आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदै

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेकाले आजको संसद बैठकमा सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

उक्त नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच जेठ १३ गते पारित भएको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार १९ खर्ब हाराहारीको बजेट आउने छ ।

यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिइने स्रोतले जनायो ।

करको दर हेरफेरमा हुने आलोचना कम गर्दै त्यसलाई पारदर्शी बनाउने उद्देश्यले तीन महले राखेर करको दर हेरफेर हुने कारणसमेत उल्लेख गर्ने तयारी छ ।

साथै निजी क्षेत्रलाई प्रवर्द्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदान, स्टार्टअपलाई प्रोत्साहन, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन र सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने लगायतका विषय बजेटमा समेट्ने तयारी सरकारको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation