२७ असार, दाङ
दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती गम्भीर घाइते भएकी हुन् ।
आज बिहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको नेपाल सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए । घाइते घर्तीको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । उहाँलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी बुटवल लगिएको छ ।
उहाँ चार/पाँच जनाको समूहमा च्याउ टिप्न जंगल जानुभएको थियो । अन्यलाई भालुको नंग्राले लागेको भए पनि भाग्न सफल भएको सशस्त्र प्रहरी नायव ढकालले बताए ।