बालबालिकाले दिनमा कति पानी पिउने…?

अस्ट्रेलियाको बालर्‍याट क्लारेन्डन कलेजले गत महिना पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीहरुका लागि कक्षामा पानीका बोतलको प्रयोगमा प्रतिबन्ध लगाएर एउटा परीक्षण गर्‍यो । विद्यालयका अनुसार प्रारम्भिक प्रतिक्रियाका आधारमा के पत्ता लाग्यो भने यसो गर्नाले कक्षा चलिरहेको बेलामा होहल्ला कम भयो र शौचालय जानका लागि विद्यार्थीले ब्रेक लिने दरमा पनि कमी आयो ।

अहिले विद्यार्थीका लागि स्कुलमा पानी भरेर ल्याउने बोतलहरु अनिवार्य जस्तै बनिसकेका छन् । तर प्रश्न यो छ कि आखिर बालबालिकालाई एक दिनमा कति परिमाणमा  पानी पिउनु आवश्यक हुन्छ । पानी पिउनुको मस्तिष्कमा कस्तो प्रभाव हुन्छ ? बालबालिका तथा किशोरकिशोरीलाई हरेक दिन कति मात्रामा तरल पदार्थ चाहिन्छ ?

वास्तवमा बच्चालाई कति परिमाणमा तरल पदार्थ चाहिन्छ भन्ने कुरा मौसम र उसको शारीरिक गतिविधिमा निर्भर हुन्छ । तर सामान्यतया चारदेखि आठ वर्ष उमेरका बालबालिकाले दैनिक झण्डै १.२ लिटर पानी पिउनु आवश्यक हुन्छ । त्यस्तै ९ देखि १३ वर्षका बालकले १.६ लिटर र सोही उमेर समूहका बालिकाले १.४ लिटर पानी पिउनुपर्छ ।

त्यसैगरी १४ वर्षभन्दा बढी उमेरका किशोरहरुले दैनिक १.९ लिटर तथा किशोरीहरुले १.६ लिटर पानी पिउनु आवश्यक हुन्छ ।

लबालिकाले पिउँदैनन् पर्याप्त पानी

खानपिनसम्बन्धी अस्ट्रेलियाली निर्देशिका अनुसार अन्य तरल पदार्थ भन्दा सादा पानी मात्रै पिउनु राम्रो हुन्छ । तर यदि तपाईंको बच्चाले पानी मात्रै पिउन मन गर्दैन भने उसलाई पानीमा केही जुस मिसाएर पनि खुवाउन सकिन्छ ।

अध्ययनअनुसार कतिपय स्कुले विद्यार्थीले पर्याप्त मात्रामा पानी पिउँदैनन् । १३ देशका ४ देखि १७ वर्ष उमेरका ६ हजार ४६९ जना बालबालिकामा गरिएको अध्ययनअनुसार ६० प्रतिशत बालबालिका तथा ७५ प्रतिशत किशोरकिशोरीले पर्याप्त मात्रामा तरल पदार्थको सेवन गर्दैनन् ।

दैनिक कति पटक पानी पिउनुपर्छ ?

बालबालिका तथा किशोरकिशोरीले दैनिक कति पटक पानी पिउनुपर्छ भन्ने बारेमा खासै सल्लाह दिइँदैन । शोधकर्ताहरु भने विद्यार्थीले बिहानै उठेर पानी पिउनुपर्ने बताउँछन् । बिहान सबैभन्दा पहिले पानी पिउनाले शरीर तथा मस्तिष्कले पानीको समुचित उपयोग गर्छ, जसबाट पूरै दिन हाम्रो मस्तिष्कले राम्रोसँग काम गर्छ ।

यहाँनेर प्रश्न उठ्छ, हाम्रो मस्तिष्कका लागि पानी किन यति धेरै महत्वपूर्ण छ ? वास्तवमा मस्तिष्कको कुल द्रव्यमानको करीब ७५ प्रतिशत हिस्सा पानीले ओगटेको हुन्छ र हाम्रो मस्तिष्कलाई काम गर्नका लागि पनि पानीको आवश्यकता पर्छ ।

हर्मोनको स्तरलाई सन्तुलित बनाउन, उचित रक्तप्रवाह कायम राख्न तथा मस्तिष्कमा भिटामिन, खनिज तथा अक्सिजन पुर्‍याउन समेत पानीले मस्तिष्क कोषिका तथा तन्तुहरुलाई सहयोग गर्छ । त्यसैले यदि विद्यार्थीहरुले पर्याप्त मात्रामा पानी पिएमा भने उनीहरुको एकाग्रता बढ्छ ।

पर्याप्त पानीको सेवन र पढाबीचको सम्बन्ध- 

जर्मनीमा सन् २०२० मा पाँचदेखि ६ वर्षसम्मको उमेरका बालबालिकामा गरिएको अध्ययनबाट के पत्ता लागेको छ भने जुन बच्चाले बिहान चार घण्टाको अवधिमा आफ्नो दैनिक आवश्यकताको करिब ५० प्रतिशत अर्थात् झण्डै एक लिटर पानी पिउँछ, उसको दिमागले समग्र रुपमा राम्रोसँग काम गर्छ ।

विज्ञहरुका अनुसार बालबालिकाको दिनचर्यामा पानी समावेश गर्नुर्छ । नियमित समयमा पानी पिउनाले बालबालिका तथा युवाहरुका लागि उनीहरुको दैनिकीलाई नियमित बनाउन पनि सहयोग पुग्छ । नियमित दिनचर्या, ध्यान, भावना तथा व्यवहारलाई व्यवस्थित गर्ने एउटा महत्वपूर्ण तरिका हो ।

पानी पिउनका लागि स्कुलमा कक्षाकै बेलामा ब्रेक दिनुपर्छ भन्ने पनि छैन । बच्चा सुतेर जाग्ने बेला, खाने समयमा, स्कुल पुग्ने बित्तिकै, कक्षाको सुरुवातमा, कक्षा सकिने बेला तथा विद्यालयबाट घर फर्किएपछि पनि पर्याप्त पानी पिउनु लाभदायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation