Pranmancha

Advertisment

SKIP THIS

विगत भन्दा यो बर्ष डेंगुको जोखिम बढि, सतर्कता अपनाउन आग्रह

यो वर्ष सरदरभन्दा बढी डेंगु संक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा भन्दा यो वर्ष बढी वर्षा हुने प्रक्षेपण रहेसँगै डेंगु संक्रमण पनि अघिल्ला वर्षहरूमा भन्दा धेरै बढ्ने हुँदा बेलैमा सबै जनाले सतर्कता अपनाउनु अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने‚ ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार नेपालमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन भएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र संक्रमितको संख्या बढ्ने देखिन्छ। तसर्थ आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ।’

गत ६ महिनामा ७२ वटा जिल्लाबाट १ हजार २ सय ४१ जना डेंगुका विरामी फेला परेको मन्त्रालयले उल्लेख गरेको छ। जसमा यो वर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा हाल ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १८८ जना, लुम्बिनी प्रदेशमा १४८ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिममा १४० जना डेंगुका विरामी रहेका छन्।

जिल्लाअनुसार भने काठमाडौँ र झापामा डेंगुका सबैभन्दा बढी विरामी रहेका छन्। काठमाडौँमा १४१ जना र झापामा ११२ जना विरामी छन्। चितवनमा ७५ जना, मकवानपुरमा ५९ जना, डोटीमा ४७ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुंगामा ४१ जना, रूपन्देहीमा २८ जना र भक्तपुरमा २७ जना डेंगुका विरामी छन्।

गत वर्ष डेंगुका विरामीको संख्या ५२ हजार ७९० जना पुगेको थियो। डेंगु हुनबाट जोगिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।

डेंगु रोगको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेसरी दुख्नु, आँखाको गेडी दुख्नु, बेसरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लग्नु वा बान्ता हुनु पर्छन्। एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation