यसकारण बढेको छ पठन संस्कृतिको महत्व

शेक्सपियर चर्चित भएको उनले गरेको गहिरो अध्ययन र लेखनले हो । हिजोआज पनि उनले लेखेका सयौँ पुस्तक पढ्ने लाखौँ पाठक छन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर धेरैले संसार जितेका छन् । प्राचीन दार्शनिक प्लेटो हुन वा आर्थिक सम्पन्नताका हिसाबले अहिलेका विल गेटस नै किन नहुन् । पुस्तककै अध्यनबाट त्यस ठाउँसम्म पुग्न सफल भएका हुन् । मानिस सधैं अध्ययनको भोको हुन्छ÷हुनुपर्छ । नयाँ–नयाँ विषयवस्तुबारे जानकारी पाइने मात्र होइन, अध्ययनले मानिसको जीवनशैली नै पनि परिवर्तन हुन सक्छ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका असीमित विकासले त झन् हरेक मानिसका लागि अध्ययनको क्षेत्र फराकिलो बनाइएको छ । विद्यार्थी र जुनकुनै क्षेत्रमा आबद्ध व्यक्तिसमेत अहिले विस्तारै अध्ययनप्रति आकर्षित हुन थालेका छन् । सामाजिक तथा सांस्कृतिक परिवेश, जीवनशैली र मानवीय विचार जान्न र बुझ्न पनि हरेक मानिस अध्ययनलाई जीवनको अभिन्न अगं बनाउन चाहन्छन् । अध्ययनबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त गर्न सकिन्छ । ज्ञानका विभिन्न पक्षहरु हुन्छन् ।

पुस्तकले समाजको संस्कृति, सभ्यता र व्यवहारको जानकारी दिन्छ । साहित्यक कृतिले मानव जीवनको यथार्थ बुझ्न सहयोग गर्छ । संसारको हरेक क्षेत्रमा रहेका मानिसहरुबारे जानकारी लिन पनि अध्ययनले सहयोग पु¥याउँछ ।

बौद्धिकताको पहिलो खुराक भनेको पुस्तक नै हो र पुस्तकको पहिलो प्रक्रिया पढाइ हो । यसर्थ पढ्न पाउनु सबैको अधिकार हो । के पढने, कस्तो पढने भन्ने कुरा पनि जान्नु सबैका लागि उत्तिकै आवश्यक छ । पुस्तक पढनु, नदीमा नुहाउनु जस्तै हो भन्ने ग्रिक दार्शनिक हेराक्लिटसको भनाईले मानव जीवनमा अध्ययनको महत्वलाई प्रष्ट पारेको छ । नदीमा हरेक दिन नुहाउँदा नयाँ स्फुर्ती मिले जस्तै पुस्तक अध्ययनले पनि नयाँ स्फुर्ती र ज्ञान दिन्छ । मानिसका लागि पुस्तक जीवनपर्यन्त उत्तिकै महत्वपूर्ण छ । जीवन रहुन्जेल पुस्तकले बाँच्ने कला सिकाउँछ । पुस्तक मानिसको सबैभन्दा नजिकको साथी हो । नयाँ पुस्तक पढ्नु भनेको नयाँ साथी बनाउनु जस्तै हो, त्यस्तो साथीसँग सम्बन्ध कहिले बिग्रँदैन । पुस्तक पढ्ने बानीले विश्वका विभिन्न कला सँस्कृती तथा मानव इतिहासका बारेमा सबैलाई जानकारी हुन्छ । पुस्तक पढ्दा सयौँ वर्ष अघिको पुस्तकले पाठकलाई त्यो समयसँग साक्षात्कार गराउँछ । अहिलेका पुस्तकले यो समयको नयाँ कुरा जानकारी गराउँछ । अंग्रेजीमा ‘बुक रिडिङ इज नट डाउनलोडिङ’ भन्ने भनाई छ ।

 

अर्थात पुस्तक अध्ययन डाउनलोड गरेर लिएको ज्ञान होइन, यसले मानिसलाई अन्तर आत्मादेखि नै जागृत गराउँछ । एउटै पुस्तक विभिन्न पटक पढ्दा प्रत्येक पटक नयाँ ज्ञान पाइन्छ । त्यसैले पढ्ने बानी जारी राख्नुपर्छ । सामान्यतया धेरै जनालाई पढ्ने काम गाह्रो नै लाग्छ तर नपढी सुखै छैन । पढेर नै मानिस सुशील, ज्ञानी र सभ्य बन्न सक्दछ । नपढ्नु वा पढ्ने आदतको विकास नगर्नु भनेको मानवीय जीवनलाई निष्क्रियतातिर धकेल्नु मात्रै हो । सबै मानिसले औपचारिक शिक्षा हासिल गरेका छन् र सबैले विद्यालय, कलेज र विश्वविद्यालयकै शिक्षा लिनु पर्दछ भन्ने आग्रह पनि होइन । अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन सक्दछन् । यति मात्र हो कि हामी जति मात्रामा अध्ययन गर्दछौ त्यति नै मात्रामा हाम्रो सोचाइ, दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तन देखा पर्दछ । थोरो भन्ने एक जना विद्वानले अध्ययनकै महत्वलाई पुष्टि गर्न भनेका थिए ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।’

अध्ययनले मानिसको भित्री आँखा खोल्दछ, उसलाई जीवन जीउने प्रेरणा दिन्छ र आशावादी बनेर आफ्नो कुनै आदर्श व्यक्तित्वको झै सकारात्मक विचार राख्न सिकाउँछ ।

हामी अध्ययन गर्नुपर्दछ भन्ने कुरालाई कहिल्यै गम्भीरतापूर्वक व्यवहारमा लागू गर्दैनौँ । हामी पढ्दा पनि हतारको साहित्य भनेर चिनिने पत्रपत्रिकाहरुका हेडलाइन पढेर छोडिदिन्छौँ । देशका सबै ठाउँमा पत्रपत्रिकाको पहँुच पुगेको छैन यो छुट्टै बहसको विषय बन्ला । तर पनि धेरै ठाउँमा सामुदायिक पुस्तकालयहरु छन् । ती पुस्तकालयबाट हामीले विज्ञान, कला, धर्म, दर्शन, इतिहास, साहित्य आदिका विविध पुस्तकहरु पढ्ने धेरैको बानी छैन । पढ्ने पनि बानी हो र नपढ्ने पनि बानी नै हो । हामीले आफूमा जस्तो बानी बसाल्यो त्यस्तै बानीको विकास हुन्छ । पुस्तक पढेपछि हाम्रो जीवनमा विभिन्न परिवर्तन आएका हुन सक्छन् । पाठकको मात्र होइन, लेखकको जीवनमा पनि कुनै न कुनै पुस्तकले प्रभाव पारेको हुन सक्छ । पढ्नु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरुको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढ्नु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढनु नै हो ।

पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पु¥याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस् पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढन त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढन मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढनको लागि समय छैन भनिराख्नु पर्दैन । एकैचोटी धेरै पढन खोज्दा पढन सकिँदैन । भर्खरै पढन सुरु गरिएको छ भने कुन कुन पुस्तक पढने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने ।

पुस्तक पढने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ । यसो गर्दा पढने तनाव हुँदैन । भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढदा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा १० पाना अरु बढाउन सकिन्छ । पढने उदेश्य आफैँले बनाउने हो । अरु कसैले भन्दैमा बानी बस्दैन ।

अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ । मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस् । जे हुन्छ राम्रैको लागि हुन्छ । पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्काे सुरु गर्नुस् । द ह्यापिनेस प्रोजेक्टका लेखक रविनले भनेका छन्, ‘जित्ने मान्छे कहिल्यै भाग्दैन । उ अघि बढ्छ ।’ पढ्दापढ्दै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढनुस् राम्रा राम्रा । अल्छी लाग्यो भनेर बीचैमा छाडने हो भने कहिल्यै पढिदैन । सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ । त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढदै गएपछि भने आफ्नो रुचि ठयाक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुनसक्छ भने कसैलाई गैरआख्यान । आफू जे पढदा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।

जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजान नछुटाउनुस् । यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढन सक्नुहुन्छ । कसैलाई पर्खिरहनुभएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ । सबैभन्दा ठूलो कुरा पढनका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महत्वको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ ।

हामी अधिकांश समय सामाजिक सञ्जाल र युट्युबमा बिताइरहेका हुन्छाँै । सामाजिक सञ्जाल र युट्युब चलाउने समय घटाइदिने हो भने पढ्नका लागि प्रयाप्त समय निकाल्न सकिन्छ ।

जसरी हामी कपडाका र अरु कामका लागि भनेर पैसाको जोहो गर्छाैं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ । पुस्तक मागेर हैन, आफैँ किनेर पढने बानी बसाल्नुपर्छ । जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ । त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ । धेरै जसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ । पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ । स्क्रिनमा पढनुभन्दा पुस्तकै हातमा लिएर पढ्नु कयौँ गुणा आनन्द हुन्छ । सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँडन नमिल्न सक्छ । त्यसको विकल्प स्वरुप अडियो बुकलाई लिन सकिन्छ । हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढन सहज हुन्छ ।

पठन संस्कृतिको विकास गर्न, साहित्यिक कार्यक्रमहरु, गोष्ठी, पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उपयोगी हुन्छन् । सचेत समाज निर्माण गर्न नपढी सुखै छैन । ज्ञान बिना समाज चल्दैन र ज्ञान आर्जन गर्न पढ्नैपर्छ । पठन संस्कृतिको विकास नभए सामाजिक चेतनाको स्तर नकारात्मक दिशातर्फ जान्छ । तसर्थ प्रविधिमार्फत हुने टुक्रे पठन भन्दा मुद्रित पुस्तकहरुबाट गहन अध्ययन गर्ने अवधारणालाई बलियो बनाउँदै लैजानुपर्दछ । संसारका साहित्यकार, वैज्ञानिक, अर्थशास्त्री, इतिहासकार, भूगर्भविद तथा जुनसुकै क्षेत्रका प्रख्यात व्यक्तिको जीवनीलाई हेर्ने हो भने उनीहरुले धेरै पुस्तक अध्ययन गरेको पाइन्छ । त्यस्ता व्यक्तिले जीवनको प्रारम्भिक अवस्थामा पुस्तकालयको सेवा सुविधा प्राप्त गरेको भेटिन्छ । जीवनको प्रारम्भिक उमेरमा नै पढने बानी बसाएको पाइन्छ । कसैलाई पुस्तक ज्ञान मात्र होइन, आनन्द लिने, खुसी हुने, मन बहलाउने उपाय हुनसक्छ भने कसैलाई पुस्तक ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ पनि हुनसक्छ । पुस्तक पढ्ने बानी भएका व्यक्तिले बसमा यात्रा गर्दा, विभिन्न कामको चापको बीचमा, पैदल यात्राबाट थाकेको अवस्थामा पनि ध्यानमग्न भएर गहिरिएर पढ्छ । पुस्तकमा लेखिएका अधिक पाठबाट सार खिची निचोड निकाल्न सक्छ । बानी नभएकालाई पुस्तक पढ्नका लागि विशेष समय छुट्याउनुपर्ने, लामो समय पढ्दा पनि मेसो नचल्ने हुनसक्छ । त्यसैले पनि समाजमा पुस्तक पढने, ज्ञान प्राप्त गर्ने, ज्ञानका विभिन्न पक्षमा बहस गर्ने अभियान सञ्चालनको आवश्यकता छ ।

समाजको परिवर्तन चाहने, समाजबाट अज्ञानता हटाउन चाहने, ज्ञानमा आधारित सचेत समाज निर्माण गर्न चाहनेले पठन संस्कृति स्थापित गर्ने प्रयास गर्नुपर्छ । यस्तो महत्वपूर्ण कार्यको जिम्मा विद्यालय तथा विश्वविद्यायलाई मात्र सुम्पेर सीमित गर्नु उपयुक्त हुँदैन । पठन संस्कृति निर्माणकार्य समाजका अगुवा, नेतृत्वमा रहेका व्यक्तित्वहरुको चासोको विषय हुनुपर्छ ।

व्यक्तिको आनिबानी निर्माणमा परिवार र समाजको प्रत्यक्ष प्रभाव हुन्छ । परिवार, समाज, परिवेशमा हुने कार्यमा सहभागी हुँदाहुँदै व्यक्तिको बानी निर्माण हुने हो । परिवारमा बाबु–आमा, ज्येष्ठ सदस्यले मात्र होइन, समाजका अग्रजहरुले गर्ने कार्य र बसाएका बानीहरुको प्रभाव हुर्कदै गरेका नयाँ पुस्तामा परिरहेको हुन्छ । आफूभन्दा बढी उमेरका व्यक्ति र पुस्ताले बसाएका बानी नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छ । घरपरिवारमा वा समुदायमा पुस्तक पढ्ने संस्कृति छ, पुस्तकालय छ र अग्रजहरुले पुस्तक पढ्छन् भने कलिला नानीमा पुस्तक पढने र पुस्तकबाट सिक्ने बानी बस्न सहज हुन्छ । हुन त पुस्तक किनेर पनि पढ्न सकिन्छ । पुस्तक किनेर मात्र पढ्दा निकै खर्चिलो हुनसक्छ । पुस्तकालयको सुविधा छ भने एउटै पुस्तकबाट धेरै व्यक्तिले पठनको लाभ लिन सक्छन् । पुस्तक किन्ने रकमको अभाव भएकाले पनि पुस्तकालयमा पुस्तक पढ्न सक्छन् । पुस्तकालय निर्माणले समाजका धेरै व्यक्तिलाई पुस्तकको सेवा पु¥याउन सकिन्छ । पुस्तकालयको राम्रो व्यवस्थापन गर्न सकेमा वातावरणले नै पढौँ पढौँ लाग्ने अवस्था सिर्जना हुनसक्छ । पुस्तकालयले असल सामाजिक र सांस्कृतिक वातावरण निर्माणमा सहयोग गर्न सक्छ ।

पुस्तकालयलाई एक आपसमा भेटघाट गर्ने, सामाजिक सम्बन्ध बलियो पार्ने र विभिन्न विषयमा सार्वजनिक बहस गर्ने स्थानसमेत बनाउन सकिन्छ । पुस्तकालयले पत्रपत्रिका र अन्य सामाजिक अभिलेखको संरक्षण गर्न सक्छ ।

पुस्तक नभएको कोठा आत्मविहीन शरीरजस्तै हो । सभ्यताको इतिहासमा मानिसले आविष्कार गरेका असख्य अमूल्य वस्तुमध्ये सबैभन्दा अनुपम आविष्कार हो पुस्तक । चराचर जगतका असख्य प्राणीमध्ये मानिसको विशिष्टता उसको विचार र चिन्तनमा निहित छ । मानिसका त्यही विचार, चिन्तनशीलता र कल्पनशीलताको संग्रह गर्ने वस्तु पुस्तकले मानिसलाई पृथ्वीको सभ्य र सुसंस्कृत प्राणी बनाउन अतुलनीय भूमिका खेलेको छ । त्यसकारण मानिसको संस्कृति पुस्तकसँगसँगै हुर्किँदै आएको छ ।
संसारमा त्यो समाज अघि बढेको देखिन्छ जुन समाजमा पुस्तक अध्ययन संस्कृति जीवन्त छ । पुस्तक लेखन, पठन, बहस, विमर्श चलेको समाज आफू हिँडने अगाडिको बाटोमा प्रष्ट हुने गरेको छ । शाब्दिक अर्थमा पुस्तक निर्जीव भौतिक वस्तु भए पनि त्यसले समाज र सिगो संसारलाई जीवन दिन अहम भूमिका खेलिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation