अन्तत: समाजवाद सडकबाटै जन्मने हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले समाजवादको तयारी गर्न सरकार, सदन र सडकको उपयोग गर्नुपर्ने बताएका छन्। समाजवाद जन्मने सडकबाटै भए पनि त्यसको तयारीका लागि तीनवटै ठाउँ उपयोग गर्नुपर्ने बताएका हुन्।

मंगलबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाज’ अन्तरसंवादमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। जनतालै नै समाजवाद जन्माउने भएकाले पहिलो प्राथमिकता भने सडक नै हुनुपर्ने उनले बताए।

‘समाजवाद अन्तत: सडकबाटै जन्मने हो। किनभने जता सडकमा हुन्छन्। जनताले जन्माउने हुन् समाजवाद। त्यसकारण पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ’, उनले भने, ‘तर आजको अर्को यथार्थ के हो समाजवादको तयारी गर्न भने सरकार, सदन र सडकलाई पनि अधिकतम उपयोग गर्दै अन्ततः सडकबाट समाजवाद जन्माउने कुरामा केन्द्रित हुनुपर्छ।’

यसैका लागि सत्ता समीकरण परिवर्तन गरेको प्रधानमन्त्री प्रचण्डको तर्क छ। ‘अहिले नयाँ समीकरणका साथ सरकार पुनर्गठन गर्नु पनि समाजवादको आधार तयार पार्ने कुरा नै हो। यसका निम्ति एकता, सहकार्यमा जोड दिन जरुरी छ’, उनले भने, ‘यसपटक चालेको कदम पदका लागि होइन भन्ने कुरा स्पष्ट छ। यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भएर केही जोखिम देख्दादेख्दै पनि चालेको कदम हो।’

प्रधानमन्त्रीले संविधानमा समाजवादी विशेषता र पुँजीवादी विशेषता दुवै रहेको बताए। ‘संविधानमा समाजवादी विशेषता पनि रहेका छन् भने पुँजीवादी विशेषता पनि छन्’, उनले भने, ‘जसले जित्दै जान्छ, यो उस्तै बन्ने खतरा पनि छ। त्यसकारण हामीले प्रगतिशील धारतिर अघि बढाउन आपसी एकतालाई सुदृढ गर्दै जान जरुरी छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation