Pranmancha

Advertisment

SKIP THIS

कसरी जुट्यो टिआरसीमा सहमति..?

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनैपर्छ भन्ने प्रतिबद्धतासाथ एकपछि अर्को विकल्प खोज्दै सहमतिमा पुग्यौँ।
१८ साउन, काठमाडौं

विस्तृत शान्ति सम्झौता भएको करिब १८ वर्षको अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत काम सम्पन्न भए । त्यसमध्ये द्वन्द्वपीडितलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्यमा अनावश्यक ढिलाइ भइरहेको थियो । सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका तर्फबाट मसमेतलाई दिइएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञको सल्लाह र सुझावसमेतका आधारमा संशोधन गर्न सहमति हुन नसकेका सबै विषय टुंगोमा पुर्‍याउन सफल भएका छौँ । द्वन्द्वपीडितलाई न्याय, मेलमिलाप र परिपूरणको विषय टुंग्याएर शान्ति प्रक्रियालाई पूरा गर्ने विषयमा सहमति जुटेको छ । यसबाट नेपालको शान्ति प्रक्रियाका बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी रूपमा स्थापित हुने नै छ ।

विगतको कमजोरी : विस्तृत शान्ति सम्झौताकै वेला सही ढंगले नबुझ्नु नै यसमा एकप्रकारले समस्या रह्यो । वास्तवमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यतिवेलै शान्ति प्रक्रियालाई एकैपटक टुंग्याऊँ भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावलाई सही ढंगले नबुझ्दाखेरी नै यो प्रक्रिया पछि पर्न गयो । त्यसपछि संविधान निर्माण प्राथमिकतामा आयो । दुई–दुईपटक संविधानसभा निर्वाचन भयो । संविधान निर्माणका विषयमा मात्रै बढी ध्यान केन्द्रित हुँदा शान्ति सम्झौताका बाँकी कामको पाटो ओझेलमा परेको थियो । संविधान निर्माण भइसकेपछि अघिल्लो कार्यकालमै यो काम टुंगिनुपथ्र्यो । तर, राजनीतिक दाउपेचका रूपमा प्रयोग हुँदा विषय अघि बढ्न सकेन ।

सहमतिका प्रयास : माओवादीका तर्फबाट सहमतिका लागि निरन्तर प्रयास जारी थियो । तैपनि सहमति जुट्न सकेको थिएन । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको अघिल्लो सरकारकै वेला गत असारमा तीन सदस्यीय कार्यदल बन्यो । हामीले कार्यदलमा घनीभूत रूपमा छलफल गर्‍यौँ । पीडितलाई सम्बोधन गर्ने, न्याय दिने, परिपूरण दिने, मेलमिलाप गराउनुपर्नेलगायत विषय नटुंगेको अवस्थालाई गम्भीरतापूर्वक आत्मसात् गर्दै विज्ञ र सरोकारवालासँग पनि व्यापक छलफल गरी सुझाव लियौँ । एक त हामीलाई समयको दबाब थियो । अर्कातर्फ अझै पनि सहमति नखोज्ने हो भने पीडितप्रति थप अन्याय हुन्थ्यो । माओवादी सहमतिकै पक्षमा थियो । कांग्रेस पनि सहमतिकै पक्षमा थियो । एमालेबाट पनि शान्ति प्रक्रिया टुंग्याउने कुरा भइसकेपछि वातावरण सहज बन्यो । र, यसलाई टुंग्याउनैपर्छ भन्ने प्रतिबद्धतासाथ हामी अघि बढ्यौँ । हामी एउटा मात्र विकल्पमा अड्केनौँ । एकपछि अर्को विकल्प खोज्दै सहमतिको बिन्दुमा अघि बढ्यौँ । विगतबाट शिक्षा लिँदै अघि बढ्दा विवादित विषय टुंग्याउने वातावरण बन्यो । र, कार्यदलबाट हामीले टुंगो लगायौँ ।

पीडितमैत्री समझदारी : पीडितकेन्द्रित कानुन बनाउने गरी समझदारी बनेको छ । यस विषयमा सम्मानित अदालतले पनि हामीलाई निर्देशित गरेको थियो । पहिलो त द्वन्द्व हुनुका कारण के थिए भनेर पहिचान गर्नु मुख्य हो । द्वन्द्वका कारण पहिचान गर्ने र भविष्यमा फेरि त्यस्तो द्वन्द्व नदोहोरियोस् भन्नका लागि त्यसका उपाय खोज्ने, त्यस क्रममा द्वन्द्वपीडितको अवस्था कस्तो रह्यो, तिनीहरूको सत्यतथ्य पत्ता लगाउने र उनीहरूलाई न्याय दिने, परिपूरण दिने काम हुन्छ । मेलमिलाप हुने ठाउँमा मेलमिलाप हुन्छ । मेलमिलाप नै यसको मुख्य उद्देश्य भएकाले पीडितले त्यसको अनुभूति गर्नुहुनेछ । यदि, मेलमिलाप हुन सकेन भने पीडितलाई आ–आफ्नो ढंगले अगाडि बढ्न पाउने अधिकार रहन्छ । आयोगले त्यसको सूचना दिन्छ । र, महान्यायाधिवक्ताकहाँ पनि आयोगले त्यो पठाइदिन्छ । पीडित कसरी अगाडि बढ्न चाहन्छ, त्यसरी अगाडि बढ्न सक्ने स्वतन्त्रता हामीले छाडिदिएका छौँ ।

विगतमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने इच्छाशक्तिमा अलि कमी नै भयो । राजनीतिक दाउपेचको रूपमा पनि विगतमा यसलाई लिएकोजस्तो अनुभूति भयो । यसको महत्वलाई बुझेर अगाडि बढ्नेभन्दा पनि अरू कुरामा मात्र महत्व दिँदा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन ढिला भएको हो । अहिले गम्भीरतासाथ अगाडि बढाउने प्रतिबद्धता भएका कारण नै तत्कालीन प्रधानमन्त्री प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बसेर नै कार्यदलमा तीनजनाको नाम तोक्नुभएको हो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्री ओलीले पनि कार्यदललाई टिआरसीको विषय टुंग्याएर ल्याउनुस् भन्नुभएको थियो । सरकार बदलिए पनि शान्ति प्रक्रियालाई टुंग्याउनुपर्छ भन्ने सोच नयाँ सरकारमा पनि देखियो । शीर्ष नेताबीचको समझदारीले कार्यदलमा हामीलाई काम गर्न पनि सजिलो भयो ।

स्वेच्छाचारी ढंगले निर्ममतापूर्वक गरिएका हत्या, यौनहिंसा, व्यक्ति बेपत्ता र यातनाका विषयलाई गम्भीर मानव अधिकार उलंघनका रूपमा परिभाषित गरिएको छ । अन्तर्राष्ट्रिय टिआरसीको मान्यता पनि त्यसभित्र हामीले समेटेका छौँ । विश्वव्यापी रूपमै स्थापित विषय हुनाले अन्तर्राष्ट्रिय समुदाय पनि यसप्रति सकारात्मक नै हुनेछ । त्यसबाहेकका घटनामा आयोगले पहिला त्यसको पहिचान गर्छ । गम्भीर मानव अधिकार उलंघनका घटनामा सत्यतथ्य र प्रमाणका आधारमा विशेष अदालतमा मुद्दा जान्छ । अरू घटनाका सन्दर्भमा त्यसका तथ्य पहिचान गरेर मेलमिलापको प्रयत्न हुन्छ । मेलमिलापमा स्वतन्त्र सहमति चाहिन्छ भनेर कानुनमा लेखिएको छ । पीडितले स्वतन्त्र सहमति दिँदा मेलमिलाप हुन्छ । यदि, भएन भने पीडितको इच्छाअनुसार नै अगाडि बढ्छ ।

मेलमिलापलाई प्राथमिकता : अब बदला लिनेभन्दा पनि मुख्यतः त्यसबाट पाठ सिक्ने विषयसँग सम्बन्धित भएको हुनाले मेलमिलाप हुन पनि सक्छ । नभए कानुनले एउटा बाटो दिएकै छ । अन्तर्राष्ट्रिय समुदाय पनि नेपालको शान्ति प्रक्रिया छिटो टुंग्याउनुपर्छ भन्नेमै रहेको हामीले बुझेका छौँ । नेपालको शान्ति प्रक्रिया हामी मौलिक विशेषताको आधारमा टुंग्याउन चाहन्छौँ । हामीले विगतमा विस्तृत शान्ति सम्झौता, सेना समायोजन, संविधान निर्माण गरेर उदाहरण देखाए पनि पीडितका मुद्दा सम्बोधन हुन नसक्दा त्यति ठूलो उपलब्धि विश्वमाझ स्थापित गर्न सकेका थिएनौँ । अब यी काम टुंगिँदा हाम्रो शान्ति प्रक्रिया विश्वकै एउटा मोडेल बन्नेछ । विश्व नै यसबाट सिक्ने ठाउँमा आइपुग्छ । यसबारे अध्ययन, अनुसन्धान हुन्छ । हामीले विभिन्न देशको अध्ययन गर्दा वास्तवमा हाम्रो शान्ति प्रक्रियाका काम धेरै अगाडि बढेको छ । एउटा विषय बाँकी रहेका कारण मात्र यसले पूर्णता पाउन नसकेको हो । अहिले पीडितको विषय पनि सम्बोधन गरिएको छ । नेपालको शान्ति प्रक्रिया एउटा विशेष मौलिक खालको भएकाले विश्वका विभिन्न मुलुकका लागि यो उदाहरणीय बन्न सक्छ ।

अबको प्रक्रिया : हामीले कार्यदलमा एउटा सहमति गरेका हौँ । अब औपचारिक रूपमा संसदीय समितिले विधेयक पास गरेर संसद्मा प्रस्तुत गर्छ । संसद्मा छलफल गरेर विधेयक पारित भएपछि त्यसले कानुनी रूप लिन्छ । अदालतको आदेशअनुसार आयोगका पदाधिकारी सिफारिस समिति बनिसकेको छ । त्यसले आयोगका पदाधिकारी सिफारिस गर्छ । सरकारले त्यसलाई नियुक्ति प्रक्रियामा अगाडि लैजान्छ । आयोग बनिसकेपछि आयोगले विभिन्न समिति, उपसमितिको संयन्त्र बनाउने व्यवस्था कानुनमा छ । सोहीअनुसार आफ्नो संयन्त्र बनाएर आयोगले सत्य, तथ्य अन्वेषणको काम अघि बढाउँछ । त्यसपछि आयोगले मेलमिलाप हुन सक्नेलाई कसरी मेलमिलाप गराउने, मेलमिलाप हुन नसक्नेलाई कसरी अघि बढाउने, गम्भीर मानव अधिकार उल्लंघनलाई कसरी मुद्दामा लैजाने भन्ने टुंगो लगाउँछ । साथै, परिपूरण दिनुपर्ने विषय पनि त्यसैगरी टुंग्याउँछ ।

अरू देशमा सत्यतथ्य पत्ता लगाउने एउटा खालको र त्यसलाई कार्यान्वयन गर्ने अर्को खालको संयन्त्र रहेको देखिन्छ । हाम्रोमा सबै काम आयोगले नै गर्ने खालको व्यवस्था गरिएको छ । आयोगबाट सिफारिस गरेर मुद्दा चलाउनुपर्ने भएमा विशेष खालको अदालत निर्माण गर्ने भन्ने छ । सर्वोच्च अदालतका न्यायाधीशमध्येबाट तीनजना न्यायाधीश रहने गरी विशेष अदालत पनि गठन हुन्छ । विशेष अदालतमा ती मुद्दामा सुनुवाइ हुने प्रक्रिया एकातिर अगाडि बढ्छ भने मुख्यतः आयोगले नै धेरै काम गर्नुपर्ने हुन्छ । आयोगको समय दुई वर्षका लागि तोकिएको छ । आयोग प्रभावकारी भयो भने दुई वर्षभित्र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सम्भव छ । मुद्दाहरू विभिन्न प्रवृत्तिका होलान् । तिनलाई त्यही खालले सम्बोधन गर्ने गरी संरचना बन्यो भने काम अगाडि बढ्छ । मुख्यतः, पहिला स्थितिको जानकारी, त्यसपछि गर्नुपर्ने र दिनुपर्ने विषय सबै तय भएर मुद्दा चल्नेलाई मुद्दा चलाउने, मेलमिलाप गर्नेलाई मेलमिलाप गराउने, परिपूरण गर्नुपर्नेलाई परिपूरण गरेर शान्ति प्रक्रिया टुंगिन्छ ।

(माओवादी उपमहासचिव शर्मा टिआरसी कार्यदलका सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation