बराबर रकम र त्यसको व्याजसमेत असुल उपर गरिनेछ भनेर उल्लेख गरिएको छ ।

त्यस्तै कैद तथा बिगो जरिवाना अन्तरगत बिगोको मात्रा अनुसार कैद सजाय र सोही अनुसार जरिवाना हुनेछ भनिएको छ । विद्यालयको नाममा खरिद गरी ब्यक्तिगत प्रयोग गर्नु ‘सामुदायिक विद्यालयको आर्थिक कार्यविधि सम्बन्धी नियमावली, २०७८’ विपरित हुने भएकोले विभागीय र प्रशासनिक कारबाहीको रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट तत्काल बर्खास्त गर्न सकिनेछ र यस्तो कार्यमा संलग्न विक्रेतालाई पनि कालोसूचीमा राख्न र कारबाही गर्न सकिन्छ ।

त्यसकारण विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालयको आर्थिक कार्यविधि र सार्वजनिक खरिद नियमावली पालना गर्नु अनिवार्य छ ।

प्रस्तुत समाचारमा आपूर्तिकर्ता नितेश अर्डर एण्ड सप्लायर्स हुनुपर्नेमा अन्यथा भएकोले साे त्रुटी सच्याइएकाे छ: प्रधानसम्पादक

 हेराैं, श्रीरामले खरिद गरेकाे सम्पूर्ण बिलभर्पाई

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation