कर्णाली नदीमा हामफाल्ने १७ जनामध्ये एक जना अझै भेटिएनन्

 

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।

सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताए ।

उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।

‘उहाँहरूलाई डिउटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भनी जबरजस्ती गरी अघि बढ्नुभएछ,’ डाँगीले अनलाइनखबरसँग भने, ‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर आयो । तत्काल उद्दारको प्रयास गरिएको थियो तर सकिएन ।’

घटनाको समयमा प्रहरी निरीक्षक डाँगी भने मोहन्याल गाउँपालिकामा थिए । उनी त्यहाँ युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation