विश्मयकारी युद्धमा अमेरिकी मुनाफा

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन,विश्वबैंक लगायतका कठपुतली संस्थाबाट विश्वभरका कच्चा पदार्थ, श्रोत साधन र व्यापार कब्जा गर्न सक्दासम्म साम्राज्यवादले कम घृणित चेहरा वा अप्रत्यक्ष तरिकामार्फत शोषण गरेको थियो ।

परन्तु विश्वभर बढ्दै गएको राष्ट्रिय चेतनाले त्यसप्रकारको शोषणको प्रतिरोध भएपछि र लगातार रुपमा आर्थिक मन्दी ( २००७–२००८ मा अमेरिकाको बैंकिङ क्षेत्रबाट सुरु भएको Great Financial Crisis अहिलेसम्म समाधान भएको छैन) बढ्दै गएपछि साम्राज्यवाद प्रत्यक्ष सैन्य आक्रमण गर्ने वा विद्रोही समूहलाई हतियार बाँडेर सत्तापलट र कठपुतली सरकार गठन गर्ने प्रक्रियामा अगाडि बढेको छ । इरानमाथिको अमेरिका र इजरायलले गरेको आक्रमण त्यसको पछिल्लो कडी हो ।

यसले उत्पीडित राष्ट्रका निम्ति अत्यन्त कष्टकर अवस्था उत्पन्न भएको भएपनि यो सारतत्त्वमा साम्राज्यवादी संकटकै अभिव्यक्ति हो ।

जस्तो कि लेनिन भन्छन् :The question is: what means other than war could there be under capitalism to overcome the disparity between the development of productive forces and the accumulation of capital on the one side, and the division of colonies and spheres of influence for finance capital on the other?” (“प्रश्न यो छ: पूँजीवाद अन्तर्गत युद्धबाहेक अर्को कुन साधन हुन सक्छ जसले उत्पादक शक्तिहरू र पूँजी संचयको विकासबीचको असमानता, र अर्कोतिर उपनिवेशहरू तथा वित्तीय पूँजीका प्रभाव क्षेत्रहरूको विभाजनबीचको असमानतालाई पार गर्न सक्छ?” )
– Lenin “Imperialism, the Highest Stage of Capitalism” Chapter VII
साम्राज्यवादी संकटको बेला साम्राज्यवादी देशहरूको कथित मानवीय चेहरा समाप्त हुन्छ र त्यो फासिवाद उन्मुख हुन्छ । यस्तोमा जनताको प्रवृत्ति न्यायपूर्ण सङ्घर्ष वा समाजवादतर्फ जानुपर्ने हो तर विश्वमा समाजवादी आन्दोलन वा राष्ट्रिय प्रतिरोध आन्दोलनको अनुकुल उभार पनि अहिले छैन । त्यसकारण संकट समाधान हुनुभन्दा अझ गहिरिने अवस्था छ ।

साम्राज्यवाद किन हरेक संकटको समाधान युद्धमा खोज्छ त ? यसको अहिलेको इरानमाथिको आक्रमणलाई नै व्यवहारिक दृष्टिले हेरौँ ।
इरानमाथि आक्रमण पश्चात गठन हुने कठपुतली सरकारमार्फत त्यहाँको पेट्रोल कब्जा गरेर अमेरिकाले आफू र युरोपको रुस युक्रेन युद्धले उत्पन्न गरेको इन्धनको समस्या समाधान गर्न सक्ने भयो । त्यसले रुस र युक्रेनको युद्धलाई दीर्घकालसम्म तन्काउन अमेरिकालाई सफलता प्राप्त हुने भयो ।
अर्कोतिर इरानको आक्रमणको क्षमताले अमेरिकालाई प्रत्यक्ष क्षति पुर्‍याउन नसक्ने भएकोले उसको आक्रमणको निसान साउदी, कतार, बहराइन , युएई र कुवेतजस्ता अमेरिकन सैन्य बेस भएका वरिपरिका देशहरू हुने भए । त्यसले उत्पन्न गर्ने खतराबाट बच्न तिनीहरूलाई एयर डिफेन्स सिस्टम लगायतका प्रणाली स्थापना गर्न र हतियार खरिद गर्न ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यता पैदा हुनेछ । बताइरहनुपर्ने आवश्यकता छैन, त्यसको मुख्य बिक्रेता अमेरिका नै हुनेछ ।
एकातिर कौडीको भाउमा इन्धन कब्जा र अर्कोतिर महङ्गोमा हतियार बिक्री – यसले अमेरिका र युरोपको आर्थिक प्रणालीमा आएको समस्या तात्कालिक रुपमा समाधान हुनसक्छ । त्यसकारण साम्राज्यवादले या त विश्वयुद्ध वा स- साना पैमानाका अनेकन् युद्ध थोपर्छ ।

यसर्थ युद्ध, सामान्य मानिसको निम्ति मृत्यु र आँसु हो भने अमेरिका र अमेरिका संरक्षित मृत्युका व्यापारी पुँजीपतिका निम्ति नाफाको व्यापार हो।

तसर्थ पुँजीवाद र अझ त्यसको पनि नयाँ स्वरूप नव-उदारवादमा मानवताको कुनै अर्थ हुँदैन, मानव जीवनको कुनै मूल्य हुँदैन ।

जबसम्म विश्वव्यापी समाजवादी क्रान्ति वा राष्ट्रिय प्रतिरोध आन्दोलनद्वारा वर्तमान शक्ति सन्तुलनमा परिवर्तन आउँदैन, तबसम्म विश्वमा मानवीय शासनको कल्पना समेत गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation