प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध अदालतमा मुद्दा

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि र व्यवस्थापक निरु थापाको योजनामा नागरिकले राखेको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खात खोलेर रकम हिनामीना गर्ने, एजेन्ट नै राखेर मिटर ब्याजमा लगाउने तथा ऋणीबाट घरजग्गा उठाउनेजस्ता कार्य गर्ने सञ्चालक, मिटर ब्याजी र सरकारी कर्मचारीलाईसमेत मुद्दा लगाइएको छ ।

प्राइम सहकारीका सिइओ पौडेल, व्यवस्थापक थापासहित अहिलेसम्म ९ जना पक्राउ परेकोमा कानुनी सल्लाहकार ईन्द्र बराल बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा भएका थिए । पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष शंकर कार्की, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, मिटरव्याजी मनबहादुर गुरुङ (माने), उत्तम गुरुङको सोमबारबाट अदालतमा बयान सुरु हुँदैछ, बाँकी फरार छन् ।

पक्राउ परी हिरासतमा रहेका ८ र बन्दी प्रत्यक्षीकरणमा छुटेका एक जनालाई प्रहरीले सहकारी ठगीसहित विभिन्न मुद्दा चलाउन राय पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले भने कतिपय व्यक्तिको सन्दर्भमा मुद्दालाई कमजोर बनाउने गरी अदालतमा पेश गरेको आरोप लागेको छ ।

अधिकांश सबैको सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने रायसहित अदालतमा मुद्दा दायर भएको छ । योसँगै प्रहरीले छुट्टै राजश्व छलीमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ भने सरकारी कर्मचारी र घुस लेनदेन गर्नेविरुद्ध अख्तियार अनुसन्धान आयोगमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । मानबहादुर गुरुङ (माने)सहितलाई मिटर ब्याजको कसुरमासमेत मुद्दा चलाउन राय पेश भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation