किन भूकम्पकीय उच्च जोखिममा छ नेपाल ? यस्तो छ हालसम्मका भूकम्पको नालिवेली

टेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छ । विज्ञहरूका अनुसार जमिनमुनि सञ्चित उक्त शक्तिले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिइरहेका छन् । तर यसबारे सम्बन्धित सरोकारवालाहरुले भवन निर्माण, माटोको परिक्षण लगायत सुरक्षा र निर्माण एवं सतर्कताका विषयमा बेखबर जस्तै छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर २०८० कार्तिकमा गएको ६.४ रेक्टरको भूकम्पले १५७ जनाको ज्यान गयो भने ठुलो मात्रामा जनधनको क्षति पु¥यायो । यसका आला घाउहरु कायमै छन् । हजारौँ मानिसहरु अहिले पनि पालमा तपतप पानीमुनि रात काटिरहेका छन् । पछिल्ला तथ्याङ्कहरु हेर्दा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन् ।
सन् २०१५ अर्थात् २०७२ बैशाखमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टरको भूकम्प गएको थियो । जसमा नौ हजारभन्दा बढीको ज्यान गएको थियो । २०८० मा बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण एकको मृत्यु भयो भने १२ जना घाइते भएका थिए । गोरखादेखि पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको भूकम्प विदहरुको दावी रहेको छ । विगत आठ सय वर्षमा ५० वटा ठूला भूकम्पहरु गएका छन्  । एक तथ्यांक अनुसार संबत् १२१८ को भुकम्पमा परेर त नेपालका राजा अभय मल्लको पनि ज्यान गएको थियो । उक्त महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त पारेको ठानिन्छ ।
मझौला भूकम्पले जोखिम कम गर्ला ?
सामान्यतया नेपालमा गइरहने भूकम्प १५०५ यता ठुलो परिमाणमा नगएकोले पनि जमिनमूनि सिंचित शक्ति अध्याधिक छ । उक्त शक्तिले जतिबेला पनि विस्फोटको रुप लिने सम्भावना छ ।  भूगर्भविद् प्रा. डा. विशालनाथ उप्रेती उक्त क्षेत्रमा सञ्चय भएको भूकम्पीय शक्तिले विक्रम सम्वत् १९९० मा नेपालमा गएको महाभूकम्प भन्दा शक्तिशाली भूकम्पको जोखिम रहेको ठान्छन् ।
विक्रम सम्वत् १९९० को भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको चैनपुरमा थियो । त्यसले काठमाण्डौदेखि भारतको बिहारसम्म ठूलो क्षति भएको थियो । भूगर्भविद्का अनुसार एक रेक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पार्ने गर्दछ । त्यसको अर्थ पाँच रेक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ, ६ रेक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ । त्यही हिसाबले पाँचसँग तुलना गर्दा ७ रेक्टरका लागि १ हजार गुणा बढी शक्ति चाहिन्छ ।
भू–गर्भविद् प्रा. डा. विशालनाथ उप्रेतीका अनुसार सन् १५०५ को भूकम्प कत्रो हो भनेर जाँच्ने उपकरण नभएपनि भुइँचालो गइसकेपछि चुरेको फेदमा सरेको चिरा हेर्दा २० मिटरसम्म जमिन सरेको थियो । त्यसलाई विश्लेषण गर्दा त्यतिबेला ८.५ देखि ८.७ रेक्टरको भूकम्प गएको अनुमान गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अधिकारी पनि मझौला वा साना खालका भूकम्पले ठूलो भूकम्पको जोखिमलाई कम नगर्ने बताउँछन् ।
उप्रेती पश्चिम नेपालबाहेक पूर्वी नेपालमा पनि ठूलो भूकम्पको जोखिम रहेको उल्लेख गर्दै पूर्वतयारीमा जोड दिनुपर्ने बताउँछन् ।
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
नेपालमा भूकम्पकीय श्रृङ्खला
१२१८ को भूकम्प
वि.सं. १२१८ असारमा करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।
१३१६ को भूकम्प
  रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पु¥याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१४६५ को भूकम्प
करीब १४९ वर्षपछि वि.सं. १४६५ मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए ।
१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो उल्लेखित भूकम्पको क्षति विवरणको एकिन् तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।
विसं १८९० को महाभूकम्प
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । उक्त भूकम्पको घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गएका थिए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आएको थियो ।
१९९० को भूकम्प
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पा¥यो । उक्त भूकम्पमा परि तीन हजार ८ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
मिति विवरण नखुलेको सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।
२०४५ को भूकम्प
हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियोे ।
२०६८ को भूकम्प
यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दु गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।
२०७२ को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार गएको ७.८ रेक्टरको भूकम्पमा परी ९ हजार बढीको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परि धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।
कोशीपूर्व सिक्किम–दार्जिलिङसम्म १ हजार ३ सय वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन । हिमालय क्षेत्रमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरनाक हुन्छ ।
यसरी पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर सन् १२५५ मा ८ रेक्टर भन्दा बढीको भूकम्प गएको बताइन्छ । आठ वा त्योभन्दा ठूलो रेक्टर स्केलको भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । आठ वा त्योभन्दा बढी रेक्टरको भूकम्पले केन्द्रबिन्दु वरपरका क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त गरिदिने सामर्थ्य राख्ने बताइन्छ । यसरी भूकम्पीय उच्च जोखिममा रहेको हाम्रो देशका निजी तथा सार्वजनिक भौतिक संरचनाहरु पूर्णतया भूकम्प प्रतिरोधि बनाउन जरुरी छ । भूकम्प सम्बन्धि पूर्व सचेतनाका अभियानहरुलाई जोडतोडले अगाडि बढाउनुपर्छ । खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको तालिम र भूकम्पसँग सम्बन्धित पूर्वचेतावनी प्रणालीमा सरकारले लगानी बढाउनुपर्ने सरोकारवालाहरुको मत छ ।
भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । तर पछिल्ला वर्षहरूमा भूकम्पको पूर्वचेतावनी प्रणालीले उक्त विपद्बाट मानिसहरूलाई जोगाउन सघाइरहेका छन् । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसका अनुसार शेकएलर्टजस्ता पूर्वचेतावनी प्रणालीले पृथ्वीको सतहमुनि कम्पनको तरङ्ग देखा पर्नासाथ तत्काल चेतावनी जारी गर्न सक्छन् । भूकम्पको समयमा एकदमै द्रुत गतिको पी (ए) तरङ्ग सुरुमा देखिने र त्यसपछि अलिक कम गतिको एस तरङ्ग उत्पन्न हुने बताइन्छ। त्यसपछि जमिनको सतहमा तरङ्गहरू आइपुग्छन् ।
सन्दर्भ सामाग्रीः
बिबिसी नेपाली सेवा
विकिपेडिया
भूकम्पविद््सँग विभिन्न समयमा लिइएका प्रतिक्रियाहरु । प्राणमञ्च मासिकबाट……………….

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation