उपनिर्वाचन: इलाम र बझाङमा मतदान सुरु

इलाममा १९ र बझाङमा ११ जनाबीच प्रतिस्पर्धा
निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह 
१५ बैशाख, काठमाडौं 
उपनिर्वाचन अन्तर्गत इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेश सभा -१ मा मतदान सुरु भएको छ । बिहान सात बजेबाट मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । उनले मतदाताहरु उत्साहित रुपमा मतदानमा सहभागी हुने क्रम सुरु भएको पनि जानकारी दिए ।

इलाम-२ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । मतदान सहज बनाउन ७ सय ४५ जना कर्मचारी खटिएका छन् । त्यस्तै इलाममा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । यी मतदातामध्ये ४ सय २२ जना नयाँ मतदाता थपिएका हुन् । सबै मतदाताहरुलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत घिमिरेले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताए ।

पुरुष तथा महिलाका लागि अलग-अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । मतदान केन्द्रहरूको नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम-२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैगरि बझाङ -१ को उपनिर्वाचनको लागि पनि मतदान सुरु भएको छ । बझाङ -१मा मतदानका लागि ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता उत्साहित रूपमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार पाँच सयबढी सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए ।

सुरक्षा समितिको विश्लेषण अनुसार बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको छ । मतदानपछि मतपेटीका सदरमुकाम ओर्सानको लागि पनि आवश्यक सवारी साधन र सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए ।साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत संकलन गरिने र अन्य केन्द्रको सडक सवारी मार्फत ल्याउने गरी तयारी भएको उनले जानकारी दिए ।उपनिर्वाचनका लागि बझाङ -१ मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

-का.स.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation