लेनिनवादः वर्तमान युगको महान शिक्षा

गलत विचारहरुको विरुद्धमा कार्ल माक्र्सले जस्तै उहाँले कहिल्यै सम्झौता गर्नुभएन । विर्सजनवाद, सुधारवाद, वहिष्कारवाद देखि लिएर अवसरवाद र छद्म माक्र्सवाद सधैंभरी उहाँका प्रहारका केन्द्रमा रहे । यदि दोस्रो अन्तराष्ट्रियको एकता भाँडिन्छ भन्ने डरले अन्धराष्ट्रवादको वकालत गर्ने काउत्स्कीहरुसँग सम्झौतापरस्त नीति अपनाएको भए रुसको क्रान्ति नै संभव थिएन ।
यतिखेर विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यसको अर्थ पूँजीवाद अजर–अमर छ भन्ने होइन, राजनीतिक हिसाबले त्यो बलियो भए पनि ऐतिहासिक हिसाबले मरणासन्न छ । दुनियाँमा कुनै पनि चिज अजर अमर हुँदैन । जसरी दाश युग सधैं टिकेन, सामन्ती युग पनि अमर रहेन, सकेन, त्यसैगरि पूँजीवादी युगको अन्त्य अवश्यंभावी छ । आज दुनियाँको कुनै पनि भू–भागमा वैज्ञानिक समाजवादी व्यवस्था छैन ।  पूँजीवादको चौथर्फी ढलीमली छ । आज यसले के गरिरहेको छ भन्ने कुरा बुझिसकेपछि प्रष्ट हुन्छ कि दुनियाँका लागि पूँजीवाद समाधान नभएर समस्या मात्र हो । मानवताको निम्ति वरदान नभएर अभिषाप हो । मानवता र प्रकृतिमाथि यसले मच्चाइरहेको तबाहीले के भन्छ भने जति छिटो पूँजीवाद सकिन्छ त्यो त्यति नै मानव जातीको हितमा छ । यो जति लम्बिन्छ, पृथ्वी र मानव जाती त्यत्तिकै खतरामा छ । पूँजीवाद वर्वादीको केन्द्र हो भने वैज्ञानिक समाजवाद आवादीको सुरुवात हो ।
त्यही वैज्ञानिक समाजवादी क्रान्ति र व्यवस्थाका प्रथम प्रयोगकर्ता थिए लेनिन । उनको जन्म २२ अप्रिल १९७७मा रुसको सिम्बीस्र्क नगर(पछि उल्यानेभ्स्क)मा भएको थियो । सन् २०२४ जनवरी २१ मा लेनिनको मृत्यु भएको सय वर्ष पूरा भएको छ । यसै अवसरमा कम्युनिष्टहरुले लेनिन र उनका योगदानहरु, रुसको अक्टुबर क्रान्ति तथा लेनिनवादका शिक्षाहरुलाई स्मरण गरिरहेका छन् । नेपालमा पनि लेनिन स्मृति शतवार्षिकीको आयोजनामा विभिन्न कार्यक्रमहरु तय गरिएका छन् र उनका योगदान तथा विचारहरुमाथि विमर्शहरु चलिरहेका छन् । माक्र्सवादको खोल ओढेको संशोधनवादको बिगबिगी भइरहेको वर्तमान सन्दर्भमा लेनिनका विचारहरु, अक्टोबर क्रान्ति र लेनिनवादको औचित्यबारे बहस चलाउनुपर्ने आवश्यकता अझै बढेर गएको छ । पूँजीवादी र संशोधनवादीहरुले ढोल पिटेजस्तो लेनिनवादको औचित्य र आवश्यकताको अन्त्य भएको होइन, बरु झनै बढेर गएको छ । यस आलेखमा यही विषयमा संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

लेनिन को थिए ?

लेनिन मजदूर वर्गका इमान्दार शिक्षक, मजदूर वर्गको कम्युनिष्ट पार्टीका निर्माता र पहिलो समाजवादी क्रान्तिका अगूवा थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले  शिक्षाप्रतिको लगाव र आफ्नो असाधारण प्रतिभावको बलमा सार्वजनिक विद्यालयहरुको निर्देशकसम्म हुन पुगेका थिए । जनसाधारणको शैक्षिक उन्नयनका लागि उनले महत्वपुर्ण योगदान दिए । लेनिन र उनका अन्य पाँचजना सन्तानको हुर्काइमा उनकी आमा मरिया अलेक्सान्द्रोभ्नको निकै ठूलो योगदान थियो । जसको फलस्वरुप उनका सबै सन्तानहरु राजनीतिक आन्दोलनमा समर्पित भएर लागे ।
लेनिनको व्यक्तित्वबाट सिक्न सकिने निकै महत्वपूर्ण कुरा भनेको क्रान्तिप्रतिको एकनिष्ठता हो । उनमा सानैदेखि ती गुणहरु हुर्किंदै गएका थिए, जुन क्रान्तिका लागि उपयोगी थिए । जसको लक्ष्य र ती लक्ष्यहरु प्राप्तीका हतियारप्रति विश्वास छैन, उसले निर्णायक युद्ध लड्न सक्दैन भन्ने कुरा लेनिनले हामीलाई सिकाएर गएका छन् । उनमा ज्वारभाटाहरुका विरुद्ध तैरिन सक्ने असाधारण अठोट र क्षमता थिए ।
लेनिनका दाजु अलेक्सान्द्रलाई सन् १८८७को मार्च महिनामा जार अलेक्सान्द्र तृतीयको हत्याको अभियोगमा गिरफ्तार गरियो र मे महिनामा मृत्यु दण्ड दिइयो । यस घटनाले सत्र वर्षीय लेनिनको दिमागमा निकै ठूलो धक्का दियो । यो उनको जीवनकै एउटा महत्वपूर्ण मोडविन्दू सावित भयो । उनले मनमनै जार शासनविरुद्ध यसको मूल्य चुकाउने अठोट गरे र क्रान्तिकारी कर्मलाई आफ्नो जीवनको मुख्य ध्येय बनाए । किशोर अवस्थादेखि नै लेनिनमाथि आफ्ना दाजु अलेक्सान्द्र उल्यानोभको निकै प्रभाव थियो । उनका दाजु एकजना राजनीतिक कार्यकर्ता थिए, तर जुन संगठनमा उनी आवद्ध थिए, त्यसको राजनीतिक लाइन सही थिएन । उनी आवद्ध संगठनलाई नरोदवादी भनिन्थ्यो । नरोदवादीहरुमा बलिदानी भावना त थियो, तर उनीहरु व्यक्ति हत्याको राजनीतिमा विश्वास गर्थे । त्यसप्रति लेनिनलाई विश्वास थिएन । व्यक्तिहत्याको राजनीतिले क्रान्ति संभव छैन भन्ने कुरामा लेनिन सुरुदेखि नै प्रष्ट थिए । तसर्थ उनी आफ्नो दाजु हिडेको बाटोमा लागेनन् बरु त्यो राजनीतिक लाइनको विरुद्धमा कडा वैचारिक संघर्ष चलाउदै अगाडि बढे ।

लेनिन र लेनिनवाद

लेनिनकोे नेतृत्वमा भएको समाजवादी क्रान्तिले दुनियाँमा पूँजीवाद अजर–अमर छैन र यसको अन्त्य पनि संभव छ भन्ने कुरा मात्र पुष्टी गरेन, मानव जातीका लागि समाजवाद नै एकमात्र विकल्प हो भन्ने कुरा पनि व्यवहारमा प्रमाणित गरिदियो । लेनिनवाद केबल रुसको मात्र परिघटना थिएन । यसले आज पनि सार्वभौम महत्व बोकेको छ । किन कि यो विज्ञान हो । त्यही भएर नेता स्टालीनले लेनिनवादलाई “आजको युगको माक्र्सवाद’ भनेका छन् । यसको योगदान माक्र्सवादका तिनवटै संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा रहेको छ । सुरुदेखि नै माक्र्सवादको सृजनात्मक विकासका लागि यसले तमाम प्रकारका अवसरवादी, अर्थवादी, निम्नपूँजीवादी भड्काव तथा विचलनहरुका विरुद्ध संघर्ष गर्नुपरेको थियो ।
रुसको कम्युनिष्ट आन्दोलनभित्र दुईथरि अतिवादी प्रवृत्ति थिए । एउटा प्रवृत्तिले मजदूरहरुको बिचमा राजनीतिक विचारको प्रचार गर्ने, उनीहरुलाई माक्र्सवादी विचारद्वारा लैश बनाउने, राजनीतिक संघर्ष चलाउने र त्यसका लागि सर्वहारा वर्गको पार्टी बनाउने कुराको विरोध गर्थे । उनीहरुले हर गतिविधिलाई कानूनी दायराभित्र मात्र सीमित गर्नुपर्ने तर्क गर्थे । मजदूरहरुले केबल आफ्ना दैनिक आर्थिक हक हितका विषयहरुलाई लिएर मालिकहरुको विरुद्ध संघर्ष चलाउनुपर्छ भन्थे । त्यसैगरी राजनीतिक संघर्ष गर्ने काम उदार पूँजीपतिहरुको हो भन्ने उनीहरुको निष्कर्ष थियो । अवैधानिक संगठन र संघर्षको उनीहरु सदैब विरुद्धमा रहे । त्यसैकारण उनीहरुलाई “विसर्जनवादी” भन्न थालियो । जस्तो कि आज त्यस ठाउँमा नेपालका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीहरु छन् ।
यस खाले अर्थवादी, स्वतस्फूर्तवादी र सुधारवादी प्रवृत्तिहरुविरुद्ध लेनिनले संघर्ष चलाउनुभयो । त्यसकै दौरानामा उनको प्रसिद्ध कृति ‘के गर्ने ?’ प्रकाशित भयो । यो कृति केबल सैद्धान्तिक हिसाबले मात्र नभएर राजनीतिक तथा संगठनात्मक हिसाबले पनि उत्तिकै सान्दर्भिक छ । रुसमा विद्यमान विभिन्न गैह्रमाक्र्सवादी चिन्तन, प्रवृत्तिहरुलाई परास्त गर्न र नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माणका लागि यो कृति कोशेढुंगा साबित भयो ।
अर्को प्रवृत्ति थियो, जसले सबैखाले वैधानिक गतिविधिहरुलाई इन्कार गथ्र्यो । चुनावी उपयोग तथा प्रतिक्रियावादी सरकारमा सहभागीताको नीतिलाई पनि अस्वीकार गथ्र्यो । केबल अवैधानिक गतिविधिमा मात्र सीमित रहनुपर्छ भन्ने यसको मान्यता रहेको थियो । यस प्रवृति विरुद्ध पनि लेनिनले डटेर संघर्ष चलाउनुभयो । यो लाइनलाई “वहिष्कारवाद” भनिन थालियो । लेनिनले यसलाई उल्टो विसर्जनवाद भन्नुभएको छ ।
लेनिनको राजनीतिक जीवनबाट आज पनि हामीले लिन सकिने महान शिक्षा के हो भने गलत विचारहरुको विरुद्धमा कार्ल माक्र्सले जस्तै उहाँले कहिल्यै सम्झौता गर्नुभएन । विर्सजनवाद, सुधारवाद, वहिष्कारवाद देखि लिएर अवसरवाद र छद्म माक्र्सवाद सधैंभरी उहाँका प्रहारका केन्द्रमा रहे । यदि दोस्रो अन्तराष्ट्रियको एकता भाँडिन्छ भन्ने डरले अन्धराष्ट्रवादको वकालत गर्ने काउत्स्कीहरुसँग सम्झौतापरस्त नीति अपनाएको भए रुसको क्रान्ति नै संभव थिएन । दोस्रो अन्तराष्ट्रिय विघटन हुनुको कारण लेनिन नभएर सर्वहारा अन्तराष्ट्रियतावादका विरुद्ध गद्दारी गर्ने काउत्स्कीहरु थिए । उनीहरुले विश्व युद्धको समयमा आफ्नो देशका सरकारहरुलाई साथ दिए ।
अर्को उहाँको महत्वपूर्ण योगदान भनेको साम्राज्यवादको ब्याख्या हो । साम्राज्यवादलाई पूँजीवादको मरणासन्न अवस्थाको रुपमा चित्रण गर्दै उहाँले तत्काल जतिसुकै बलबान देखिएपनि यसको अन्त्य अवश्यम्भावी छ भन्दै यसका अन्तर्विरोधहरुको ब्याख्या गर्नुभयो  । जुन मुलुकमा साम्राज्यवादको कडी कमजोर हुन्छ, त्यो देशमा अलग्गै पनि समाजवादको स्थापना हुनसक्छ भन्ने निश्कर्ष निकाल्नुभयो । यसलाई उहँले रुसको धर्तीमा प्रमाणित गरेर देखाउनुभयो । निश्चय पनि लेनिनले ब्याख्या गरेको समयभन्दा आज साम्राज्यवादमा कैयन परिवर्तनहरु आएका छन् । यो हिजो जहाँ थियो आज पनि त्यहीँ छ भन्ने होइन । तर आधारभूत रुपमा साम्राज्यवादको चरित्र भने लेनिनले ब्याख्या गरेकै अनुरुप छ ।
 पूँजीवादको शोषणकारी चरित्रको अन्त्य भएको नभएर यसको थप विस्तार मात्र भएको हो । नेपालकै पनि एकथरी कार्यकर्ता तथा बौद्धिकहरुले अब “लेनिनको युग सकिएको” भनेजस्तो कदापि होइन । लेनिनवादको अर्को महत्वपूर्ण योगदान भनेको संगठनात्मक क्षेत्रमा हो । लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आफूखुशी ब्याख्या र प्रयोग गर्ने प्रवृत्ति अन्य देशहरुमा जस्तै नेपालमा पनि छ । जनवाद र केन्द्रीयतालाई खण्डित गरेर बुझ्ने, ब्याख्या गर्ने र लागू गर्ने कुराले यहाँका कम्युनिस्ट नामाधारी पार्टीहरु आफू मात्र विकृत भएका छैनन्, बरु सिद्धान्तलाई पनि विकृत बनाएका छन् । आज यिनीहरुका लागि पार्टी सदस्यता भनेको चोकमा बसेर बेचिने चना चटपटे भएको छ । पार्टी सञ्चालन गर्नु भनेको सनकको खेल भएको छ ।
 चुनावदेखि चुनावसम्मको अन्तहीन यात्रामा क्रान्तिलाई यिनीहरुले भ्रान्तिमा परिणत गरिदिएका छन् । यिनीहरुको भ्रष्ट अभ्यासलाई आधार बनाएर कैयन इमान्दार क्रान्तिकारी कार्यकर्ताहरु समेत लेनिनवादी संगठनात्मक सिद्धान्त काम नलाग्ने भएको निश्कर्ष निकाल्ने गर्छन् । यो कुरा गलत छ । गलत प्रशिक्षण तथा अभ्यासको प्रभावस्वरुप क्रान्ति र समाजवादकै नाउँमा क्रियाशील नयाँ पुस्ताले गैह्रमाक्र्सवादी निम्नपूँजीवादी मानसिकता सहित समयको बर्बादी गरिरहेको अवस्था छ ।
त्यसैगरी लेनिनलवाद कुनै पनि कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको अग्रदस्ता बन्नका लागि र क्रान्तिका कार्यभार पूरा गर्नका लागि तिनवटा महत्वपूर्ण सर्तहरुलाई लागू गर्न सफल भएको थियो । पार्टी माक्र्सवादी विचारले निर्देशित हुनु, सर्वहारा अनुशासनमा आधारित एकताबद्ध पार्टी संगठन र जनतासँगको गहिरो तथा व्यापक सम्बन्ध । क्रान्तिका लागि श्रमजीवी वर्गको क्रान्तिकारी पार्टी, त्यसका लागि आवश्यक क्रान्तिलाई ध्यय बनाएका कार्यकर्ताहरुको जमात । जसलाई लेनिनले पेशेवर क्रान्तिकारी भन्नुभयो । प्रतिक्रियावादीहरुलाई परास्त गर्ने योभन्दा अर्को बाटो छैन भन्ने कुरा उहाँले पुष्टी गर्नुभयो । जतिसुकै सही सिद्धान्त भएपनि श्रमजीवी वर्गलाई जबसम्म संगठित शक्तिमा बदलिदैन तबसम्म क्रान्ति कल्पनाको विषय मात्र बन्छ ।
क्रान्तिकारी पार्टी निर्माणका लागि लेनिनले एउटा मजदूर पत्रिका प्रकाशनको प्रस्ताव अगाडि सार्नुभयो । जुन पछि गएर ईस्क्राको नाउँमा परिचित भयो र त्यसले मजदूरहरुको बिचमा विचार, संगठन र आन्दोलन तिनै क्षेत्रमा महत्वपूर्ण अगुवाको भूमिका खेल्न सफल भयो । यी कुराहरु कम्युनिस्ट आन्दोलनलाई अगागि बढाउनका लागि आज पनि उत्तिकै मूल्यबान छन् । क्रान्तिकारी पार्टी निर्माण र समाजवाद स्थापनाका लागि सिद्धान्तको महत्वलाई उहाँले निकै जोड दिनुभएको छ । “क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति असंभव छ” भन्ने लेनिनले माक्र्सवादी विचार, एकताबद्ध अनुशासित संगठन र जनतासँगको सम्बन्धलाई नङ र मासु जस्तै एकअर्कासँग जोडिएका अभिन्न अवयवहरुको रुपमा महत्व दिनुभएको छ । आज हामीले यी कुराहरुको महत्वलार्ई विर्सनु भनेको लेनिनवादका शिक्षाहरुलाई आत्मसात नगर्नु नै हुन्छ ।

   लेनिनवादी कार्यशैली

लेनिनवादबाट हामीले सिक्नुपर्ने महत्वपूर्ण शिक्षा भनेको लेनिनवादी कार्यशैली हो । लेनिनवादी कार्यशैलीका दुई विशेषताहरु छन्ः रुसी क्रान्तिकारी उत्साह र अमेरिकी कार्यकुशलता । लेनिनवादी कार्यशैलीका बारेमा स्टालिनको भनाई छ–“अकर्मण्यता, जडता, अनुदारता, तथा मानसिक गतिशून्यताका विरुद्ध र पुरातन परम्पराहरुको दासताको विरुद्ध रुसी क्रान्तिकारी उत्साह रामवाण समान हो । त्यो एउटा जीवनदायी शक्ति हो, जसले विचारलाई उत्तेजित गर्छ, कार्यलाई गति दिन्छ र पुराना बन्धनहरुलाई तोडेर अगाडिका बाटाहरु खोल्दछ । त्योबिना कुनै प्रगति संभव छैन ।” यसलाई अमेरिकन कार्यकुशलतासँग जोड्नुपर्ने कुरासँग जोड दिइएको छ । उहाँ थप भन्नुहुन्छ, “यो कार्यकुशलता त्यो अजेय शक्ति हो जसले न बाधाहरुलाई चिन्दछ, न तिनीहरुलाई स्वीकार गर्छ । आफ्नो उद्यम र अध्यावशायको बलबाट कार्यकुशल व्यक्ति सबै बाधाहरुलाई हटाउछ र जबसम्म कार्य सम्पन्न हुँदैन तबसम्म त्यसलाई गरिराख्छ चाहे त्यो काम जतिसुकै सानो किन नहोस् । यस प्रकारको कार्यकुशलता बिना कुनै पनि रचनात्मक कार्य पूरा गर्न सकिन्न ।
तर त्यसको संयोजन रुसी क्रान्तिकारी उत्साहसँग भएन भने अमेरिकी कार्यकुशलता विकृत भएर संकुचित र सिद्धान्तहीन व्यावसायिकतामा बदलिने पूरै संभावना हुन्छ । संकुचित व्यवहारिकता र सिद्धान्तहीन व्यावसायिकताको कारण कहिलेकाँही केहि “बोल्शेभिक”हरुले क्रान्तिकारी कार्यलाई त्यागिदिए ।”
लेनिनले कम्युनिष्ट युवाहरुका निम्ति सिकाई र कम्युनिष्ट नैतिकताको निकै महत्व रहने कुरा गर्नुभयो । कम्युनिष्ट नैतिकतालाई उहाँले वर्गसंघर्षको हितको अधिनस्थ हुनुपर्ने कुरामा जोड दिनुभयो । “युवक संघका कार्यहरु” शीर्षकमा प्रकाशित अखिल रसियाली युवक संघको तेस्रो अधिवेशनमा दिइएको यो भाषणले आज पनि कम्युनिष्ट युवा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्दछ । उहाँले भन्नुभयो, “मानव जातीले आर्जन गरेका ज्ञान सम्पदाले दिमागलाई समृद्ध तुल्याएर मात्र कम्युनिष्ट बन्न सकिन्छ ।”

वर्तमानमा लेनिन र लेनिनवाद

एउटा प्रश्न उठाउने गरिन्छ, “के अब पनि लेनिन र लेनिनवादको सान्दर्भिकता छ, जुन हिजो रुसमा थियो ? जब कि संसारमा धेरै परिवर्तन भइसकेको छ ।” हामी ठोकुवा गरेर भन्नसक्छौं लेनिन र लेनिनवादको सान्दर्भिकता घटेको होइन बरु बढेको छ । लेनिनवादको औचित्यबारे अक्सर प्रश्नहरु तिनीहरुले उठाउने गर्छन् जसले माक्र्सवादको अध्ययन गम्भीरतापूर्वक नगरिकन मनगढन्ते सिद्धान्तको आविष्कार गर्छन् या संशोधनवादी लाइनको गहिरो प्रभावमा छन् ।
नेपालमा यतिखेर माक्र्सवाद, लेनिनवाद या माओवाद पुरानो भएको र नयाँ समयको “नेपाली माटो सुहाउदो माक्र्सवाद”को खोजी गर्नुपर्ने मनोगत तर्कहरु बेसी सुनिन्छन् । “माक्र्सवाद कुनै जडसूत्र होइन, यो काम कारवाहीहरुमा मार्गदर्शक सिद्धान्त हो” भन्ने सही तर्कको आडमा उनीहरु माक्र्सवादमाथि नै प्रहार गर्छन् । जब माक्र्सवादी शूद्धताको रक्षाको कुरा आउँछ, त्यसलाई उनीहरु जडसूत्रवाद भन्ने फतुर लगाउँछन् । जडसूत्रवादले क्रान्तिको सेवा गर्दैन, तसर्थ हरेक माक्र्सवादी–लेनिनवादी यसको विरुद्धमा संघर्ष चलाउनुपर्ने हुन्छ । तर यसका विरुद्ध पनि उनीहरुले मात्र संघर्ष चलाउन सक्छन्, जो माक्र्सवादी–लेनिनवादी हुन् । यस सन्दर्भमा के गर्ने ? भन्ने पुस्तकमा “जडसूत्रवाद र आलोचनाको स्वतन्त्रता” शीर्षमा लेनिनले सटिक ढंगले खण्डन गर्नुभएको छ । लेनिन क्रान्तिमा सर्वहारा वर्गको अग्रदस्ताको भूमिकाको थप चर्चा गर्दै भन्नुहुन्छ, “अग्रदस्ताको भूमीका केबल त्यही पार्टीले मात्र निभाउन सक्छ जो सबैभन्दा उन्नत सिद्धान्तले निर्देशित छ ।”
 रसियन समाजको विशिष्टतामा लागू भएका कैयन कुराहरु आजको समय त्यसमा पनि नेपाली समाजका लागि सान्दर्भिक हुँदैनन् । तर यसको अर्थ यो होइन लेनिनले विकास गरेका यस्ता सार्वभौम महत्वका कुराहरु छन्, जसले आज कुनै अर्थ नराखून् । यो कुरालाई इन्कार गर्नेहरु नै बरु अवैज्ञानिक र पछौटे साबित हुनपुग्छन् ।
 विज्ञानसँग केबल इमान्दारिता चल्छ, छलकपटक र मनगढन्ते शैली होइन । बिज्ञानसँग खेलवाड गर्नेहरुले इतिहासप्रति न्याय गर्न सक्दैनन् बरु दयनीय प्रहसनका पात्र साबित हुन्छन् । जसरी त्यस्तो प्रहसनका पात्रहरु दोस्रो इन्टरनेशनलका  काउत्स्की, बर्नस्टिन र खु्रस्चेवहरु भएका थिए । भन्ने गरिन्छ, माक्र्सवाद काउत्स्कीलाई कण्ठस्थ थियो ।
तिनै काउत्स्कीको विरुद्धमा लेनिनले “सर्वहारा क्रान्ति र गद्दार काउत्स्की” लेख्नुप¥यो । आज नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यस्तै काउत्स्कीपन्थीहरुको बोलवाला छ । पुराना दिमागहरु ती हुन् जसले लेनिनवादलाई माक्र्सवादको निरन्तरतामा बुझ्न सकेनन् । जड ती हुन् जसले सबैभन्दा नयाँ र उन्नत चेतनालाई आत्मसात गर्न छोडेर नयाँको खोजी गर्ने भन्दै बुद्धकालीन ज्ञान, चेतना र समयभन्दा पनि पछाडि फर्किन चाहन्छन् ।

लेनिन सम्झनुको अर्थ 

आजको समयमा लेनिन पढ्नु र लेनिनवादलाई आत्मसात गर्नुको अर्थ सच्चा माक्र्सवादी हुनु हो । तर त्यसलाई रटेर पण्डित्याईँ छाट्नु भने किमार्थ होइन । बरु समाज परिवर्तनको अभियानसँगै आफूलाई पनि बदल्नु हो । माक्र्सवादी सिद्धान्तलाई दह्रोसँग पकड्नु हो । तमामाखाले रंगी विरंगी, पूँजीवादका पक्षपोषक सुधारवादी, संशोधनवादी, उत्तरआधुनिकतावादी एवं प्रतिक्रियावादी विवचारहरुसँग भिड्न तयार हुनु हो । लेनिनवादी हुनुको अर्थ श्रमीक वर्गको संगठनको महत्वलाई आत्मसात गर्दै त्यस्तो नयाँ ढंगको अग्रदस्ता निर्माणको दिशामा लाग्नु हो । अझै दृढतापूर्वक गरिखाने वर्गसँग एकाकार हुँदै वर्गदृष्टिकोणलाई तिखार्नु हो र सँगसँगै सांस्कृतिक रुपान्तरणको झण्डा उँचो बनाउँदै आफैभित्रका निम्नपुँजीवादी, सडेगलेका विचारहरुमा क्रान्तिको आगो सल्काउनु हो । लेनिनवादले देखाएको बाटोमा थप दृढतापूर्वक आफूलाई गतिशील बनाउनु हो । यसले मात्र लेनिनलाई सम्झनुको सार्थकता पुष्टि गर्नेछ ।
लेनिनको मृत्युको १३ वर्षपछाडि आफ्ना महान अगुवा लेनिनको स्मरण गर्दै ११ डिसेम्बर १९३७ मा एउटा संसदीय चुनावको सभामा स्टालिनले भन्नुभएको थियो, “मानिसहरुले आफ्ना प्रतिनिधिहरुसँग माग गर्नुपर्छ कि उनीहरु लेनिनजस्तै आफ्नो स्थानमा अडिग बनेर रहुन, कि उनीहरु आफ्ना कामहरुमा उत्तिकै स्पष्ट र दृढ होउन् जस्तो लेनिन थिए, कि उनीहरु युद्धमा त्यत्तिकै निर्भय तथा शत्रुप्रति निर्मम होउन् जस्ता लेनिन थिए । उनीहरु कठिनाईहरु पैदा हुने र खतराहरु उपस्थित भएपछि डरबाट त्यसरी नै मुक्त होउन्, जसरी लेनिन थिए । कि उनी दुरुह समस्याहरुलाई हल गर्नमा त्यत्तिकै चलाख र धैर्यवान होऊन्, जस्तो लेनिन थिए । त्यस्तै इमान्दार र सच्चा बनून जस्तो लेनिन थिए । अनि यसरी नै जनतालई प्रेम गरुन् जसरी लेनिन गर्थे ।”
लेनिनको मृत्यु भौतिक मात्र हो, विचारधारात्मक होइन । आज पनि उनका विचारहरु त्यत्तिकै जिवन्त र बलिया छन् जति उनी जिवित छँदै थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation