राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

 

उपलब्ध सांसदसँग आज छलफल गर्दै

संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् । उनी ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन् ।

२० चैत, पोखरा

विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ । तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।

सरकारको अबको बाटोबारे छलफल गर्ने उपलब्ध सांसदलाई डाकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । संसदबाट विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखिएकाले राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिका साथ नै पाण्डेले गठबन्धनमा रहेका राजीव गुरुङ (दीपक मनाङेले) भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । किनकी दुई सदस्य रहेको राप्रपाले पनि २७ गतेको आन्दोलनअघि निर्णय नलिने बताउँदा एमाले–माओवादीको पनि स्पष्ट बहुमत पुग्दैन र फेरि ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने पाण्डेको योजना छ ।

गण्डकीमा निर्णायक देखिएको राप्रपाले २७ गतेको आन्दोलन अघि कुनै पनि सरकारलाई समर्थन नदिने अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले नै बताइरहेका छन् । अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिएको हो ।

२७ सांसदसहित गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै सत्ता संकट सजिलै टार्नसक्ने स्थितिमा छैन । एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाए पनि मुख्यमन्त्री पाण्डेलाई सत्ता जोगाउन सकस छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation