बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरे पनि एक सांसद भने अनुपस्थित हुने देखिएको छ। आज दिउँसो विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार दल नेकपा एसकै एक सांसद बैठकमा अनुपस्थित हुने चेतावनी दिएको हो।
आइतबार मात्रै काठमाण्डौंमा बसेको नेकपा एस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई अहिलेको अवस्थामा विश्वासको मत नदिने निर्णय गरेको थियो। दलका नेता कृष्ण खनालले मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने बताएका थिए। तर, विश्वासको मत दिन सरकारमा आलोपालोको सर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको बताएको थियो।
दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए पनि नेकपा एसकै सांसद रमा आले मगर भने काठमाडौंमै छिन्। उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन आफू नआउने बताइन्।
‘कसले के निर्णय गर्यो? त्यो मलाई केही जानकारी छैन, म विश्वासको मत दिन आजको बैठकमा आउनेवाला छैन, उनले भनिन्, ‘मैले विश्वासको मत नदिँदा कसलाई के हुन्छ? त्यो मेरो कुरा होइन। त्यसकारण म बैठकमा अनुपस्थित हुन्छु।’
जम्कट्टेललाई आफू नेतृत्वको सरकार टिकाउन हाम्रो नेपाली पार्टीलाई सत्ता साझेदार बनाए पनि राजनीतिक चुनौती कायमै देखिएको छ। मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेका थिए भने शनिबार सत्ता साझेदार दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराएका थिए।
दुई दल सरकारमा गएसँगै अङ्कगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिए पनि सत्ता साझेदार दलकै कारण आज विश्वासको मत लिने बैठक स्थगितसमेत हुने अवस्था आउन सकिने माओवादी केन्द्रका एक सांसदले बताए।
हाम्रो नेपाली पार्टीका एक सांसद सरकारमा गए पनि केन्द्रको विवादका कारण समानुपातिकतर्फबाट सांसद बनेकी हानेपाकी सरिता खड्की पनि अनुपस्थित हुने भएकी छन्।
११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ। सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ (सभामुख सहित) र नेमकिपाका ३ सांसद छन्।