पुराना दलहरुले निकास दिएनन्, नयाँ शक्ति देशकाे लागि झनै खतरनाक छन्: माेहनविक्रम

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री माेहनविक्रम सिंहले पुराना संसदवादी दलहरुले लामाे समयदेखि मुलकमा विद्यमान समस्याकाे कुनै निकास दिन नसक्दा नयाँ प्रतिक्रियावादी शक्तिहरुकाे चलखेल बढेकाे बताएका छन् ।

समसामयिक विषयमा विमर्श गर्ने उदेश्यले शनिबार घाेराहीमा नेकपा मसाल दाङद्वारा आयाेजित पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले सञ्चारकर्मीबीच बाेल्दै साे कुरा बताएका हुन् ।

सिंहले रबि लामिछाने र राजावादीहरुतर्फ इंगित गर्दै मुलुकमा प्रतिगामी शक्तिहरु धर्म र विकासकाे नाममा नेपाली समाजलाई विखण्डनको सिकार बनाउने उदेश्यबाट साम्राज्यवादी शक्तिहरुले ठुलाे घुसपैठ गरिरहेकाे बताए । उनले संघीयता विदेशीकाे डिजाइनमा नेपाली जनतालाई जबर्जस्त थाेपरिएकाले अहिलेकाे कचिंगलकाे मुख्य विषय पनि संघीयता नै भएको बताए । देशमा संघीयता आवश्यक नभएको सबैलाई महसुस भएपनि उनीहरू खुलेर बाेल्न नसक्नु निकै दुखद भएको माेहनविक्रमले बताए ।

सञ्चार जगतले देशमा लामाे कालखण्डमा चलेका आन्दोलनमा अतुलनीय याेगदान पुर्‍याएकाे बताउँदै सिंहले देशमा व्यापक रुपमा भ्रष्टाचार माैलाएकाे, राष्ट्रियता र स्वाधीनतामा आँच आएकाे, कालाेबजारी, दण्डहीनता तथा सामाजिक अराजकता फैलिएकोले आफ्नाे पार्टी राष्ट्रियता, जननजिविका र स्वाधीनताकाे पक्षमा निरन्तर लडिरहेकाे स्मरण गराए ।

राष्ट्रियता, जनजिविका र भ्रष्टाचारको विषयमा लगातार संघर्ष गर्दा पनि जनताले साथ नदिनु दुखद भएको माेहनविक्रमकाे निश्कर्ष छ । उनले नेपाली जनताले लामाे समयदेखि कम्युनिस्ट क्रान्तिकारीहरुलाई उल्लेख्य रुपमा साथ दिएकाे, संगठित भएको र कठिन संघर्षमा हाेमिएर ठुलाे त्याग तपस्या र बलिदान गरेकाे इतिहासलाई बिर्सन नहुने बताए । राजनीति भ्रष्ट हुँदा जनतामा पनि अराजकता र अवसरवाद हावी भएको माेहनबिक्रमले बताए ।

महामन्त्री सिंहले दलहरुकाे गैरजिम्मेवारी र भ्रष्ट कार्यशैलीले जनतामा ठुलाे निराशा छाएकाे बताउँदै आफूहरु जनतामा सही विचारकाे प्रवाह गर्न पार्टीको सबै पंक्ति लागिरहेकाेले संघीयता खारेजी, देशकाे राष्ट्रिय स्वाधीनता र जनजीविका सवालमा गरिएको संघर्षमा संचारजगतसहित सबैले साथ दिन जरुरी रहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप रेग्मी, शरद प्रसाद अधिकारी, पदम प्रसाद पाख्रेल लगायतले पार्टीको समसामयिक कार्यक्रम तथा आगामी कार्यभारका विषयमा जिज्ञासा राखेका थिए । पत्रकार सम्मेलनमा सहभागी भएर जिज्ञासा राख्ने सबैलाई धन्यवाद दिँदै महामन्त्री माेहनबिक्रम सिंहले पालैपालाे जवाफ दिएका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमाेर्चा दाङ जिल्लाका अध्यक्ष गणेश आचार्य तथा दाङ जिल्लामा क्रियाशील विभिन्न तह र तप्काका नेता/कार्यकर्ताहरुकाे पनि उपस्थिति रहेकाे थियो । भेटघाट कार्यक्रमकाे सहजीकरण राष्ट्रिय जनमाेर्चा दाङका उपाध्यक्ष महेश रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation