आँखामा कौतुहलता बोक्छन्
कमिजको खल्तीमा सपना बोक्छन्
झोलामा भविष्य बोक्छन्
टिफिन बट्टामा भोक बोक्छन्
र विद्यालय छिर्छन्
विद्यालयमा केटाकेटीहरु
अंकहरुको गणित सिक्छन्
अक्षरहरुको चाङ मिलाउँछन्
निर्देशित हरफहरु कण्ठ पार्छन्
सुक्ष्मदर्शक यन्त्रले प्याजका पारदर्शी झिल्लि हेर्छन्
तर किन केटाकेटीलाई
जीन्दगीको गणित मिलाउन हम्मे हम्मे पर्छ ?
किन मान्छेको हृदय पढ्न तिनलाई सकस छ ?
किन तिनिहरु विस्मृतिमा डुब्छन् ?
र किन लेख्न सक्दैनन् ?
आफ्नै सफल आत्मकथा ?
हाम्रा विद्यालयभित्र
राज्य केटाकेटीहरुको लगाम खिच्छ
र एकहोरो हिडाउँछ
तिनिहरुको हृदयमा स्पात कस्छ
राज्य केटाकेटीहरुलाई कमसल ट्यागवाला
उत्पादन बनाउँछ
जसको कुनै बजार छैन
विद्यालयमा
एउटा पट्यार लाग्दो दशक बिताएपछि
केटाकेटीहरु हलुका कागजको सर्टिफिकेट बोकेर निस्कन्छन्
र लगेर स्योकेशमा सजाउँछन्
जसलाई नियालेर तिनको कपाल फुल्दै जान्छ
तर जीन्दगी कहिल्यै फुल्दैन
जसलाई घोकेर आवाजहरु असफलताको कर्कश ध्वनि निकाल्छन्
विद्यालय बाहिर
मोजाका डल्लाहरुको भकुण्डो खेल्दै
जब केटाकेटीहरु लामो समय चौरमा दौडन्छन्
तिनीहरुको अनुहारमा घाम टाँगिएको देख्न सकिन्छ
जब पत्थरका ढ्याक एक आपसमा ठोक्काउँदै
बगरतिर खेल्न निस्कन्छन्
तिनीहरुको आत्मविश्वास जब्बर हुन्छ
जब काँसघारीमा आँखा छोपेर लुकामारी बोल्छन्
तिनीहरुको मन उज्यालो हुन्छ
जब ती ढिकीच्याँउमा आफ्ना वजन जोख्छन्
प्रफुल्लताले ति फूल जस्तै हलुका हुन्छन्
र एक अर्कालाई सजिलै उचालिरहन्छन् पालैपालो
वास्तवमै
विद्यालय बाहिर नै तिनीहरु
चरा जस्तै आफ्नो उडान भर्छन्
खोलाको उन्माद बटुल्छन्
हावाको वेग पक्रन्छन्
उज्यालोको गीत गाउँछन्
जीवनको लय झिक्छन्
साँच्चै
हामी किन विद्यालयबाहिर विद्यालय बनाउँदैनौं ?