
आदरणीय सर हजुरले भाैतिक रुपमा हामीलाई छाेडेकाे आज १३औं दिन पुग्याे । तपाईंको आदर्श, सद्भाव, सहृदयता र सहकार्यका ति सुन्दर क्षणहरु सम्झिरहँदा तपाईंको अनुपस्थितिले मेराे मनमा बेचैनीकाे कालाे बादल मडारिएकाे छ ।
२०६९ सालमा लेखक जगदीश घिमिरेले लेखेको किताब अन्तरमनको यात्रा दिँदै मलाई तपाईंले भन्नुभएको थियो “म्याम यो किताब तपाईले पढ्नु पर्छ ।”
कान्तिपुर च्यानलमा लिएको जगदिश घिमिरेको अन्तर्वार्ता मैले प्रत्यक्ष त्योभन्दा पहिले सुनेकी थिएँ । हेरी हेरी मृत्युलाई स्वीकार्दै हुनुहुन्छ तपाईँले ? भन्ने प्रश्न लेखक जगदिश घिमिरेलाई पत्रकारले सोधेका थिए ।
अचानक कसरी यो दैवको लिला त्यस्तो हुन पुग्यो ? जगदिश घिमिरेका जस्तै अन्तरमनका यात्रा थुप्रै लेख्न बाँकी थिए। लेख्ने कति मनको धोको थियो होला। म्याम म दशैँपछि जागिरबाट निस्केपछि अब लेखनी कार्य सुरु गर्ने हो भनेर भन्नुहुन्थ्यो सरले ।
मृत्यु निश्चित हो भन्ने कुरा सुन्न र भन्न सबैलाई सजिलो छ तर स्वीकार्न निकै गाह्रो छ । मलाई यही शब्दले बारबार पोलिरहेको छ , धकलिरहेको छ सरले आफ्नो अन्तर मनको यात्रा लेख्न बाँकी रह्यो दैव पनि कति निष्ठुरी ।
मानिसले जन्मदा नै विद्या, बुद्धि, ऐश्वर्य (धन सम्पत्ति) जीवन साथी र मृत्यु निश्चित रुपमा लिएर आएको हुन्छ रे म्याडम भनेर नैतिक आचारणका कुरा सिकाउने आदर्श व्यक्तित्वको मृत्युको खबर सुन्दा आधा आकाश भासिएको प्रतीत भएको थियो जुन दिन म मेरो उपचारको लागि काठमाडौ जाँदै थिएँ ।
हुन त मृत्यु शाश्वत सत्य हो। कहिलेकाहीँ हामी बिरामी हुन्छौँ । कहिले ठूला ठूला दुर्घटनाहरु हुन्छन् कहिलेकाहीँ खल्तीबाट पैसा हराएर जान्छ ।कहिलेकाहीँ बाढी पहिरो आएर धनको क्षति हुन्छ। ती सबै कुरा हामीले सहज रुपमा स्वीकार्न सकेका हुन्छौँ तर मृत्यु शाश्वत सत्य हो। तर सत्यलाई स्वीकार्न किन गाह्रो मानिरहेका हुन्छौं ? कहिलेकाहीँ यो मन केले कसरी बनेको हुँदो रहेछ जस्तो लाग्छ ।
समाजमा धेरै मानिसहरूको जन्म हुन्छ। ती धेरै मानिसहरूको बीचमा यस्ता मान्छेहरुको जन्म हुन्छ जो मान्छेको स्वभाव अन्य मान्छेहरूको भन्दा नितान्त फरक प्रकृतिको हुने गर्छ यस्तो फरक प्रकृतिको स्वभाव भएका आदरणीय शरद सर हुनुहुन्थ्यो ।
गाउँ छ र समाज छ भन्ने एउटा आभास आफ्नो छिमेकीलाई दिलाउनु भएको थियो । साँझमा खाना खाएर आफ्नो घर वरिपरिका मानिसहरु जम्मा भएर समसामयिक विषयवस्तुमा भलाकुसारी गर्ने कुराकानी गर्ने जम्मा हुने एउटा रसिलो थलोको रुपमा उहाँको घर थियो ।
कहिलेकाहीँ चार छ महिनाको एक दिन हामी पनि साँझमा उहाँको घर जान्थ्यौँ । त्यहाँ सबै गाउँघरका मान्छेहरु भर्खरका युवादेखि लिएर बुढाबुढीसम्म जम्मा भएर मजाले जुनेली रातमा बाहिर बसेर कुरा गरिरहेका रमाइला दृश्यहरू देख्न पाउँदा आफूलाई छुट्टै संसारमा भएको अनुभूति हुन्थ्यो । त्यो मिठो सामीप्यता त्यो मिठोपन अब कहाँ पाउनु ! त्यो टोलको उहाँ एउटा मौरीको रानो हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ ।
आदरणीय सरद सर गाउँघरका दुःखी गरिबहरूको एउटा बैंक हुनुहुन्थ्यो ! भोका र नाङ्गाहरूको अन्नदाता हुनुहुन्थ्यो, न्याय दिने न्यायकर्ता पनि हुनुहुन्थ्यो, स्कुलमा विद्यार्थी भाइबहिनीहरूको प्यारो गुरु हुनुहुन्थ्यो । कुनै विद्यार्थीलाई समस्या आइपर्यो भने उनीहरुलाई बजार जानपर्यो, औषधि उपचार गर्नुपर्यो भने गोजाबाट पैसा निकालेर दिनुहुन्थ्यो ।
निमुखा परिवारका विद्यार्थीले “घरबाट आमा बुवाले शरद सरसँग पैसा मागेर कलम र कापी किनेस भन्नूहुन्थ्यो । भाइलाई औषधि ल्याइदिन भन्नुभएको छ, सर आमालाई पेट दु:खेको दबाई लैदिने हो, बाबाले लाहुरबाट पठाए पछि दिन्छौ सय रुपिया दिनुहोस् न !! भन्थे र उहाँले बिनाहिच्किचाहट खुसी मुद्रामा खल्तीबाट रकम निकालेर मुस्कुराउँद विद्यार्थीकाे हातमा थमाइदिनुहुन्थ्याे । विद्यार्थीकाे खुसीले सीमा नाग्थ्याे ।
त्यसरी स्कुलमा विद्यार्थी भाई-बहिनीहरुले पैसा मागेको मेरै कानले सुन्थे । सरले पैसा दिएको मेरै आँखाले देख्थेँ र मैले भन्थे,
“सर तपाईँले कसरी पुर्याउन सक्नुभएको ?”
अनि सरले भन्नुहुन्थ्यो, ´यस्ता त साना-साना कुरा हुन् म्याम यो त मलाई त्यति ठूलो लाग्दैन। यहाँ त समाजका गन्ने मान्छे मान्छेहरुले व्यापारमा लगानी गर्छु भनेर सापटी मागेर लगेका ४ लाख ५ लाख रुपैयाँ दिन नखोज्दाखेरी पो मलाई अचम्म लाग्छ ।`
´सर समाजमा राम्रा पक्षमा पनि किन कुरा उठाउँदैनन् मान्छेहरू ?` भनेर मैले प्रश्न गर्थे ।
अनि सरले भन्ने गर्नुहुन्थ्यो, “म्याम जहाँ सत्य र राम्रो कुरा सुन्ने मान्छे हुँदैनन् त्यो ठाउँमा सत्य चुप लाग्न जाँदो रहेछ ।
धेरै मूर्खहरूको जमातमा विद्वान पनि कमजोर बन्न्न जान्छ म्याम ।”
समाजमा यथार्थ र जायज कुरा किन बोल्दैन ? कुनै सभा समारोहमा पत्र पठाएर निमन्त्रणा गर्दापनि विशिष्ट मान्छेहरु उपस्थित किन हुँदैन ? एवम् रितले प्रश्न मैले सोध्ने गर्थें ।
साह्रै मार्मिक कति सटिक र कति यथार्थ जवाफ दिनुहुन्थ्यो सरले ! ति समाजका यथार्थ भोगाई र देखेका कुराहरू कुनै दिन अवश्य लेख्नेछु शरद सर ।
समाजसेवा गर्नको लागि आफ्नो तह तप्काबाट धेरै मान्छेहरू तम्सेका छन् । तम्सिएका थिए पनि तर समाजको चिन्तनशील व्यक्तिको रुपमा पाएँ त मैले शरदराज पौडेल सरलाई पाएकी थिएँ । मैले शरद सरका हरेक कुराहरू सुन्दा सरको अगाडि नै मैले खुलेर तारिफ गर्थे । उहाँलाई मैले मेरो जागिरे जीवनकालको एक विशिष्ट गुरुको रुपमा मान्छु । आज त्यस्ता महान गुरुको देहवसानले समाजले एउटा बौद्धिक पाटो नै गुमाएको महशुस गरेको छ !
मृत्यु ढिलो चाडो हुन्छ तर सबै मृत्यु समाजले सम्झनलायक हुदैनन् नै । मृत्युमा दु:ख मान्छ्न तर बिर्सन्छन । छोटो समयमा पनि समाजमा आफ्नो छुट्टै पहिचान बनाएर जानू भो तपाईका सामाजिक योगदान जिवितै छन् कैयौं सार्वजनिक संस्थाकाे जग्गादातादेखि दु:खी गरिबको अन्नदाता बन्नुभयो ! हरेक वर्षका अनिकालमा तपाईको गुनमा आँसु झार्ने तमाम घर छन् मन छन् शरद सर…..!
तपाईं कसैलाई दुःख पर्यो भने बसेर दुःख सुन्दिने गुनासो सुन्दिने, एउटा आधार हुनुहुन्थ्यो । समाजले तपाईंको महानताको सधै उच्च कदर गरिरहने छ । यो संसार छोडेर गए पनि हामीले बाँचुन्जेल सम्झिरहनेछौँ । यो समाजले सम्झिरहनेछ शरदराज सर ! आफ्नो अल्पायुमै श्रीमान गुमाउनु भएकी आदरणीय आन्टी, घरको मुल खम्बा गुमाएका हाम्रा बाबुहरु नारायण तथा बद्री लगाएत पौडेल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछुँ । यो शोकलाई शक्तिमा बदल्ने सबैले सामुहिक प्रयत्न गरेमा उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
लेखक राजकुमारी कुँवर (सानू गुल्मेली) क्षेत्र विकास माध्यमिक विद्यालय पुन्यखोला प्युठानकाे शिक्षिका हुन् ।
















