परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीका नेता हुनिङबीच भेटवार्ता

बेइजिङस्थित स्टेट गेष्ट हाउसमा सोमबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रूपमा रहेको स्मरण गराउँदैनेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर् याए।

नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनिया सहयोग महत्वपूर्ण हुने बताए। चीनले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको सरहाना गर्दै उनले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गरे। ‘अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनिया सहयोग महत्त्वपूर्ण हुनसक्छ’, उनले भने।

परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न शहरबाट नियमित हवाइ उडान गर्न अनुरोध गरे। नेपालले चिनिया पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उनले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गरे।

सीपीपीसीसीका अध्यक्ष हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रूपमा रहेको बताए। उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।

चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सीपीपीसीसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहने बताए। चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्ने भन्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रूपमा लैजान सहयोग रहने बताए।

भेटका क्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी थिए । चीनको प्रतिनिधिमण्डलमा हुनिनसहित चिनिया कम्युनिष्ट पार्टी उच्च तहका पदाधिकारीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation