


सुनसरीको हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले अर्का एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ।
बिहीबार दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हो। हजारौं सर्वसाधारण बाँसको भाटा लिएर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालाय सुनसरीले हरिनगरा गाउँपालिकाभरि र देवानगन्ज गाउँपलिकाको २ वटा वडामा शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यूलगाएको थियो।
प्रहरीको गोली लागेर घाइते भएका पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
कर्फ्यू उल्लंघन गर्दै पाँच हजारभन्दा बढीको संख्यामा एकअर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं पटक हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख रेग्मीले बताए। उनका अनुसार इनरुवा नगरपालिका, हरिनगरा, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको छ। उनले भिड नियन्त्रणका लागि दुवै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए। उक्त स्थानमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरी कर्फ्यू जारी राखेको छ। जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना परिचालन गरिएको छ।