प्युठानको दम्ती सबस्टेसन संचालन, विद्युत् आपूर्तिमा सुधार हुने

१४ कार्तिक, प्युठान

प्युठानको दम्तीमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन बुधबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।

दासका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत जिल्लामा विद्युत् आपूर्ति गरिने छ । यसबाट करिब ३२ हजार जनता लाभान्वित हुने उनले बताए । उनले भने,‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ ।’

प्राधिकरण र श्री त्रिपुरेश्वर जय दुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६८२ रुपियाँमा २०७४ जेठ १७ गते सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर, ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेपछि सबस्टेशनको काम अलपत्र परेको थियो।

प्राधिकरणले निर्माण कम्पनीसँग सम्झौता तोडेर काम अघि बढाएपछि सबस्टेसन सञ्चालनमा आएको हो। ३३ केविए प्रशारण लाईनलाई ११ केभिमार्फत वितरण गर्न सव–स्टेशनको भुमिका हुन्छ । सव–स्टेशन संचालनमा आएसंगै विद्युत वितरण र विद्युतिय जोखिमले हुने क्षति न्यूनिकरण गर्न मद्दत पुग्ने केन्द्रले जनाएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी–१ को स्याउलीबाङ, गौमुखी–३ खराबाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउदो पुस महिनाभित्रमा सबै घरमा विद्युत् पुग्ने प्राधिकरणले बताएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation