सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप, छानबिन गर्न नेकपाको माग

 

२८ फागुन, धनगढी

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् ।

आज प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपाले उक्त घटनाको छानबिन गर्न माग गरेको छ । संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले कर्मचारीले लगाएको आरोपबारे न्यायिक निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने बताए ।

‘एक जना कर्मचारीले बोलेको विषयमा सञ्चार माध्यममा स्पष्टीकरण दिने कुरा होइन । संसद्को सार्वजनिक लेखा समिति छ, अख्तियार छ । अन्य थुप्रै छानबिन गर्ने निकाय छन्,’ भट्टले भने, ‘यो विषयमा प्रतिपक्षी मुद्दा उठाउन र संवाद गर्न चाहान्छ तर उहाँ किन जवाफ दिन तयार हुनुहुन्न ?’

मुख्यमन्त्रीले घुस लिएको नेकपाको आरोप नभए पनि भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मुख्यमन्त्रीले स्वयंमले कुनै कदम चाल्न तयार नभएको भट्टको आरोप छ ।

‘गम्भीर आरोप लागेपछि किनारा लगाउन जुन गम्भीर्यता हुनुपर्ने थियो त्यो किन भएन ? उहाँले पाँच लाख घुस लिनुभयो भन्ने हाम्रो कुरा होइन,’ उनले भने ।

वरिष्ठ डिजिनल वन अधिकृत भट्टले हालै एक अन्तरवार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख घुस मागेको तर दिन नसकेकै कारण डिभिजन वन कार्यालय धनगढीको प्रमुखबाट हटाइएको दाबी गरेका छन् ।

भट्टलाई ३० साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयले धनगढीबाट डिभिजन वन कार्यालय पहलमानपुर सरुवा गरिएको थियो ।

ऐनविपरीत सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरे । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।तर भट्टलाई सरकारले प्रदेश वन निर्देशनालय तानेर कामकाजमा खटाएको थियो ।

तर, मुख्यमन्त्री शाहले भने आफूले घुस नमागेको बताउँदै आएका छन् । मंगलबार धनगढीस्थित सरकारी निवासमा केही सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहले उक्त आरोपबारे छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेका थिए ।

‘छानवीन गर्ने थुप्रै निकाय छन् । तत्काल छानबिन गरिदिनु पर्‍यो। म दोषी देखिए कारबाही भोग्न तयार छु,’ उनले भने, ‘होइन भने जथाभावी आरोप लगाउने कर्मचारीमाथि कारवाही हुनुपर्छ ।’

आर्थिक विवादमा फसेपछि तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गत असारमा मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए । असारदेखि उक्त मन्त्रालयको जिम्मेवारी स्वयंम शाहले नै लिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation