उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।

आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगले आजै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर आचारसंहिता पालना गर्नरगराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ।

यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्नेरगराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

यस्तै, आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मतदान भने वैशाख १५ गते शनिबार हुनेछ। उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनावचिह्न प्रदान गरिएको छ। इलाम २ को उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएकामा एक जनाले स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि १२ दलीय र सात स्वतन्त्र गरी १९ जना प्रतिस्पर्धामा छन्।

उता बझाङमा प्रदेशसभा उपनिर्वाचनका लागि मनोनय दर्ता गराएका १२ जनामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बझाङ प्रदेश सभा १, का लागि उम्मेदवारी दिएका नेपाली जनता दलका अशोक सुनारले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation