गाेर्कीको निबन्ध “व्यक्तित्वको विघटन” बारे परिचर्चा

चर्चित माक्र्सवादी लेखक म्याक्सिम गोर्कीद्धारा लिखित निबन्धकाे माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईँद्धारा अनुदित व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श सम्पन्न भएको छ ।

“व्यक्तिवाद र व्यक्तित्वको विघटन” विषयमा आज आइतबार दाङको घोराहीस्थित सर्वोदय पुस्तकालयमा प्राणमञ्च मिडिया प्रा.लि. र उदाहरण समूह, नेपालको आयोजनामा विचार विमर्श एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

विमर्श कार्यक्रममा वामपन्थी विश्लेषकहरु शशिधर भण्डारी, प्रमोद धिताल, शैलज पौडेलले पुस्तकका समग्र विषयवस्तु, विश्व कम्युनिस्ट आन्दोलन तथा नेपाली वामपन्थी आन्दोलनका सम्बन्धमा आ-आफ्ना धारणाहरु व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वामपन्थी विल्शेषक एवंम् लेखक प्रमोद धितालले चिन्तनको विघटन नै व्यक्तित्व विघटनको प्रमुख कारण भएको बताए । उनले आजको मानव असल मानव हुनुका सबै सबै मुल्यमान्यताबाट विघटित भएकोले असल र जिम्मेवार व्यक्तित्वकाे विकासका लागि

म्याक्सीम गोर्कीको “व्यक्तित्वको विघटन” सबैले अध्ययन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा शैलज पौडेलले मानव नै सारा विषयको खजाना भएको भन्ने माक्सीम गोर्कीको मूल आशयलाई अर्थाउँदै पूँजीवादी विश्व व्यवस्थाले मानिसलाई वस्तुको रुपमा ठानेर उसको मति भ्रष्ट गरि सत्ताउन्मादमा सफल भएको दावी गरेपनि गाेर्कीका कैयौँ कृतिहरु श्रमजीवी वर्गको संगठित संघर्षले सत्ताको तख्ता पल्टाउने दिशामा दरिलो खुराक भएको बताए ।

उनले गोर्कीका हरेक कृतिहरु कालजयी भएपनि दलाल पूँजीवादले उनका प्रतिभाको अवमूल्यन गरेको र बुर्जवा साहित्यकारको दवदवा देखाइएकोले यसको क्रमभंगता जरुरी भएको बताए । व्यक्तित्वको विघटनमा गोर्कीले तत्कालीन रुसी समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षको मासिनो चिरफार गरेको र सवा सय वर्ष पहिले गोर्कीले विश्लेषण गरेको सूचकहरु नेपालको सन्दर्भमा अहिने पनि सान्दर्भिक भएको दावी गरे । पौडेलले व्यक्तिगत थनदौलत र शक्ति आर्जनको लागि मानवीय मूल्यमान्यताको धज्जी उडाउदै “म” नै सबथोक हो भन्ने आडम्बरले  ऐस–आरम र मोजमस्ती गर्नको निम्ती जनताको न्यायपूर्ण आन्दोलनमाथि दलाल पूँजीपादी सत्ताद्वारा बर्बर दमन गरिएको बताए । मानिसले सामुहिक एजेण्डा बिर्सेर जब व्यक्तिवादी कुपमन्डुवादमा फस्छ तब उसको सम्पूर्ण शक्ति पतन भएर जाने पाैडेले बताए ।

उनले नेपालका राजनीतिज्ञहरुले पनि सुरुमा जनताको बलमा आन्दोलन गर्ने र अन्तमा सारा उपलब्धिको हर्ताकर्ता आफू मात्रै भन्ठान्ने प्रचण्ड, केपि ओली, शेरबहादुर प्रवृत्तिले अन्ततः स्वयं उनीहरु नै एक्लिंदै गएको देखिएको बताए । “म” नै सबथाेक भन्ठान्ने प्रवृत्ति न्यायपूर्ण समाज विकासकाे निम्ति ठुलाे बाधक तत्व भएकाे उनकाे निष्कर्ष रह्यो ।

त्यस्तै माक््सवादी लेखक, विश्लेशक एवम् राजनीतिज्ञ शशिधर भण्डारीले गोकीका लेखनहरु निकै सरल, सहज र यथार्थपरक हुने भएकोले समाजवादी व्यवस्था, किसान, मजदुर, श्रमीक एवम् सर्वहारावर्ग प्रति प्रतिवद्ध उनका आमा उपन्यास लगायतका साहित्यीक रचनाले प्रगतिशील चेतना निर्माण र कम्युनिस्ट आन्दाृेलनको विकासमा निकै ठुलो योगदान रहेको स्मरण गराए ।

व्यक्तित्वको विघटन निबन्धमा पनि गोर्कीले तत्कालीन रुसी समाजको समाज मनोविज्ञान, अर्थ–राजनीतिक पक्ष र त्यहाँकाे सांस्कृतिक पक्षको गहिरो समीक्षा गरेका बताए । गाेर्कीकाे कृतिले मानिस किन शिखरमा पुगेर रातारात पुछरमा पछारिन्छ भन्ने स्पष्ट चित्र देखाएको बताए । उनले नेपालको परिवेशमा अहिले पनि व्यक्ति मृुल्यविघटनको डरलाग्दो स्थिति देखा परेको जीकिर गर्दै पठन सँस्कृतिमा रुचि राख्ने हर पाठकले गोर्कीका रचनाहरु अनिवार्य पठ्नुपर्ने सुझाव राखे ।

कार्यक्रम प्राणमञ्च मासिकका प्रधान सम्पादक पदम प्रसाद पोख्रेलको अध्यक्षतामा भएको थियो भने सहजीकरण प्राण्मञ्च मासिकका सम्पादक घनश्याम अस्तित्वले गरेका थिए । कार्यक्रममा साहित्यकार टिकाराम उदासी, सरिता सुवेदी, चन्द्रबहादुर थापा लगायतले अनुभूतिजन्य मन्तव्यसहित जिज्ञासा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation