८ कराेडकाे विकासमा २० कराेडकाे सर्वनाश, याे कुन विकास माेडेल हाे ?

२७ चैत, बैतडी

साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ ।

शुक्रबार बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको पाटन नगरपालिका–८, झौलेकनजिक ट्याक्टर दुर्घटना हुँदा चालक राजेश चौधरी र स्थानीय मानसिंह विष्ट (मन्धिर) को मृत्यु भएको छ । दुर्घटनामा परेको से२त ३६७८ नम्बरको ट्याक्टरमा सवार पाटन–१०, पनालीका ५३ वर्षीय मानसिंह विष्ट (मन्धिर) र ट्याक्टर चालक कञ्चनपुरनिवासी ३५ वर्षीय राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताउनुभयो ।

सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडकबार मात्रै नभई, यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको वडाध्यक्ष विष्टले बताउनुभयो । पाँच वर्षअघि विश्व बैङ्कको सहयोगमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य लोकमार्गमा स्टिलबार जडान गरिएको थियो ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिलबार लगाउने काम भएको थियो ।  खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमिमध्ये दुर्घटना बढी हुने ११.४५ किलोमिटर, बैतडीको सतबाँझ झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४.७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०.३३ किलोमिटर क्षेत्रमा स्टिलबार लगाइएको थियो ।   यी सडकखण्डको चौडाइ बढाउने र मोड सुधार्ने काम हाल आठ करोडको ठेक्का सम्झौता भई काम चलिरहेको भए पनि आयोजना स्थलमा होर्डिङबोर्ड नराखी जथाभाबी काम भइरहेको नागरिकले गुनासो गरेका छन् ।

बैतडी, दार्चुला र बझाङ जोड्ने मुख्य लोकमार्ग हेर्दै आइरहेको सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले चालु

आर्थिक वर्ष २०८०/८१ मा तीन वटै जिल्लाका मुख्य सडकको मोड सुधार र चौडा गरिन लागिएको बताउनुभयो । उहाँले सडक चौडा गर्दा भित्तो खनेर सुरक्षित ढङ्गले माटो फाल्नुपर्ने र कालोपत्रे तथा सडकबार भत्काउन नपाइने स्पष्ट गर्दै भन्नुभयो, “ठेकेदारले सडकबार र कालोपत्रे भत्काएको गुनासो आएको छ । बैतडी जोड्ने सतबाँझ सडकखण्डको सडकबार भत्काइएको मैले पनि देखेको छु । अन्य ठाउँमा पनि यस्तो गरिएको खबर आएमा ठेकेदारलाई सचेत गराउने छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation