दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायात सहजरूपमा सञ्चालन भइरहेको जानकारी दिए।
दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो। गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।
विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनी दुःख पाउने गरेका छन्।