सभामुख घिमिरेले आज शीर्ष चार दलका नेतासँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

छलफल बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको अधिकारीको भनाइ छ।  घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन्।

गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ। सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन्। यसैगरी सभामुख घिमिरेले आजै दलहरुका प्रमुख सचेतकसँग पनि छलफल गर्ने अधिकारीले जनाएका छन्।

सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation