Pranmancha

Advertisment

SKIP THIS

हमास-इजरायल युद्धको ६ महिना पुरा, झण्डै ३५ हजारकाे मृत्यु

 २५ चैत, काठमाडौं 

इजरायल र हमासबीचको युद्ध ६ महिना पुग्दा हमासद्वारा बन्दी बनाइएकामध्ये एक इलाद कात्जिरको शव फेला परेको छ । उक्त शव फेला परे सँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूका झन्डै एक लाख विरोधीहरुले देशैभर सरकारको विरोध गर्दै बन्दी रिहाइको माग गरिरहेका छन्। नेपाली विद्यार्थी विपिन जोशी पनि अझै रिहा हुन बाँकी छन्।

इजरायली सेनाले कात्जिरको शव फेला पारेपछि तेल अभिभ र अन्य सहरहरुमा ठूलो संख्यामा नेतान्यहूका विरोधीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले तत्काल नयाँ चुनावको माग समेत गर्दै मृतक कात्जिरसँग क्षमा समेत मागेका छन्। यसअघि जनवरीमा जारी गरिएको एक भिडियो सन्देशमा कात्जिर जीवित थिए। इजरायली र प्यालेस्टिनी नागरिकहरुले युद्धको ६ महिना पुग्दा आज विभिन्न ठाउँहरुमा प्रदर्शन गर्दै युद्ध विरामको माग गरेका छन्।

इजरायलमा मात्रै ५० भन्दाबढी ठाउँहरुमा प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। नेतान्यहूका विरोधीहरुको प्रदर्शनमा बन्दीहरूका परिवार समेत सामेल रहेका छन्। प्रदर्शनकारीहरूले नेतान्यहू सरकारले अझै झन्डै १३० बन्दीहरूको रिहाइका लागि सही पहल गर्न नसकेको भन्दै सरकार र नेतान्यहूको आलोचना गरेका छन्। बाँकी बन्दीहरूको रिहाइका लागि केही गर्न नसकेको भन्दै प्रदर्शनकारीहरुले नेतान्यहूले सरकार छाड्नु पर्ने माग राखेका छन्।

यसैबीच, इजरायल र हमासबीचको युद्धको ६ महिना पुगेको दिन आज पुनः मध्यस्तकर्ताहरु कायरोमा युद्ध विरामका लागि भेटवार्ता गर्दै छन्। अक्टोबर ७ को हमासको आक्रमणमा झन्डै १२ सयको मृत्यु भएको थियो भने इजरायलको सैन्य कारबाहीमा ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । जसमध्ये धेरै महिला र बालबालिका रहेका छन्। इजरायलका अनुसार हमासले २ सय ५३ इजरायली र विदेशी नागरिकहरुलाई बन्दी बनाएको थियो । त्यसमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि एक हुन्।

१ सय २९ बन्दीहरुको अवस्था अनविज्ञ रहँदा ३४ को मृत्यु भएको आशंका गरिएको छ भने १२ को शव इजरायली सेनाले फेलापारिसकेको छ। सन् २०१४ र २०१५ का चार बन्दी समेत गन्ने इजरायल सरकारको तथ्यांक भने केही बढी रहने गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation