नेकपाको चितवन भेलाः ‘एकीकृत जनयुद्ध’ को कार्यदिशा पास गर्दै

नेपाल कम्युनिस्ट पार्टीको चितवनमा जारी विशेष राष्ट्रिय भेला आज समापन हुँदैछ । बुधबारदेखि सुरु भएको भेलाले एकीकृत जनयुद्धको कार्यदिशा पास गर्दै आज समापन हुन लागेको हो । राजनीतिक दस्तावेजमाथि समूहगत छलफल सकिएपछि संयोजक धर्मेन्द्र बास्तोलाले त्यसको जवाफ दिने र आजै भेला समापन गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय सदस्य गुणराज लोहनीले समूहगत धारणाको संयोजक बास्तोलाले दिने र आजै भेला समापन गर्ने बताए । विहान चियानास्ता खाएर ९ बजेपछि समूहगत रुपमा उठेका जिज्ञासा तथा धारणामाथि नेताहरुले जवाफ दिने कार्यक्रम रहेको एक नेताले बताए । “समूहले धारणा राख्ने काम सकिएको छ, अब ९ बजेपछि नेताहरुबाट ब्रिफिङ हुनेछ । आजै भेला सक्ने गरी समय तालिका बनाइएको छ” एक केन्द्रीय सदस्यले भने । बोल्न चाहने केन्द्रीय सदस्यहरुलाई पनि पालो दिइने बताइएको छ ।

बुधबार विहान बसेको बैठकले पार्टीबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई पदमुक्त गरिएको थियो । सोही बैठकले धर्मेन्द्र बास्तोलालाई संयोजक चयन पनि गरेको थियो । त्यसपछि सुरु भएको भेलामा बास्तोलाले ‘एकीकृत जनयुद्ध’ को कार्यदिशासहित राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

राजनीतिक प्रतिवेदन पेश गर्दै बास्तोलाले विप्लवमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्याउन लागेकाले आफूहरुले विद्रोह गरेको बताए । बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, संगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबी समेत गरे ।

एक नेताका अनुसार भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरु गरिनेछ । त्यो दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाइनेछ । त्यसपछि राष्ट्रिय भेला बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने र केन्द्रीय समितिको बिस्तार गर्ने नेकपाको तयारी छ । पार्टीको नाम नयाँ राख्ने वा यही राख्ने भन्नेबारे पनि भेलामा छलफल भएको छ । अहिलेलाई नेकपा नै राख्ने धेरै नेताहरुको सुझाव दिएका छन् । सबै कमिटी पुनर्गठन नभएसम्म नेकपा नै नाम राख्न सुझाव धारणा राख्ने नेताहरुले दिएका छन् । विप्लवले पार्टीको निर्णय उलंघन गरेकोले नेकपाको नेतृत्व हुने नैतिक हैसियत गुमाइसकेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation