स्वतन्त्र नागरिकको दायित्व…………. केशव दाहाल

रोज्जा खेत राणाहरूका । रोज्जा बारी, खर्क, जंगल र बगैंचा राणाहरूका । टार, बेंसी, उपत्यका र चरिचरन राणाहरूका । सहर, चोक र चोकमा ठडिएका ठूलाठूला दरबार राणाहरूका । उनीहरू शासक, हामी शासित । उनीहरू ख्वामित, हामी सेवक । हामी उनीहरूको भक्ति गाउँथ्यौं, बक्सिस थाप्थ्यौं र जयजयकार गथ्र्याैं । हाम्रो तन, मन, धन राणाहरूको । राज्य राणाहरूको । सरकार राणाहरूको । उनीहरू पालनहार, हामी बेसहारा, अबला र पालित ।
सहनु हाम्रो काम थियो । प्रश्न नगर्नु र हरदम मुस्कुराउनु हाम्रो सेवा थियो । अपमान गरुन्, जेल कोचुन् वा भकुरुन्, ख्वामितको भक्ति गर्नु हाम्रो इमान थियो । उनीहरू कोर्रा चलाउँथे, हामी सहन्थ्यौं । चार पाटा मुडेर भन्ज्याङ कटाउँथे, हामी सहन्थ्यौं । शिर ठाडो गर्न पाइँदैनथ्यो । मन खोलेर रुन पाइँदैनथ्यो । ठूलो स्वरमा हाँस्न पनि पाइँदैनथ्यो । हामीसँग उनीहरूले निर्धारण गरिदिएको निष्ठा र नैतिकताको घेरा थियो । हामी त्यसको सीमाभित्र कैद बस्थ्यौं । हाम्रा सुन्दर छोरी मालिकका । हाम्रा बलिया छोरा मालिकका । हाम्रो इज्जत मालिकको । हाम्रो स्वाभिमान मालिकको । हाम्रो रगत, पसिना, श्रम सबैसबै मालिकको । हाम्रो न त निजी सपना थियो, न स्वाभिमान, न त आत्मसम्मान । कोतपर्व होस्, रैतीलाई के मतलब । भण्डारखाल होस्, रैतीलाई के मतलब । राजा फेरिऊन्, रैतीलाई के मतलब । प्रधानमन्त्री फेरिऊन्, रैतीलाई के मतलब । जो आए पनि मात्र जयजयकार गर्नु र दाम चढाउनु रैतीको काम थियो । शिर झुकाउनु र ख्वामितको पाउमा समर्पित हुन पाउनु रैतीको सौभाग्य थियो ।
एकदिन हाम्रा पुर्खाले बगावत गरे । अर्थात्, रैती हुन इन्कार गरे । आन्दोलन भयो । रैतीहरूले आन्दोलनको बलमा राणा शासन फालिदिए । रैतीहरू प्रजा भए । त्यसपछि, खोपीमा रहेका राजाले शिर उठाएर भने, ‘अब म शासन गर्छु ।’ बिनाप्रश्न हामीले राजालाई स्वीकार ग¥यौं र त्यसपछि प्रजा भयौं । रैतीबाट प्रजा । हाम्रा शिरमा विराजमान भए, राजा । उनीसँग दरबार थियो । युवराज, युवराज्ञी थिए । नाताकुटुम्ब थिए । सेवक, चाकर थिए । एकदिन चाकरले भन्यो, ‘राजासँग राजकीय अधिकार हुन्छ । राजाको सार्वभौमसत्ता सबैभन्दा माथि हुन्छ । राजा संविधानभन्दा माथि हुन्छन् । राजा ईश्वर हुन् । राजा पालनहार हुन् । राजा मौसुफ हुन् । राजा श्री ५ हुन् । र, ती सर्वव्यापी, सर्वशक्तिशाली राजाको देशमा बस्ने निरीह मान्छे तिमीहरू फगत प्रजा हौ । प्रजा हुनु राजाको चरणमा शरणगत हुनु हो ।’ यसरी हामी रैतीबाट प्रजा भयौं ।

नागरिक बन्ने सपना

विश्वभरका मान्छेले नागरिक बन्नका लागि मुख्यतः तीनवटा महान् क्रान्तिबाट प्रेरणा लिए । बेलायतको गौरवमय क्रान्ति । फ्रान्सको राज्यक्रान्ति । अमेरिकाको स्वतन्त्रता संग्राम । यहींनेर अर्को क्रान्तिलाई पनि सम्झँदा हुन्छ, त्यो हो सोभियत (अक्टोबर) क्रान्ति । यी क्रान्तिहरूले देश, राज्य, सरकार र नागरिकको परम्परागत परिभाषा र सम्बन्धलाई फेरिदिए । आन्दोलनले सम्राटको हातमा निहित दैवी (?) अधिकारलाई खारेज गरिदियो । नागरिक दासबाट मालिक बने । नागरिक सर्वोच्च भए । नागरिकभन्दा माथि कोही पनि रहेनन् । त्यसपछि, मानव सभ्यताले कोल्टे फे¥यो । स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारको नयाँ युग प्रारम्भ भयो ।
आधुनिक मानव सभ्यतामा नागरिक स्वतन्त्रता र सर्वोच्चता स्थापित भएको लगभग तीन सय वर्षपछि हिमवत् खण्डका हामी नेपालीमा पनि नवीन चेतना जागृत भयो । त्यही चेतनाको आलोकमा आन्दोलन भयो । प्रथमतः हामीले राणा शासनविरुद्ध आन्दोलन ग¥यौं । पछि, राणाहरूसँग लडेर मात्र पुगेन । हामीले राजाहरूसँग पनि लड्नुप¥यो । हामीले राणा र राजाबाट शासकीय सर्वोच्चताको श्रीपेच खोसेर नगरिकको हातमा ल्याउन निरन्तर प्रयत्न ग¥यौं । आन्दोलनको त्यो सिलसिला अनेक लहर हुँदै अगाडि बढ्यो ।
अन्ततः २०६३ सालको आन्दोलनले त्यसका अन्तिम तगाराहरू तोडिदियो । अर्थात्, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । रैती वा प्रजा हामी संविधानतः नागरिक भयौं । न त राणा रहे, न राजा । देशको राजकीय सत्ता र सार्वभौमसत्ताको अभ्यास गर्ने वंश परम्परा सत्ताको शिखरबाट झ¥यो र नागरिकको लाइनमा उभिन आइपुग्यो । संविधानतः नागरिक सार्वभौम भए । संविधानतः नागरिक देशको मुख्य प्राधिकार भए ।
प्रश्न आउँछन्, हामी रैतीबाट प्रजा हुँदै नागरिकसम्म आइपुग्दा हिँडेको बाटोको लम्बाइ कति होला ? हामीले रैतीबाट नागरिक बन्न बगाएको रगत र पसिनाको मूल्य कति होला ? हाम्रा पुर्खा र हामी स्वयंले त्यसका लागि गरेको त्याग र बलिदानको मूल्य कति होला ? त्यति ठूलो मूल्य चुकाएर हामीले किन आन्दोलन गर्नुपरेको होला ? चुपचाप रैती भएरै बसेको भए के बिग्रन्थ्यो होला ? तर, हामी यसकारण लड्यौं कि, हामी नागरिक बन्न चाहन्थ्यौं । किनभने नागरिक हुनु भनेको देशको मालिक हुनु हो ।
राज्यको मालिक हुनु हो । नागरिक यस्तो शक्ति हो, जोसँग सार्वभौमसत्ता हुन्छ । जोसँग निर्णय गर्ने अधिकार हुन्छ । जो स्वयं आफ्नो शासक छनोट गर्छ । जो कानुन बनाउँछ र आवश्यक पर्दा कानुन फेर्छ । जो आवश्यक पर्दा शासकलाई दरबारमा बसाउँछ र आवश्यक नपर्दा दरबारबाट भुइँमा पछार्छ । अर्थात्, नागरिक सर्वोच्च हुन्छ र नागरिकभन्दा माथि कोही पनि हुँदैन ।

के हामी सर्वोच्च भयौं ?

प्रश्न आउँछन्, त्यसो भए के हामी सर्वोच्च भयौं ? के हामी सार्वभौम भयौं ? अवश्य नै संविधानमा हामी सार्वभौम छौं । तर अरू पनि प्रश्न आउँछन्, जस्तो कि व्यवहारमा हामी कहाँ छौं ? जीवनका उतारचढाव र कष्टमा हामी कहाँ छौं ? सत्ताको खेलमा हामी कहाँ छौं ? राज्यको निर्णय प्रक्रिया र स्वामित्वमा हामी कहाँ छौं ? सबैलाई थाहा छ, हाम्रो राजनीतिले कागजको पन्ना र मान्छेको जीवनमा सिर्जना गरेको विरोधाभाष । परिणाम, हामी नागरिक भुइँमा छौं । धूलोमा छौं । किनारमा छौं । किनभने, राज्य, राजनीति, सरकार र नेतृत्वले हामीलाई नागरिकको दर्जा दिएकै छैन । उल्टो हाम्रो सत्ताले नागरिक सर्वोच्चताको अपमान गरेको छ । हाम्रो सार्वभौमसत्ता लुटिएको छ । शासकलाई हामीले दिएको सार्वभौम अधिकार हाम्रैविरुद्ध प्रयोग भइरहेको छ । र, हामी चुपचाप सहँदै बसेका छौं । किनभने, हामी नागरिक भएका छैनौं ।
तर, यसको अर्को कोण पनि छ । अवश्य नै सत्ता, राजनीति र नेतृत्वले हामीलाई नागरिक बनाएन, तर के हामी स्वयं नागरिक बन्ने प्रयत्नमा लाग्यौं ? के हामी शासकहरूले निर्माण गरेको दासताको घेरा तोड्न लड्यौं ? कि हामी आफ्नो शिरमाथि कुनै ख्वामितलाई विराजमान गराएर दासत्वमा रमाइरहेका छौं ? हामी कस्ता गणतन्त्रवादी हौं, जो हरदम प्रचण्ड, ओली र देउवाभित्र राजा खोजिरहेका हुन्छौं ? आफ्नो स्वतन्त्र अस्तित्वको बोध नहुने हामी कस्ता नागरिक ?
केही उदाहरण हेरौं । नेताहरू हाकाहाकी भ्रष्टाचारमा संलग्न हुन्छन् र जेल पर्छन् । त्यही नेता जब जेलबाट निस्किन्छ, हामी स्वागत गर्न फूलमाला लिएर जेल अगाडि पुग्छौं । सरकार भ्रमहरूको पुलिन्दा बाँड्छ । हामी हौसिएर ताली बजाउँछौं । नेताहरू असफल, लोभी र पत्रु छन् भन्ने थाहा छ । तर तिनैलाई स्वागत गर्न हामी प्लेनको ढोकामा दुई सय किलोको माला लिएर हाजिर हुन्छौं । जब नेताको गाउँमा सवारी हुन्छ, गद्गद् हुँदै हामी उसको जयजयकार गर्न लाइनमा उभिन्छौं ।
नक्साको देशमा रमाउने हामी । नेताको फगत एक मुस्कानमा रमाउने हामी । चुनाव एउटा गठबन्धनमा पसेर जित्छ, सरकार बनाउँछ अर्कैमा । र, हामी आफ्नै भोटको अपमान भएको त्यो क्षण चुपचाप सहन्छौं । चुनावमा ‘नो नट अगेन’ भनेर कसैले भोट माग्छ, हामी भोट हाल्छौं । तर, चुनावपछि ऊ तिनै पात्रहरूसँग लहसिन्छ र भन्छ– ‘अगेन एन्ड अगेन’ । हामी ताली बजाउँछौं । अहिले राज्यसत्तामा या त बिचौलिया छन्, या त छन् पार्टीका हनुमान । आलोचना छैन । प्रश्न छैन । लोकतन्त्र, दलतन्त्रमा फेरिएको छ । हामी भ्रमको लोकतन्त्र शिरमा राखेर रमाउँदै छौं । न त दुःखी हुन्छौं, न रिसाउँछौं । किनभने हामी भ्रममा बाँचेका छौं । लोकतन्त्रको भ्रम । परिवर्तनको भ्रम । सत्ताको भ्रम । नेतृत्वको भ्रम ।
वस्तुतः आज हामी जेलाई लोकतन्त्र भनिरहेका छौं, असलमा यो दलतन्त्र हो या त हो दलालतन्त्र । हामी लोकतन्त्रलाई दलालतन्त्र बनाउने तिनै भ्रष्ट नेताहरूको दरबारमा स्वस्ती गर्न ब्रह्ममुहूर्तमै जान्छौं । के यतिधेर चाकडीबाज मान्छे पनि नागरिक हुन्छ ? स्वयं दास बन्नमै खुसी हुने हामी कस्ता नागरिक ?
बितेका अनेकौं अनेक वर्षदेखि ठग्नेहरूले ठगिरहेका छन् । नयाँ–नयाँ ठग आउँछन् । जादु देखाउँछन् । देश बनाउने गफ हाँक्छन् । हामीसँग न त प्रश्न छन्, न विवेचना । हामी तिनलाई भगवान् बनाउँछौं । हामी तिनलाई ख्वामित बनाउँछौं । तिनको स्तुति गाउँछौं । विचार गरौं त जो स्वयंले आफूलाई मालिक ठान्दैन, ऊ कसरी मालिक हुन्छ ? भुलभुलैया जस्ता प्रश्न मनमा बोकेर स्वयं अलमलमा छौं हामी । जस्तो, दल हाम्रा सेवक हुन् कि हामी दलका सेवक ? सरकार हाम्रो सेवक हो कि हामी सरकारका सेवक ? देशमा गतिलो अस्पताल छैन । विश्वविद्यालय छैन । पार्क छैन । खेलमैदान छैन । वृद्धाश्रम छैन । उद्योग छैन । रोजगारी छैन । मात्र छ, भ्रष्टाचार र बेथिति । गरिबीको ओरालो यात्रा तेज छ । तर हामी वर्षौंवर्षदेखि पार्टी–पार्टी भनेर कुदेका छौं र उनीहरूका असफलतालाई बिर्सिरहेका छौं । न त पार्टीहरूलाई प्रश्न गर्ने हामीसँग तागत छ, न नेतृत्वलाई अस्वीकार गर्ने सामर्थ्य । हामी आफैं दलको दास बन्नमा खुसी छौं । हामी स्वयं नेताको चाकर बन्नमा हर्षित छौं । हामी कस्ता नागरिक ? हामी कसरी नागरिक ?
हामी मनका प्रश्न मनमै दबाउँछौं । नेताका अगाडि बेहिसाब मुस्कुराउँछौं । सबै कुरा चुपचाप सहन्छौं । हामीलाई सपनामा पनि आशीर्वाद दिने ख्वामित चाहिएको छ । चाकडी गर्न मालिक चाहिएको छ । हामीलाई आफैंमा विश्वास छैन । आफैं यो जुनीमा केही गर्न सकिन्छ कि भन्ने सपना छैनन् । पालनहारहरू खोजेर हामी स्वयं रैती बन्छौं । स्वयं हामीमा आफू मालिक हुनुको बोध छैन । हामी अभावले घेरिएका छौं । हामी महँगीले थिलथिलो छौं । बेथितिले भत्किएका छौं । पाइला पाइलामा अपमान छ । आफैंमाथि यति धेरै अपमान हुँदा पनि सहेर बस्ने निर्धा मान्छेहरू हामी कसरी नागरिक ? हिजो राणा साहेबहरूका रैती हामी, आज नयाँ साहेबहरूका सेवक बनेका छौं । यो कसरी गणतन्त्र भयो ? हामी कसरी नागरिक भयौं ?
अन्त्यमा यति भन्छु, वस्तुतः नागरिक हुनु भनेको तीनवटा कुरा हुनु हो । पहिलो, स्वतन्त्र हुनु हो । दोस्रो, सार्वभौम हुनु हो । तेस्रो, स्वाभिमानी हुनु हो । हामी न त स्वतन्त्र छौं, न हामीलाई आफ्नो सार्वभौमिकताको बोध छ । न त नागरिकको सामर्थ्य थाहा छ, न शक्ति । आफूभित्र आफैंलाई बाँध्ने बन्धनहरू छन् र ती बन्धनभित्र जकडिएका छौं हामी । हामी कसरी स्वाभिमानी हुन सक्छौं ? आफू स्वयं कसैको गुलाम बन्न तयार छौं, हामी कसरी स्वतन्त्र हुन सक्छौं ? हामी आफ्नै मनको हीनताबोधले रैती बनेका छौं । आफ्नै दासताको जंजिरभित्र दमित छौं । स्वयं दासतामा बाँधिएको मान्छे, हामी कसरी नागरिक ? पहिले हामी एक स्वतन्त्र, सार्वभौम र स्वाभिमानी नागरिक बनौं । त्यसपछि धेरै कुरा आफैं फेरिनेछ  । –कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation