
१८ वैशाख, काठमाडौँ
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईलाई डीएलएस मेथडमा ६ रनले पराजित गरेको छ।
वर्षाले प्रभावित गरेको खेलमा ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेटको क्षतिमा २ सय ४८ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि मुहमद सहदादले ६५ रन तथा खुजाइमा तनवीरले ४९ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । हरप्रित सिंहले पनि ४१ रनको पारी खेले ।
नेपाललाई जित दिलाउन सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो ।
टोलीका लागि दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरे । उनले ९४ बलमा १३ चौका र १ छक्का हिर्काउँदै १ सय रन जोडे ।
त्यस्तै, विनोद भण्डारीले पनि अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रन बनाए । कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन जोडे । आरिफ शेख र अर्जुन कुमालले समान ११-११ रनको योगदान दिए ।
गुल्सन झाले ३८ बलमा ४४ रन जोड्दै नेपाललाई विशाल योगफलतर्फ डोऱ्याए । उनले यस क्रममा ४ चौका र २ छक्का प्रहार गरे । यूएईका लागि अजय कुमार र जुनैद सिद्धिकीले २-२ विकेट लिए । हैदर अलि र खुजाइमा तनवीरले १-१ विकेट हात पारे ।
नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग १०२ रनले हारेको थियो ।
















