नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघा जग्गामा सामूहिक खेती सुरु गरेको छ ।
बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ ।
सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा बिहीबार पार्टीका रुपन्देही इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले श्रमदान गर्दै आलु रोपेका छन् ।
आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यअनुसार कृषि उत्पादनमा संलग्न भएको इन्चार्ज वसन्त सीले बताए ।
नेपाल कृषिप्रधान मुलुक भनिएपनि जग्गा बाँझो रहने तर वर्षेनी अर्बौंको कृषि उपज विदेशबाट आयात भइरहेकाले कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेती अघि बढाएको उनको भनाइ छ ।
बुटवलको मोतीपुर, सैनामैनाको बक्सर र छपियामा बाँझो तथा उपयोगहीन जग्गा धनीको सहमतिमा र विद्यालयका जग्गा भाडामा लिएर खेती गरिएको उनले जानकारी दिए ।
पार्टीले उत्पादन गर्ने कृषि उपजहरु पार्टीकै नेता कार्यकर्तालाई सहुलियत दरमा बिक्री गर्ने र पार्टीकै कार्यक्रमहरुमा खपत गरिने इन्चार्ज वसन्तले बताए ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा श्रम संस्कृति हराउंदै गएको अवस्थामा नेकपाले श्रम संस्कृतिलाई देशव्यापी अभियान बनाएको उनले बताए । उत्पादन अभियानमा मानवीय श्रमसँगै मेसिन पनि प्रयोग गरिएको छ ।
रुपन्देहीका विभिन्न स्थानीय तहमा जिल्ला कमिटीले ६ बिघा जग्गामा आलु, तोरी, तरकारी, अरु नगदेबालीको खेती माछापालन गरेको छ ।
रुपन्देहीमा १५ क्वीन्टल आलुको बिउ रोपिएको र देशभर १२० क्वीन्टल बिउ रोपिने रुन्देही सेक्रेटरी वीरेन्द्र सीले बताए ।
रुपन्देहीका १० वटा स्थानीय तहमा पालिका कमिटीले कम्तीमा ५ कठ्ठामा अनिवार्य कृषि उत्पादन गर्नुपर्ने नियम लागु गरेको उनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपा र तिनका भातृ संगठनहरु सधैं चन्दा मागेर चलेको भन्ने भाष्यलाई उत्पादन अभियानले गलत सावित गर्न खोजेको उनको भनाइ छ ।
‘आवश्यक पर्दा स्वेच्छिक रुपमा चन्दा वा अरु सहयोग लिने कुरा त स्वभाविक भयो, तर अब विस्तारै पार्टीलाई आत्मनिर्भर र चन्दामुक्त बनाउनुपर्छ भनेर पार्टीका महासचिव विप्लव स्वयं हरेक दिन ४–५ घण्टा श्रम गर्नुुहुन्छ, त्यसले सिंगो पार्टीपंक्ति उत्साहित भएको छ, आम नागरिकमा पार्टीप्रति सकारात्मक धारणा बनेको छ’, सेक्रेटरी वीरेन्द्रले भने ।
नेकपाले रुपन्देहीसहित देशका विभिन्न जिल्लामा करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ भने केही ठाउँमा उद्योग पनि चलाएको छ ।
पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन भइरहेको छ ।
नेकपाले जुम्ला, कालीकोट लगायतका हिमाली जिल्लामा तीन वर्षमा १० हजार स्याउ रोप्ने अभियान पनि सुरु गरी हालसम्म एक हजार स्याउका बिरुवा रोपिसकेको छ ।