लोडसेडिङ हुँदा खुशी हुनेहरू मेरो विरोधमा छन् : कुलमान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा खुशी हुनेहरुको जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन्।

बिहीवार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन्। उनले नेपालमा लोडसेडिङ हुँदा खुशी हुनेहरुको जमात धेरै रहेको दावी गरे। उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत जानकारी फैलाइरहेको आरोप पनि लगाए।

उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए। उनले महालेखापरीक्षकको तीनवटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए।

‘विद्युत प्राधिकरणको फाइनान्सियल स्टेटमेण्टहरु गलत हो भनेर जिम्मेवार पदाधिकारीहरुले भन्ने गरेका छन्। महालेखापरीक्षकले खटाएर तीनवटा अडिट संस्थाहरुले फाइनल गरेको हिसाब कसरी फेक हुनसक्छ?‚’ उनले भने, ‘विद्युत प्राधिकरण नाफामा जाँदा कसैलाई दुःख लाग्छ‚ घाटामा जाँदा खुशी लाग्छ। प्राधिकरणले लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ‚ त्यो जमातले यस्ता नचाहिने विषयहरुलाई पनि धेरै फैलाएको सुनेको छु।’

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे। उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दावी गरे।

उनले ८ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे।

उनले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दावी गरे। उनले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि दावी गरे।

उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्नासमेत नगरेको आरोप लगाए।

‘पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौँ। २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन‚’ उनले भने, ‘विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौँ। सामाजिक दायित्व हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ तर त्यो अर्थ मन्त्रालयले सोधभर्ना गरेको छैन।’

उनले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयातभन्दा निर्यात बढी गरेको दावी पनि गरे।

‘यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौँ‚’ उनले भने‚ ‘नेपालले विद्युत आयातभन्दा विद्युत निर्यात बढी गरेको छ।’

उनले डेडिकेटड र ट्रंकलाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation