विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

८ मंसिर, दोधारा

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु. ३०/३० हजारसहित सम्मान गरेको हो।

त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु. ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु. ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरे। खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरूको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए।

‘प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ’, उनले भने, ‘हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरूले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ।’ जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए।

‘खेलाडीहरूको विकासका लागि क्रिकेट संघले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ’, अध्यक्ष चन्दले भने, ‘कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्।’

उनले खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने बताए। ‘यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन, स्थानीय कभर्ड हलमा प्रतियोगिता गराउनुपर्छ’, उनले भने, ‘तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ।’

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भूपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताए।

गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्षमुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। सन् २०२५ को जनवरीमा मलेशियामा हुने १९ वर्षमुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2024 Pranmancha All right reserved Site By : Himal Creation