पत्रकार महासंघ काठमाडौं शाखामा युनियनको ताला

२३ जेठ, काठमाडौं 

नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ ।
पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो ।
‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाको गम्भीर असहमति छ’ उपाध्यक्ष आचार्यले भने । उपाध्यक्ष आचार्यले महासंघको सदस्यता शुद्धीकरणका नाममा धेरै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमति रहेको बताए ।
‘अहिले आएको सूचीप्रति हाम्रो असहमति छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारण सभा अघि नवीकरण गरेकाहरूको पनि शुद्धीकरण हुनुपर्छ’ आचार्यले भने ।
प्रेस युनियन काठमाडौं शाखाले महासंघ काठमाडौं शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ ।
‘प्रेस युनियन काठमाडौं शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरूलाई महासंघको सदस्यताबाट वञ्चित गरिनु हामीलाई मान्य छैन ।
यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरूको नामावली रहेको गुनासोसमेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्शी तरिकाबाट छानबिन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौं शाखा यो तालाबन्दी कायम राख्दछ।’ प्रेस युनियन काठमाडौं शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
युनियन काठमाडौं शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यबद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लीलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation