नेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ।
आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।
आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वारचन, पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। यस्तै एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई आयोगको सदस्य सचिव तोकिएको छ।
आयोगलाई जाँचबुझ गर्न ४५ दिनको कार्यादेश दिइएको छ। आगामी दिनमा दुर्घटना हुन नदिन जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राविधिकले नियमित अनुगमन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकले भोलि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको उनले बताए। बैठकले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारमा समवेदना र घाइते पाइलट मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।