“अभ्युदय” कृतिकाे लाेकार्पण तथा परिचर्चा कार्यक्रम

 

राधा गाैतमद्वारा लिखित उपन्यासकाे शनिबार लाेकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चकाे आयाेजनामा अभ्युदय कृतिकाे शनिबार लाेकार्पण गरिएको हाे । लमहीमा आयाेजित साे उपन्यास विमाेचन समाराेहमा डाक्टर रिता ज्ञवालीले समीक्षा गर्दै पितृसत्तात्मक राज्यव्यवस्थाले नारिमाथि सदियाैंदेखि लादिरहेकाे धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पक्षका विषय उठान गरिएको बताएकि छन् । उनले महिलालाई जन्म (गर्भास्था) मै भ्रुण पहिचान गरि फ्याँक्ने, शिक्षा, राेजगारी अवसर र सेवाका क्षेत्रमा गरिएको विभेदका विषयलाई पनि रचनाकार राधा गाैतमले आफू छाेरी र बुहारी हुँदा भाेगेका अनुभवलाई मसिनाे गरी उधिनेकाेमा खुसी व्यक्त गर्दै गाैतमलाई निरन्तर साहित्यिक सफलताको शुभकामना व्यक्त गरिन् ।

त्यस्तै साहित्यकार कृष्णराज डिसीले राधा गाैतमकाे उपन्यास आदर्शाेन्मुख सामाजिक चेतनामा आधारित कृति भएकाेले उपन्यासकाे मुख्य पात्र सीतामार्फत चाैतर्फि उदयका ढाेकाहरु खाेलिएकाे बताएका ।

डिसीले राधाकाे उपन्यास अभ्युदयले उत्तरआधुनिक चिन्तनकाे विषयमा पनि सन्दर ढंगले कलम चालेकाे बताउँदै पठनमा रुचि राख्नेहरुकाे निकै उपयोगी सामग्री भएको बताउँदै यसको संग्रह गर्न सबै पाठकहरुलाई आग्रह गरेका छन्। अभिव्यक्ति र कलाका सुन्दर संयोजनले उपन्यासकाे थप गरिमा बढाएको पनि बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै साहित्यकार, लेखक, विश्लेषक एवं चिन्तक डाक्टर टिकाराम उदासीले राधा गौतमको उपन्यास सबैको निम्ति उपयोगी सामग्री भएको बताउँदै नारीहरूका विगतका व्यथा, पितृसत्तात्मक व्यवस्थाले लादेको विभिन्न प्रकारका दमन, धार्मिक एवं सांस्कृतिक उत्पीडनका आयामहरु खाेतलिएकाे बताउँदै महिला भएकै कारणले कसरी घर, परिवार र समाजमा अन्याय र अत्याचार सहनुपर्छ वा त्यसकाे विरुद्ध विद्राेह गर्नुपर्छ भन्ने विषयकाे राम्रो वकालत गरिएको बताएका छन् । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक उत्पीडिनका अनेकौं श्रृङखलाका बाबजुद पनि नारिहरु परिवार देश र समाजको निम्ति कति चिन्तित भएर लाग्छन् भन्ने सुन्दर कलाको प्रस्फुटन भएको बताएका छन् ।

उदासीले हरेक लेखक, साहित्यकार एवं बौद्धिक वर्गलाई किताबी अध्ययनको जरुरी अत्यन्तै हुने भएकोले गहिराे ज्ञान आर्जनका लागि हरेक किताबहरूको मसिनो गरी अध्ययन गर्न जरुरी रहेको बताउँदै छिपछिपे ज्ञानले कुनै पनि क्षेत्रमा विज्ञता हासिल गर्न नसकिने जिकीर गरेका हुन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यो पुस्तकका रचनाकार राधा गौतमले पुस्तक लेखन कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूमा कृतज्ञता सहित आभार व्यक्त गरेकी थिइन् । खासगरी आफ्नै श्रीमानले लेखन, खानपिन र अन्य सम्पूर्ण क्रियाकलापको विषयमा मसिनो गरी समय दिन सकेको र व्यवस्थित ढंगले सहयोग गरेकोले मात्रै आफूले यो कृति प्रकाशन गर्न सकेको पनि उनले बताइन् ।

कार्यक्रममा साहित्यकार राप्ती साहित्य परिषदका अध्यक्ष यम रेग्मी, साहित्यकार तेजप्रकाश खनाल, छविलाल काेपिला र नारायण नेपालले कृतिकाे शुभकामना मन्तव्य राखेका थिए ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमकाे सञ्चालन बीएन प्रकाशन गृहका सञ्चालक एवं युवा अभियन्ता सूर्य गरेका थिए भने कार्यक्रममा दाङ देउखुरी क्षेत्रका विभिन्न साहित्यकारहरू, सामाजिक अभियन्ता, पत्रकार आदिकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation