जोसमनी सन्त परम्परा र खस–आर्य संस्कृति – शशिधर भण्डारी

वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छ । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौं सुधारक र पन्थहरू पैदा भए तर भारतमा सन्त परम्पराको धारा बगिरहेको छ । त्यसो त बुद्ध, महावीर गुरूनानक पनि सन्तहरू नै थिए ।
यद्यपि बुद्धको जन्म नेपालमा भएको थियो । पछि खस आर्य समाजमा पनि भारतीय सन्त परम्पराको प्रभाव प¥यो । तर खस जातिमा त्यति ठूला सन्तहरू पैदा भएको देखिँदैन । यस क्रममा कसैले गोरखनाथ र मछिन्द्रनाथको पनि चर्चा गरेर नेपाली सन्त परम्परामा बल दिन्छन् । तर मस्टोपुजक खस आर्यहरूमा सन्त परम्पराभन्दा गृहस्थी परम्परा नै मान्य र प्रभावशाली देखिन्छ । त्यसैले मस्टो, बराह, कुलानी, भुमे, सिद्ध देवताको पूजा गर्ने खस आर्यहरू सन्त परम्पराभन्दा सिद्ध परम्परागत संस्कृतिका अनुयायी हुन भनेर दावी गर्न सकिन्छ ।
त्यसमा खस आर्य समाजमा जोसमनी सन्त परम्परा खस आर्य समुदायको मात्र होइन, समग्र नेपालकै सन्त परम्पराको एउटा मौसक पहिचानको सन्त परम्पराका रूपमा स्थापित भएको देखिन्छ । जोसमनी सन्त परम्परा हिन्दू संस्कृतिकै एउटा पन्थ हो। तर यसले सति प्रथा र जाति प्रथाको निन्दा मात्र गरेन, मूर्ति पूजा समेत प्रति विरोध जनाएर मानवतावादको नारा लगाएको देखिन्छ। यो नेपालको मौलिक परम्परा भएता पनि यो सम्प्रदायको नाम “जोसमनी“ कसरी रह्यो ? भन्ने प्रश्न अहिलेसम्म ठोस रूपमा अनुत्तरित नै छ । सम्भवतः ये मतको आदि प्रबद्र्धकको नाम जोसमनी नै थियो होला भन्ने अनुमान मात्र लगाउन सकिन्छ । जनकलाल शर्माका अनुसार यो परम्पराका प्रथम, हरिश्चन्द (द्वितीय) हुन् भने त्यसपछिका सन्त थिर्जेदिलदास हुन् । उनका विषयमा अन्य तथ्यहरू बाहिर आएका छैनन् ।

जोसमनी सन्त परम्पराका प्रभावकारी व्याख्याता शशिधर पौडेल थिए । उनी पृथ्वीनारायण शाहका समकालीन थिए । उनले पृथ्वीनारायण शाहलाई समेत श्री सम्बोधन नगरी पत्र लेख्थे। शर्माका अनुसार शशिधर विहारको शाहवाद जिल्लाको धरकन्धा गाउँमा बस्ने भारतका कविरपछिका हठयोगी दरिया भन्ने व्यक्तिको सङ्गतमा थिए । त्यसैले सन्त शशिधर जातपात र कर्मकाण्डका आलोचक थिए। सन्त शशिधर पौडेल खस–आर्य मूलका थिए तर जोसमनी सन्त परम्परा एउटा अमूक जातिको मात्र परम्परा थिएन, विशेषतः शशिधरकै कालमा यो परम्परामा नेपालका विभिन्न जात जाति भाषाभाषीहरू समाहित हुँदै गए। शशिधरकै मोक्षमण्डल भन्ने मगर चेला, शेषधर भन्ने गुरुङ चेला मायामण्डल भन्ने सुनुवार चेला तथा प्रेम दिल भन्ने बाहुन चेला थिए । पृथ्वीनारायण शाहका प्रसिद्ध भारदार धौकलसिंह बस्नेत, शशिधरसिते शिक्षित भएर दौकलदास बनेका थिए भने राजा रणबहादुर शाह शशिधरके सत्सङ्गबाट प्रभावित भएर आफूलाई “स्वामी निर्गुणानन्द घोषणा गरेका थिए । जर्नेल रणवीरसिंह थापा पनि जोसमनी सन्त परम्परा स्वीकार गरेर शशिधरका चेला भएका थिए ।

जोसमनी सन्त परम्पराको प्रचारले पश्चिम नेपाल रदार्जिलिङ हुँदै बर्मासम्म प्रचारको व्यापकता पाएको थिय । सन्त शशिधरले जीवनको उत्तराद्र्ध रेसुङ्गामा बिताएका थिए । जोसमनी सन्त परम्पराले परलोकभन्द इहलोकको कार्य, सामाजिक सम्बन्धन र वैरागभन्दा निर्माणलाई प्राथमिकतामा राखेको थियो । जोसमनी सन्त परम्पराले लोक स्तरको कल्पना गर्दैन । स्वर्ग, नर्क सति पनि विश्वास गर्दैन। जोसमनी सन्त परम्पराको प्रभाव बालतपसी स्वर्गद्वारी प्रभू महाराजमा पनि प¥यो । स्वर्गद्वारीका महाप्रभू जोसमनी मतका हंशानन्दका चेल बनेका थिए । उनले आत्म सन्यास घोषित गरेपछि गेरूवा वस्त्र लगाएका थिए । तरपछि उनका केही नन्द ब्रम्हाचारी नामका गुरूमुखी गृहस्थ चेलालाई गेरूवा वस्त्र अनिवार्य गराइएन । पिताम्बर वा स्वेताम्बर इच्छा अनुरूप वस्त्र लगाउने प्रचलन आज पनि छ ।

सन्त शशिधरले योगलाई मुख्य स्थान दिएका छन्। उनले कसैको मृत्युमा आसोच बार्न नपर्ने, अन्त्यष्टि क्रिय गर्नु नपर्ने, मृत शरीरलाई गाडे पुगिहाल्ने र ३ दिनमा भण्डारा लगाए पुग्ने विचार राखेका छन् । त्यसैले जात भात, कर्मकाण्ड, मूर्तिपूजा आदि जस्ता कुरामा जोसमनी सन्त आदर्शवादी भइकन पनि कर्म काण्डीय हिन्दू संस्कारभन्दा प्रगतिशील पन्थका रूपमा देखिन्छ । सन्त शशिधर जोसमनी सम्प्रदायको इतिहासम जोसमनी सन्तका रूपमा, समाज सुधारकका रूपमा तथा साहित्य र भाषाको एक जना सहजमानी आदर्शवादी चिन्तक देखिन्छन् । उनको चिन्तनको व्यापकता खस आर्य समाजमा मात्र कायम रहेन । समग्र नेपाल र भारतमा बर्मामा समेत प्रचारित भयो । उनको विचारले नेपाली समाजका जनता भारदार, जर्नेल, कर्नेल हुँदै राजाहरूको समेत दिमाग हल्लाउन पुगेको थियो ।
भारतमा मुस्लिमहरूको सानो फौजले विशाल हिन्दू समाजलाई आधिपत्यमा राख्न सफल हुनुका पछाडि जाति प्रथाले हिन्दूभित्र ल्याएको विभाजन मुख्य कारण बनेको थियो । हिन्दू भइकन पनि दलित र अपहेलित अवस्थामा रहेकाहरूले ब्राह्मण र राजपुतलाई मुस्लिम आक्रमण विरुद्ध साथ दिएनन् । हिन्दूहरूले त्यति कडा प्रतिरोध पनि गरेका थिएनन् । विचारमा मुसलमान कट्टर थिए । खानपान र
रहनमसहनमा हिन्दूहरू कट्टर थिए ।
सिन्धु उपत्यकामा सन् ७१२ मा मुसलमानहरूले कब्जा जमाएका थिए भने मुहम्मद गोरीले ११९२ दिल्लीम विजय गरेका थिए । कथित नीच जातिसित स्पर्श भएको खण्डमा स्नान गर्नुपर्ने, अर्को जातिले छोएको खान नहुने, विदेश घुमेमा जात खसिहाल्ने हिन्दू परम्पराका कारण भारतमा हिन्दूहरू अल्पसंख्यक हुँदै र अन्य मतसँग पराजित हुँदै गएका थिए।

तर जोसमनी सम्प्रदायको निर्गुणवादको प्रचारले जातिवादको निन्दा गर्यो, जसको परिणाम प्रायः खास आर्य सन्तहरू भएको जोसमनी सम्प्रदायमा नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र विभिन्न समुदायक मानिसहरूले आश्रय पाए, जसको स्वाभाविक परिणाम कट्टर वा सनातन हिन्दू कर्म काण्डीय परम्पराले विभाजित बनाएको नेपाली समाज एकात्मक प्रणालीको दिशामा उन्मुख भयो । त्यति मात्र होइन, त्यतिबेला भारत वर्षमा सक्रिय रहेको इसाई मतमा प्रभावित हुन सक्ने खतराबाट पनि रोकियो । जातिभेद, छुवाछूत र मानिस–मानिसबीचको विभेद भएको कारणले हिन्दू धर्मबाट मानिसहरू अन्य धर्ममा सहजै आकर्षित हुन्छन् भन्ने वास्तविकता बुझेका सन्त शशिधर पौडेलले जातिभेद विरुद्धमा उठाएको कदमले नेपाली सामाजिक जीवनलाई एकताबद्ध र बलियो बनाउन महत्वपूर्ण योग पु¥याएको देखिन्छ । यही जोसमनी सन्त परम्पराको प्रभावमा परेर रण बहादुर शाहले विधवा ब्राह्मणी कान्तवतीलाई विवाह गर्ने, तिनबाट जन्मेको छोरालाई राज बनाउने, कतिपय स्थानमा मन्दिर भत्काउने र जहाँ पायो त्यहीँ खाने बस्ने गरेका थिए भन्ने मत पनि विद्वानहरूको छ, यद्यपि उनी सन्काह राजा थिए ।

एउटा आदर्शवादी दर्शनमा मात्र होइन, जोसमनी सन्त परम्परा एउटा ठूलो साहित्य पनि हो । यो परम्पराले नेपाली साहित्यको क्षेत्रमा पनि महत्वपूर्ण योग पु¥याएको छ । यो सम्प्रदायभित्र धेरै ज्ञानी सन्तहरू पैदा भएका थिए । त्यसमा श्याम दिलदास, निरष दिल दास, अच्युत दिलदास, धर्मदिल दास, सत दिलदास, वैदिक दिलदास, ज्योति दिलदास हंशानन्द आदि पर्दछन् । निरष दिलदासले पूर्व भोजपुरलाई केन्द्र बनाएर काम गर्दा अदेशदित राई चेला भएका थिए । त्यसैगरी अगभदित दास, धरणीदास, मङ्गलदास, कमलदास, अषद दिलदास, कृष्णदास, सीताराम दास, ज्ञान दिलदास आदि जोसमनी सन्त परम्पराका ज्ञानी साधु सन्तहरू थिए।

नेपालमा वि.सं. १९०३ बाट जनरल जङ्गबहादुरको नेतृत्वमा राणा शासनको अभ्युदय भएको थियो । राणाहरूले सामन्तवादी चरम परम्परावादी ढङ्गले देशमा तानाशाही शासन कायम गर्न चाहान्थे । जोसमनी सन्त परम्पराले अगाडि सारेका विचारहरू पनि जङ्गबहादुरलाई पाच्य भएन। लखन थापा मगर पनि जोसमनी सन्त परम्पराका अनुयायी थिए । जङ्गबहादुरको शासन चरमोत्कर्षमा थियो । जङ्गबहादुरले लखन थापालाई गोरखाबाट पक्रेर ल्याई उनी सहित ७ जनालाई फासीको सजाय दिएका थिए । अन्य ५० जना कठोर काराबासको सजायको भागिदार भएका थिए । यो काण्डमा सन्त ज्ञान दिलदास पनि पक्राउ परेका थिए । पछि जङ्गबहादुरका भाइ रणोद्विप र एउटी पौडेल र अर्को कोइराला थरकी ब्राह्मणी समेत जोसमनी सन्त परम्परामा लगे । जङ्गबहादुरले ज्ञानदिलदासलाई नजरबन्द राखेको केही समयपछि मुक्त गराएर षडयन्त्रपूर्वक साँगाबाट बाहिर धपाएका थिए । राणाहरू जोसमनी सन्त सम्प्रदायको विचारबाट मात्र होइन, जुनसुकै नयाँ विचार समाजमा आउँदासाथ आत्तिहाल्थे । आर्य समाजको प्रचार र निरन्तरबाट पनि पछिल्ला राणाहरू कम्ती आतङ्कित भएनन् ।

जोसमनी सन्त परम्पराको शशिधर पौडेलदेखि यताको इतिहासले पनि जोसमनी सन्त चिन्तनको निर्माण र विकासको कार्यमा खस आर्यहरूकै नेतृत्वदायी भूमिका देखिन्छ भने जङ्गबहादुर राणा जस्ता खस शासकहरू नै त्यसको कडा प्रतिवादमा उत्रेको परिदृश्य पनि छ । जाति प्रथा, छुवाछूत, हिन्दू धार्मिक कर्मकाण्डीय अन्धविश्वासको जगमा जनता लडाएर शासन सत्ता टिकाउने नेपाली सामन्ती खस शासकहरूले नै नेपाली माटोमा खस आर्यहरूकै नेतृत्वको जोसमनी चिन्तनलाई माथि उठ्न र जनताको तहसम्म फैलिनबाट रोके । मस्टोपुजक खस सिमे, भूमे पुजक मगर, गुरुङ, किराँत थारू र अन्य सम्पूर्ण मधेश समेतलाई एउटा धारम समेट्न प्रयत्नरत जोसमनी चिन्तनपछि मनुवादी हिन्दू वर्णाश्रमको पुरातनवादको ओझेलमा परेको देखिन्छ । सन्त परम्पराको इतिहास नबोकेको मस्टो, बराह, कुलानी गोठ पूजाको संस्कृति बोकेको खस आर्य समाजम जोसमनी चिन्तनले सन्त परम्पराको मौलिक मौलो भने अवश्य गाडेको थियो । जोसमनी चिन्तनबाट उत्पन्न ज्ञानको धारा हिन्दू सनातनको एउटा नविन, मौलिक धारा भएको देखिन्छ । त्यसकारण कतिपय विद्वानहरूले भारतीय चिन्तक कबिरको नेपाली संस्करण भन्न पनि सक्छन् । खस आर्यहरूपछि मात्र हिन्दूकरण भए । नेपालमा प्रचलित कैयौं चिन्तनहरू आयातित छन् । तर नेपाली माटोमा पैदा भएको मौलिक चिन्तनधार जोसमनी चिन्तन धारा हो । यसले नेपालका सम्पूर्ण जाति, जनजातिको साझा चिन्तन धाराका रूपमा पनि वैचारिक उपस्थिति जनायो । जोसमनी सन्त परम्परा प्रकारान्तरमा नेपाली सन्त परम्परा भएकोमा शङ्का गर्ने ठाउँ छैन । त्यसो त जोसमनी सन्त परम्परालाई खस सन्त परम्पराका रूपमा मात्र अध्याउनु गल्ती हुन्छ । आज नेपालमा उत्तरआधुनिक नश्लवादी राजनीतिले प्रवेश पाए पश्चात् जातिवाद र उग्न सम्प्रदायवादको आँधी चलिरहेको छ । त्यसैले नश्लवादी सांस्कृतिक साम्राज्यवादले हिन्दू संस्कृतिलाई मात्र होइन, बौद्ध र जोसमनी सन्त परम्परालाई समेत पराई ठान्ने र इसाईकरण हुनुलाई आफ्नो ठान्ने इतिहास द्रोही प्रवृत्तिको विकास भइरहेको छ । कुनै पनि धर्ममा र विचारमा आस्था राख्ने स्वतन्त्रता लोकतन्त्रमा सबैलाई छ तर इतिहासको अपव्याख्या र अवमूल्यन गर्ने स्वतन्त्रता कसैलाई छैन । तर पनि संस्कार र संस्कृति फेरिने र युग अनुरूप रूपान्तरित हुने विषय हुन् । प्राचीन रोममा निलघाटीमा, सुमेरिया, असिरिया र बेबिलोनमा जुन सभ्यता र संस्कृतिहरू निर्माण भएका थिए, ती आज छैनन् । प्राचीन ग्रिसको सन्दर्भमा पनि त्यही कुरा सत्य हो। तर इतिहास फेर्न र रूपान्तरित गर्न सकिन्न । उत्पादन प्रणाली, युगको चरित्र र समयको धड्कनसँगै हामीले हाम्रा चिन्तन संस्कृति र सांस्कृतिक मूल्य– मान्यताहरूलाई फेर्न, रूपान्तरित गर्न, जीवनमुखी बनाउन सक्छौँ बनाउनपर्छ तर इतिहासक परिदृश्यहरूलाई आजको साँचोमा ढाल्न सकिँदैन । सबै धर्म, सम्प्रदाय, संस्कार र परम्परामा नीति रहँदै आएका पुराना रूढिवादी, अन्धविश्वास र जीवनहीन मान्यताहरूका विरुद्धमा सच्चाइको तलबार उठाएर समाजमा पुनर्जागरण ल्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation