छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति

१० कात्तिक, काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation