युवतीलाई बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

१८ फागुन, काठमाडौं

 

दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकामध्ये तामाङ ट्याक्सी चालक हुन् । जिल्ला अदालत, काठमाडौंले उनलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उनीसँगै बलात्कार गरेको भनेर जाहेरीमा उल्लेखित काभ्रे घर भएका २९ वर्षीय दिपकबहादुर श्रेष्ठ भने फरार छन् । प्रहरी वृत्त, बानेश्वरका अनुसार, उनको खोजी भइरहेको छ ।

उनले दरबारमार्गस्थित पीडित कार्यरत् क्लबबाट कर्मचारीलाई राति घरमा छाडिदिने गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो । त्यही अनुसार, २० माघको बिहान ४ बजे ड्यूटी सकेपछि क्लबका कर्मचारीले ट्याक्सी बोलाएर उनीसहित ४ जना युवतीहरुलई डेरामा छाड्न भनेर पठाइदिएका थिए । तर, चालक तामाङले सबैलाई कोठामा छाडिदिए पनि आफूलाई भने नशा लागेको अवस्थामा होटलसम्म लगेको पीडितले भनेकी छन् ।

पीडितले प्रहरी वृत्त, नयाँ बानेश्वरमा दिएको किटानी जाहेरी अनुसार, उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८, गठाटारस्थित शैलुङश्वरी होटल एण्ड लजको कोठामा लगेर चालक तामाङ र श्रेष्ठले बलात्कार गरेका थिए ।

‘अपराह्न ४ बजे होसमा आएर हेर्दा मेरो शरीरमा भएको सबै कपडा खोलिएको थियो, त्यसपछि म काम गर्ने क्लबमा आएर साहुलाई समेत त्यसको जानकारी गराएर जाहेरी दिएको हुँ’, पीडितले भनेकी छन् ।

आरोपी तामाङले भने चार जनालाई डेरामा छाडेपछि पीडित भनिएकी युवती ट्याक्सीबाट आफैं झर्ने अवस्थाममा नरहेको भन्दै अन्दाजी ८ः४५ बजेसम्म ट्याक्सी जम्बुडाँडा गेट अगाडि सार्वजनिक स्थानमा पार्किङ गरेर राखेको भनेका छन् ।

‘त्यतिबेला मेरो चिनजानको साथी दिपक बा १ च ३६१४ नम्बरको निजी कार लिएर आएका थिए, ट्याक्सीमा युवती देखेपछि उनले सोध्दा मैले क्लबबाट लिएर आएको थिएँ, अहिलेसम्म होस आएको छैन भनेका थिए’, उनले भनेका छन्, ‘होस आएपछि आफ्नो बाटो लाग्छिन् कि भनेर बसेको छु भनेपछि दिपकले त्यसो भए बहिनीलाई गेष्ट हाउसमा लैजाउँ भनेका थिए ।’

पछि गोठाटारको गेष्ट हाउसमा गएर कोठा बुक गरेर बसेको उनले बताएका छन् । उनले भने सहमतिमा सम्बन्ध राखेको दाबी गरेका छन् । होटलका सञ्चालकले दुवै जना आधा आधा घन्टा कोठामा बसेको बताएका छन् ।

‘निस्किने बेला उहाँले तल आएर मलाई यो गेष्ट हाउसमा कसले ल्याएका हुन् बोलाउनु पर्‍यो भनेपछि इन्ट्री बुकमा लेखिएको सुजन लामाको मोबाइलमा फोन गर्दा लागेन’, उनले भनेका छन्, ‘त्यसपछि तामाङको नम्बरमा फोन गरी कुरा गरेका हुन् ।’

दुवै आरोपीविरुद्ध सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१० मा रहेको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले प्रमाणका रुपमा होटलमा गएको बेलाको सीसी टीभी फुटेज र स्वास्थ्य जाँचको रिपोर्ट पनि संलग्न गराएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation