रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो ।
देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनारको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए ।
घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए । तर पहिरो झरिरहेको र वर्षा नरोकिँदा राति उद्धार हुन सकेन । देउसिंह भने कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।