राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रप्रभामा कविता प्रतियोगिता: सरिता बिक प्रथम

 

३० भदौ, रोल्पा

रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्।

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा सम्झना बिष्ट द्वितीय, एलिसा सुनार तृतीय र सुस्मिता महराले सान्त्वना स्थान हासिल गरेका हुन् ।

कार्यक्रममा विद्यालयका शिक्षक दुर्गा रोकाले बाल दिवसको औचित्य र सान्दर्भिकतामाथि प्रकाश पार्दै लामो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कन शिक्षक जितबहादुर ओली, मिनाक्षी कुँवर र घनश्याम आचार्यले गरेका थिए।

बाल दिवसको विशेष अवसरमा विद्यालयले प्रभातफेरी र कविता प्रतियोगिता आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष मेघनाथ बिष्टले विद्यार्थीहरूको चौतर्फी विकास विना राष्ट्रको भविष्य उज्ज्वल नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “आजका बालबालिका भोलिका राष्ट्रका आधार हुन्। त्यसैले उनीहरूमा लगानी गर्नु आजको पुस्ताको सबैभन्दा ठूलो जिम्मेवारी हो।”

विद्यालयकी शिक्षक जानकी बुढाथोकीको सहजीकरणमा सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक ओम प्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation