लेनिन र आजकाे समय!

लेनिन कुनै व्यक्तिलाई चिनाउने एउटा संकेत मात्र होइन । बरु सिंगै विचारको प्रतीक हो । लेनिन माक्र्सवादको रक्षा, प्रयोग र विकासको अर्को नाम हो । यो अक्टुबर क्रान्तिको पर्यायवाची नाम हो, जसको अगुवाईमा पहिलोपटक शोषणले भरिएको दुनियाँमा वर्गसमाजको उदयको लगभग चार हजार वर्षपछाडि रुसी समाजमा श्रमजीवी, शोषित–पीडित जनताको विजयको झण्डा गाडिएको थियो । तसर्थ लेनिन क्रान्तिप्रतिएकनिष्ठताको नाम हो ।
लेनिनको जन्म रसियाको सिम्बीस्र्क(पछि उल्यानोव्स्क) नगरमा २२ अप्रिल १८७०मा भएको थियो भने उनको मृत्यु रसियन समाजवादी सत्ताको पर्याप्त अगुवाई गर्न नपाउँदै २१ जनवरी १९२४मा भएको थियो ।गरिबी र अभावहरुकै बिचबाट लेनिनका पिता इल्या निकोलायेभिचले उच्च शिक्षा प्राप्त गरेर सिम्बीस्र्क गुबेर्निया(क्षेत्रीय प्रशासनिक एकाई)को निर्देशकसम्म बन्न सफल हुनुभएको थियो । त्यसैगरी लेनिनकी आमा मरीया अलेक्सान्द्रोभ्ना आफ्ना बालबच्चाहरुको लालनपालन र शिक्षादिक्षामा समर्पित असल महिला हुनुहुन्थ्यो ।शिक्षित र सुसंस्कृत आमा–बाबुसँगको सान्निध्यता लेनिनको क्रान्तिकारी व्यक्तित्व निर्माणको गतिलो आधार बन्यो । जसले बचनपनदेखि नै साहित्य अध्ययन र चिन्तनप्रति लालायित बनायो । त्यसमाथि लेनिनका दाजु अलेक्सान्द्रको जारविरुद्धको संघर्षमा १८८७ मे महिनामा भएको क्रान्तिकारी बलिदानले उहाँलाई एकनिष्ठ भएर जार शासनको विरुद्धमा क्रान्तिको बाटोमा अगाडि बढ्नलाई आगोमा घिउ थप्ने काम ग¥यो ।
तौरतरिकाको हिसाबले सुुुरुदेखि नै आफ्ना दाजुले अंगिकार गरेको नरोदनिकहरुको बाटोसँग उहाँ असहमत हुनुहुन्थ्यो, जसले क्रान्तिका लागि व्यक्तिहत्याको बाटो रोजेको थियो । तर क्रान्तिकारी आदर्श र व्यक्तित्वका हिसाबले उहाँ आफ्नो दाजुबाट निकै प्रभावित हुनुहुन्थ्यो ।उहाँ भन्नुहुन्थ्यो–अमुक परिस्थिति सृजना हुँदा म त्यही गर्नेछु जुन मेरो दाजुले गर्नुहुन्थ्यो ।

क्रान्तिकारी एकनिष्ठता र विचारधारात्मक संघर्षः अक्टुबर क्रान्तिको बिज

धैर्यता, कहिल्यै नथाक्ने संघर्षशीलता र उदेश्यप्रतिको एकनिष्ठताको जल्दाबल्दो दृष्टान्तको दृष्टान्त हो लेनिन ।उहाँ कहिल्यै पनि भावनामा बहकिएर निर्णय लिने ठाउँमा पुग्नुभएन । पूँजीपति वर्गको तख्ता पल्टाउने सर्वहारा वर्गको अग्रदस्ता पार्टी निर्माण गर्ने दौरानमा माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो । माक्र्सवादी दर्शनको उज्यालोमा रसियन समाजको अध्ययन गर्नुभयो । त्यसका आधारमा ती सबै गैह्रमाक्र्सवादी, अवसरवादी, अर्थवादी चिन्तनधाराहरुसँग कुनै मोह नराखी संघर्ष गर्नुभयो जो क्रान्तिको बाटोमा बाधक थिए । क्रान्तिकारी पार्टी निर्माणका विस वर्षहरु लेनिनका लागि अकर्मण्य किताबी अध्ययन र बुद्धिविलाशका वर्षहरु नभएर कारावास, अध्ययन, निर्वासन, प्रयोग र संघर्षले भरिएका वर्षहरु थिए । ती वर्षहरुमा गरेका संघर्ष, प्राप्त ज्ञान र अनुभव नै लेनिनले परिकल्पना गरेको नयाँ ढंगको कम्युनिष्ट पार्टी र अक्टुबर क्रान्तिका जग र मूल खम्बाहरु थिए ।
लेनिनको जीवनको एकनिष्ठता र माक्र्सवादी विचारको रक्षाका लागि लागि गरेको संघर्षभित्रै अक्टुबर क्रान्तिका बिजहरु हुर्किन थालिसकेका थिए । उहाँले कुनै पनि बिन्दुमा एकता कायम गरिराख्ने मोहमा फसेर विचारधारात्मक संघर्षलाई कम्जोर बनाएको भए न माक्र्सवादी दर्शन रसियन भूमीमा समाजवाद बनेर उदाउन सक्थ्यो, न त्यसले विकास गर्नेथियो, न त लेनिन सर्वहारा वर्ग र अक्टुबर क्रान्तिका अगुवा बन्न सक्नुहुन्थ्यो । यस अर्थमा पनिसंशोधनवादी, अवसरवादी, अर्थवादी र अन्धराष्ट्रवादी प्रदूषित हावा बेजोडले बगिरहेको आजको समयमा लेनिनवादहाम्रा लागि धु्रव ताराझैं दिशासूचकबनिरहेको छ।
लेनिनको पहिलो संघर्ष नरोदवादी(रुसी भाषामा नरोदको अर्थ जनता)हरुसँग भयो । नरोदवादीहरुले रुसमा पूँजीवादको विकासलाई स्विकार्दैनथे र उनीहरु व्यक्तिहत्यामा विश्वास गर्थे ।उनीहरुको यस्तो मत थियो कि रुसमा पूंजीवादको विकास हुँदैन । उनीहरु क्रान्तिमा मजदूरहरुको भूमीकामाथि विश्वास गर्दैनथे ।किसानलाई नै क्रान्तिकारी शक्ति मान्थे । साथै किसानहरुलाई तानाशाहहरुमाथि कारबाहीका लागि उक्साउथे । जसका लागि बुद्धिजीवीहरु गाउँमा, जनताको बिच जाने गर्थे । तर किसानहरुलाई नरोद्निकहरुप्रति भरोसा थिएन । नरोद्निकहरुले आतंकवादलाई निकै महत्व दिन्थे । उनीहरुलाई यो कुराको अपेक्षा थियो कि जारशाहीका केहि उच्च अधिकारीहरुको हत्या गरिसकेपछि त्यसको दम तोड्न सकिन्छ र नीतिहरु बदल्नका लागि बाध्य पार्न सकिन्छ भन्ने कुराको भ्रम थियो । यसले उनीहरुको शक्तिमाथि ठूलो क्षति पु¥यायो । जार शासनको दमनपश्चात उनीहरु क्रान्तिकारी संघर्षबाट अलग भए र आत्मसमर्पण गर्नपुगे ।

लेनिनले नरोदवादीहरुका सैद्धान्तिक त्रुटीहरु र अन्तर्विरोधहरुलाई स्पष्ट पार्नुभयो । साथै माक्र्स–एंगेल्सका कृतिहरुको अध्ययन र प्रचारका लागि सर्वप्रथमसन् १८९२मा समारामामाक्र्सवादी अध्ययन मण्डलको पनि गठन गर्नुभयो ।
त्यसैगरि लेनिनले ती अर्थवादीहरुसँग संघर्ष गर्नुप¥यो जसले सर्वहारा वर्गको पार्टीलाई इन्कार गर्थे । मजदूरहरुले केबल आर्थिक सुधारका लागि चलाइने दैनिक संघर्षहरुमा सहभागि हुनुपर्छ भन्ने मान्यता राख्थे । राजनीतिक क्रान्ति उदार पूँजीपतिहरुको काम हो, मजदूरहरुको होइन भन्ने उनीहरुको मत थियो । यसले अन्ततः पूँजीपति वर्गको राजनीतिलाई नै बलियो बनाउथ्यो । यसको लेनिनले जोडदार रुपमा विरोध गर्नुभयो । त्यही संघर्षको फलस्वरुप लेनिनले १९०२मा आफ्नो प्रसिद्ध पुस्तक‘के गर्ने ?’ प्रकाशन गर्नुभयो । यही पुस्तक हो, जसले अर्थवादी चिन्तनलाई परास्त गर्नका लागि धेरै ठूलो भूमिका खेल्यो र एउटा नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माणमा पनि योगदान दियो ।
लेनिनको समयमा रुसमा अनेक खाले भड्काव र अवसरवादी चिन्तन बोकेका राजनीतिक शक्ति या समूहहरु विद्यमान थिए । माक्र्सवादको ‘आलोचना’ या त्यसलाई संशोधन गर्नुपर्ने कुरा एउटा फेशन जस्तै बनेको थियो । एकथरि थिए, जसले वैधानिक राजनीतिक गतिविधिहरुलाई ठाडै इन्कार गर्थे । केबल गैह्रकानूनी संघर्षमा मात्र जोड दिन्थे । ती वहिष्कारवादी भनेर चिनिन्थे । अर्काथरि थिए जसले केबल वैधानिक गतिविधिहरुमा मात्र आफूलाई सीमित गर्न खोज्थे । गैह्रकानूनी संगठन र संघर्षलाई बेवास्ता गर्थे । त्यस्ता संगठन र गतिविधिहरुको विसर्जनमा उनीहरुले जोड दिन्थे, त्यही भएर उनीहरुलाई विसर्जनवादी भनेर चिनिन थालियो । पार्टीभित्र मेन्शेभिकहरुले अवसरवादको प्रतिनिधित्व गर्थे ।ती दुबै प्रवृत्तिहरुसँग लेनिनले कठोर विचारधारात्मकसंघर्ष गर्नुभयो ।

विचारधारात्मक हिसाबले जहाँ गडबडी देखिन्छ, त्यहाँ निःसर्तसंघर्ष चलाउने र एक ढिक्का भएर वर्गदुश्मनसँग लड्ने सवालमा कसरी एकता कायम गर्ने भन्ने सवालमा लेनिन एउटा आदर्श प्रतिमूर्ति हुनुहुन्थ्यो ।

उहाँले विचारधारात्मक संघर्षको सवालमा आफूभन्दा अग्रज काउत्स्की होऊन् या नरोद्निकहरु, प्लेखानोभ होऊन् या साँस्कृतिक मोर्चाका अग्रदूत म्याक्सिम गोर्की, कसैसँग पनि उदारवादी रवैया अपनाउनुभएन ।
अन्ततः विचारधारात्मक एवं व्यवहारिक संघर्षहरुमा खारिंदै लेनिनले १९१२मा रसियाली कम्युनिष्ट पार्टीको स्थापना गर्नुयभो। यसरी हेर्दा लेनिनको जीवनको प्रारम्भिक काल या युवावस्था माक्र्सवादी दृष्टिकोण निर्माण, विचारधारात्मक संघर्ष, अवसरवादमाथिको विजय र कम्युनिष्ट पार्टी निर्माणका लागि समर्पित भएको थियो ।

अक्टुबर क्रान्तिका उपलब्धी र शिक्षाहरु

अक्टुबर क्रान्तिले दुनियालाई दिएको पहिलो संदेश थियो–दुनियाँमा शोषित–पीडित जनता र मानवताको एकमात्र विकल्प समाजवाद–साम्यवाद हो । माक्र्सकै भाषामा भन्नुपर्दा जसले स्वत्व हरण गर्नेहरुको स्वत्वहरण गरेर श्रमजीवी वर्गलाई नै राजनीतिक सत्ताको पहुँचमा पु¥याउँछ । त्यसैगरि दोस्रो संदेश हो–समाजवाद संभव छ, त्यो फगत कितावी र बौद्धिक विमर्शको विषय मात्र होइन । यसलाई सपनाको दुनियाबाट यथार्थको दुनियाँमा उतार्न संभव छ । विगतमा जतिपनि क्रान्तिहरु भए, तिनले एउटा शोषक वर्गका ठाउँमा अर्को नयाँ शोषक वर्गलाई शासकको ठाउँमा पु¥याए । तर समाजवादी क्रान्ति एउटा यस्तो क्रान्ति हो, जुन आधारभूत रुपमै यस मानेमा भिन्न हुन्छ कि यसले मुठ्ठीभर शोषक वर्गलाई उत्पादनका साधनहरुबाट च्यूत गरेर बहुसंख्यक श्रमजीवी वर्गका हातमा पु¥याउँछ ।
समाजवाद कस्तो हुन्छ भन्ने कुरा रुसमा क्रान्तिपछिका ३७ वर्षहरुले दुनियाको बिचमा साबित गरे । शिक्षा, स्वास्थ्य, उत्पादनका साधनहरु, बौद्धिक सम्पदा, साहित्य–कला, संस्कृति, विज्ञान र प्रविधि पहिलो पटक शोषक वर्गको शोषणको हतियारबाट जनताको सेवा गर्ने औजारमा परिणत भए । पूँजीवादले शताब्दीहरुमा हासील गर्न नसकेका उपलब्धी अक्टुबर सोभियत समाजवादका केहि दशकहरुले नै गरेर देखाइदिए ।विज्ञान–प्रविधिको क्षेत्रमा भएको विकास, लैंगिक समानता, सामुहिक संस्कृति, कला–साहित्यको विकास, जनताको विचमा अपार चेतनाको विकास, शिक्षा र वैज्ञानिक क्षेत्रमा भएका कामहरुले समाजवाद मानवताको पक्षमा छ भन्ने भन्ने कुरा दुनियाँसामु स्थापित गर्न सफल भयो । त्यस उपलब्धीबाट आतंकित भएर पूँजीवादी मुलूकहरुले समेत समाजवादका कैयन नीतिहरु अपनाउनुपर्ने अवस्था सृजना भयो । पूँजीवादी विचारको प्रतिनिधित्व गर्ने लेखक, बुद्धिजीवी र शासकहरु समेत समाजवादी व्यवस्थाका युगान्तकारी उपलब्धीहरु देखेर तिनको प्रशंसा गर्ने ठाउमा पुगे ।सबैका लागि समाजवाद एउटा अपरिहार्य शब्द बन्न पुग्यो ।
अक्टोबर क्रान्तिले हामीलाई सिकाएको एउटा महत्वपूर्ण पाठ भनेको श्रमजीवी, सर्वहारा जनताको लागि लड्ने आफ्नै पार्टी चाहिन्छ । त्यो संघर्षको राप–तापले खारिएको होस्, माक्र्सवादी विचाराधाराबाट सुुसज्जित होस्, फलामे अनुशासनसहितको एकढिक्का होस् र व्यापक जनताको बिचमा संगठित होस् । त्यसो त बनिबनाउ सत्ता हातमा लिएर मात्र हुँदैन त्यसलाई पूरै बिघटन गरेर मात्र सर्वहारा वर्गले आफ्नो राज्यसत्ता निर्माण गर्नसक्छ भन्ने कुराको निश्कर्ष विशेषगरी पेरिस कम्युनको अनुभवछाडि माक्र्सले निकालिसक्नुभएको थियो । थप त्यसलाई अझ स्थापित गर्ने काम लेनिनले गर्नुभयो । क्रान्तिका लागि क्रान्तिकारी विचार, अवसरवादविरुद्धको संघर्ष र सर्वहारा वर्गको आफ्नै पार्टीको आवश्यकतालाई लेनिनले निकै महत्वका साथ उठाउनुभयो ।
एउटा सर्वहारा वर्गको पार्टीले विचारधारात्मक प्रष्टता अकर्मण्य विमर्शको बिचबाट होइन निरन्तर संघर्षका बिचबाट नै हासिल गर्नसक्छ । माक्र्सवादप्रतिको गहिरो बुझाई, त्यसप्रतिको दृढता र संघर्ष; विचारधारात्मक एकरुपताको आधारमा संगठनात्मक एकता; जनवादी केन्द्रियताको जगमा सामुहिक नेतृत्वको विकास र क्रान्तिप्रति एकनिष्ठ कार्यकर्ताहरुको पंक्ति जस्ता कुरालाई छोडेर बन्ने पार्टी विचारमा अनेकताले भरिएको एउटा प्राविधिक गठजोड त हुनसक्छ तर क्रान्तिको औजार बन्न सक्दैन ।यसको एउटा दृष्टान्त लेनिनले अगुवाई गरेको रसियन कम्युनिष्ट पार्टी थियो । विचारधारात्मक संघर्षलाई तिलाञ्जली दिएर बन्ने पार्टी जतिसुकै ‘असल’ भएपनि अन्ततः बुर्जुवा वर्गको सेवकमा परिणत हुनपुग्छ ।

लेनिनले अगाडि सारेको प्रस्ताव अनुसार नयाँ ढंगको कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ ? त्योपार्टी केबल क्रान्तिको चाहनाद्वारा मात्र निर्देशित भएर हुँदैन, बलिदानी भावनाद्वारा ओतप्रोत भएर मात्र पनि हुँदैन ।त्यो विचार, संकल्प, क्रियाकलपाहरुको एकरुपता र अनुशासनको एकताद्वारा पनि बाँधिएको हुनुपर्छ ।

सर्वहारा वर्गको अग्रगामी तब्का हुनुको नाताले कम्युनिष्ट पार्टीको शक्ति त्यसको संख्याको दश गुणा बढि होस् । यो केबल काल्पनिक कुरा होइन । यदि दश जना व्यक्ति साँचो अर्थमा संगठित छन् भने त्यो संख्याबाट बन्ने संगठनको शक्ति दश गुणा अर्थात् सय जना बराबरको हुन संभव छ । यसको अर्थ हो संगठनले शक्तिलाई दशौं गुणा बृद्धि गरिदिन्छ । सर्वहारा वर्गको कुनै पनि पार्टी साँचो अर्थमा क्रान्तिकारी हुनसक्दैन, जुन अव्यवस्थित, गुटहरुमा विभाजित र छितरिएको छ । त्यसका लागि दृष्टिकोणहरु, वैचारिक रवैयाको एकरुपताको साथै क्रियाकलापहरुको एकरुपता या तालमेलको पनि निकै ठूलो जरुरत पर्छ । त्यस्तो एकरुपता त्यतिखेर संभव हुन्छ जब पार्टी सदस्यहरुको अधिकार मात्र होइन कर्तव्यहरु पनि सुनिश्चित छन् र उनीहरु अनुशासन तथा संगठनबद्धतालाई स्वीकार गर्छन् ।
अक्टुबर क्रान्तिको अर्को महत्वपूर्ण शिक्षा के हो भने क्रान्ति केहि मुठ्ठीभर विर, विरांगना र ब्यूँझिएका व्यक्तिहरुले गर्ने नभएर आम श्रमजीवी जनताले गर्दछन् । विचारधारात्मक र सांगठनिक हिसाबले अगुवाई गर्ने काम श्रमिक वर्गको पार्टीले गर्छ । त्यसका लागि जनतासँगको जिवन्त सम्पर्क, सम्बन्ध र राजनीतिकरणलाई लेनिनले निकै महत्वका साथ उठाउनुभएको छ । अन्ततः सही विचार र पार्टीले आफूलाई जिवित र पुनर्जिवित बनाइराख्ने भनेको जनताको बिचमा हो । सत्ता हातमा लिनुपूर्व होस् या लिइसकेपछि जनतासँग अलग–थलग भएर कुनै समाजवादी आन्दोलन सफल हुन सक्दैन भन्ने कुराका दृष्टान्तहरु दुनियाभरि छरिएर रहेका छन् ।
अक्टुबर क्रान्तिले दिएको अर्को महत्वपूर्ण शिक्षा भनेको वर्गसंघर्ष र सर्वहारा वर्गको अधिनायकत्वको शिक्षा हो । सर्वहारा वर्गको अधिनायकत्वको महत्वलाई विकृत बनाउँदै कैयौं लेनिनवाद विरोधीहरुले यसलाई व्यक्ति या पार्टी अधिनायकत्वको रुपमा संकुचित गर्ने काम गरेका छन् । सिद्धान्तको मनगढन्ते ब्याख्या गर्ने अनि त्यसलाई गलत भएको निश्कर्ष निकाल्ने तरिकाले उनीहरुलाई माक्र्सवादको आधारभूत मान्यतादेखि नै टाढा पु¥याउने काम गरेको छ । बुर्जुवा वर्गको अधिनायकत्वको ठाउँमा सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य छ । त्यो बिनाको समाजवाद केबल भ्रम र झूठको पुलिन्दा बाहेक अरु केहि हुँदैन ।
यस्तै हालत रुसमा भन्दा पहिले नै स्थापना भएका पश्चिमी यूरोपका मजदूर पार्टीहरुको थियो । ती पार्टीहरुले क्रान्तिकारी संघर्षको सिद्धान्तलाई वेवास्ता गर्थे र अवसरवादीहरुलाई पनि स्थान दिन्थे । विस्तारै ती पार्टीहरु अवसरवादीहरुकै हातमा पुगे । उनीहरुको मत थियो–सर्वहारा वर्गको अधिनायकत्वबिना पनि समाजवादको निर्माण संभव छ । जुन मान्यता आज नेपालमा पनि बलियो छ । इतिहासमा समाजवाद असफलताको कारण नै सर्वहारा वर्गको अधिनायकत्व भएकाले यसलाई परित्याग गर्नुपर्ने बुझाई रहेको छ । उत्पादनका साधनहरुबाट मुठ्ठीभर शोषक वर्गलाई च्यूत गरेर त्यसलाई बहुसंख्यक श्रमजीवी जनताको अधिनमा पु¥याउनु नै सर्वहारा वर्गको अधिनायकत्वको मर्म हो । सर्वहारा वर्गीय अधिनायकत्व अन्तर्गत चलाइने पुँजीवादी विचारधारालाई परास्त गर्ने सांस्कृतिक क्रान्तिले मात्र वर्गीय समाजको अस्तित्वलाई कम्जोर बनाउँदै साम्यवादको दिशातिर लैजान सक्छ । अन्यथा पूँजीवादको विकल्प समाजबाद कहिल्यै हुँदैन पूँजीवाद नै हुनजान्छ । सर्वहारा वर्गको अधिनायकत्वलाई नै समाजवादी व्यवस्थाको असफलताको कारण देख्नु अन्ततः पूँजीवादी विचारधारात्मक शिक्षण, प्रशिक्षण र भ्रमको शिकार बन्नु हो ।

प्रतिक्रान्ति, त्यसका कारण र पाठहरु

सोभियत समाजाद, प्रतिक्रान्ति तथा लेनिनवादलाई लिएर आज अनेकौं प्रश्न र निस्कर्षहरु छन् । ती प्रश्नहरु इतिहास र विचारको अन्त्यको कुरा गर्ने पूँजीवादी प्रवक्ताहरुदेखि लिएर तमाम खाले संशोधनवादी, अवसरवादी र क्रान्तिकारीहरुले पनि उठाउने गर्छन् । तर यी प्रश्नहरुभित्र निहित अभिष्ट र निश्कर्षहरु भने फरक हुने गर्छन् ।
जो पूँजीवादी चिन्तनधारा या संसोधनवादका अनेकौं रुपहरुबाट प्रभावित छन् उनीहरुलेयदि रुस र चिनका व्यवस्थाहरु समाजवादी नै थिए भने फेरि ती किन उल्टिए ? महान सर्वहारा सांस्कृतिक क्रान्तिहरुले पनि तिनलाई किन रोक्न सफल भएनन् ? यदि समाजवाद नै वर्गीय शोषण र तमामा खालका सामाजिक उत्पीडनहरुको अन्त्यको बाटो हो भने ती देशहरुमा शोषण–उत्पीडनको अन्त्य किन हुनसकेन ? सोभियात संघमा समाजवाद नै थिएन । यदि त्यो समाजवाद हुन्थ्यो भने असफल किन भयो ? प्रतिक्रान्ति किन भयो ? जस्ता प्रश्नहरु उठाउँदै उनीहरु ती क्रान्ति र व्यवस्थाहरुमाथि नै संदेह गर्ने ठाउँमा मात्र पुग्दैनन, बरु माक्र्सवाद–लेनिनवादमाथि नै प्रश्न उठाउने ठाउँमा पुग्छन् । सँगसँगै प्रतिक्रान्तिका घटनालाई लेनिनवादको असफलताको रुपमा चित्रित गर्ने गर्छन् । संगठनात्मक सिद्धान्तका नाममा नोकरशाही केन्द्रीयता लागू गरियो, समाजवादका नाउँमा पार्टीको अधिनायकत्व लागू भयो जस्ता निश्कर्षहरु पेश गर्छन् । माक्र्सवादलाई नै संशोधन गर्ने निश्कर्ष निकाल्छन् । नानाथरि पूँजीवादी विकृत सिद्धान्तहरुको शरणमा पुगेर माक्र्सवादी दर्शन र समाजवादमाथि धारे हात लगाउछन् । यी सवालहरुसँगै अब लेनिनवादी सिद्धान्तहरु काम नलाग्ने निस्कर्षहरु पनि पेश हुँदै छन् । यस्तो निस्कर्षले समाजवादी सत्ताका असफलताहरु पछाडिका बस्तुगत तथा आत्मगत कारणहरु खोतल्नुभन्दा पनि त्यसको समाधान माक्र्सवाद–लेनिनवादभन्दा बाहिर गएर खोज्न थाल्छ ।
यसभित्र एकातिर समाज विकासको माक्र्सवादी ब्याख्यालाई छोडेर गरिने मनोगत बुझाइहरुले काम गरेको देखिन्छ भने अर्कोतिर साम्राज्यवादले फैलाएका भ्रमका खेतीहरुले काम गरेका छन् यतिखेर यस्ता सवालहरुउत्तरआधुनिक विचारका अनुयायीहरु, संशोधनवादीहरु रनवमाक्र्सवादीहरुको खेतीका विषय बनेका छन् । जुन सुन्दा त आकर्षक तथा इमान्दार लाग्छन् तर तिनको अन्तर्यमा वितण्डायुक्त, विकृत, बिघटित र निराशावादी सारतत्वबाहेक अरु केहि भेट्न सकिन्न ।सैद्धान्तिक रुपमा अस्पष्ट क्रान्तिकारीहरु पनि यो या त्यो नाउँमा यस्ता अन्त्यहीन विमर्श, संदेह र गलत निश्कर्षहरुको सिकार बनेका देखिन्छन् ।
आजसम्मका कुनै पनि कम्युनिष्ट प्राधिकारहरुले समाजवादी व्यवस्थालाई अन्तिम व्यवस्थाको रुपमा ब्याख्या गरेका छैनन् । त्यसलाई पूँजीवाद र साम्यवादबीचको संक्रमणकालीन व्यवस्थाको रुपमा ब्याख्या गरेका छन् । यो त्यस्तो व्यवस्था हो, जहाँ वर्गहरु, वर्गीय समाजका तमाम अवशेषहरु, वर्गस्वार्थ, वर्गसंघर्ष र वर्गीय अधिनायकत्व कायम नै रहन्छन् । निम्नपूँजीपतिहरु र टुक्रे उत्पादन सम्बन्ध पनि कायम रहन्छ, जुन पूँजीपति बन्ने मोह र लालशाबाट मुक्त हुँदैन । समाजवादी सत्ता र कम्युनिष्ट पार्टीभित्रै पनि व्यक्तिवादले टाउको उठाइरहन्छन्, जसका विरुद्ध विचारधारात्मक अन्तर्संघर्ष अनिवार्य सर्त हो । सर्वहारा जनवादलाई केन्द्रमा राखिएन भने समाजवादी सत्ता, पार्टी र नेताहरु आफै नयाँ शासक वर्गका परिणत हुने खतरा यथावत् नै रहन्छ । यी चिजहरुको अस्तित्व कायम हुनु भनेको पूँजीवादका तमाम अवशेषहरु कायम नै रहनु हो । त्यसमाथि आफ्नो लूट र शोषणको स्वर्ग गुमेको पूँजीपति वर्ग त झनै आक्रामक भएर गुमेको स्वर्ग प्राप्तिका लागि संघर्षरत रहन्छ । अर्थात् अधिरचनाको क्षेत्रमा निरन्तर क्रान्तिकारी कारबाहीहरु चलाउन सकिएन भने पूँजीवादी विचारधाराले पुनः प्रतिक्रान्तिको आधार तयार गर्नसक्छ ।
समाजवादी क्रान्ति र त्यसपश्चातका अभ्यासहरुले के देखाए भने समाजवाद प्राप्तिपश्चातको संघर्ष पहिलेभन्दा पनि निकै पेचिलो, कष्टकर, घनिभूत र चुनौतिपूर्ण बनेर जान्छ । यस कुरालाई लेनिन स्वयंले पनि बारम्बार औल्याउनुभएको छ कि सत्ता प्राप्त गर्न जति कठिन छ त्योभन्दा अझै कठिन यसलाई चलाउन र टिकाउन छ । समाजवादमाफेरिने भनेको वर्गसंघर्ष र अधिनायकत्वको स्वरुप मात्र हो, वर्गसंघर्ष र अधिनायकत्वको अन्त्य होइन । क्रान्तिपूर्वभन्दा क्रान्तिपश्चात सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व निकै बढेर जान्छ भन्ने कुराको दृष्टान्त यसको महत्वलाई लेनिनले पटक–पटक उल्लेख गर्नु र चिनमा माओले यसको अगुवाई गर्नुले नै देखाउँछ । तसर्थ सर्वहारा सांस्कृतिक क्रान्तिलाई लेनिनबाट कटाएर हेर्ने या चिनको परिघटनाका रुपमा मात्र लिने गलत बुझाई र निश्कर्षसँग विचारधारात्मक संघर्ष पनि आजका सच्चा लेनिनवादीहरुको कार्यभारभित्रै पर्छ । तसर्थ समाजवादी व्यवस्थाहरुमा भएकाप्रतिक्रान्तिहरुले सिकाएको गंभीर पाठ के हो भने सर्वहारा सांस्कृतिक क्रान्ति एउटा सार्वभौम सैद्धान्तिक विषय हो, जसलाई अंगिकार नगरिकन सच्चा लेनिनवादी बन्न संभव नै छैन ।
समाजवादभित्रै पैदा हुने व्यक्तिवाद, निम्नपूँजीवादी चिन्तन, समाजवादविरोधी दुर्गन्धित फोहरमैला, झारपात, कसिंगरहरुका बिरुद्ध प्रयोग गरिने किटनाषक औषधि या औजारको नाम हो–सर्वहारा साँस्कृतिक क्रान्ति । यस विषयमा लेनिनले सुरुदेखि नै सोच्न सुरु गरिसक्नुभएको थियो, तर उहाँले समाजवादका लागि पर्याप्त काम गर्न नपाउँदै मृत्यु भयो । यस कडीलाई स्टालिनले पकड्मा केही कम्जोरीहरु रहे।उहाँको वर्गहरु र वर्गसंघर्ष समाप्त भएको भन्ने गलत विश्लेषणका आधारमाअधिरचनाको क्षेत्रमा चलाइने विचारधारात्मक संघर्ष या सांस्कृतिक क्रान्तिप्रतिको उपेक्षाले पनि पूँजीवादी पुनस्र्थापनालाई टेवा दिने काम ग¥यो । तर लेनिनवादलाई थप विस्तार गर्ने, त्यसको पहरेदारको भूमीका खेल्ने र सर्वहारा वर्गको अधिनायकत्वलाई अन्तिमसम्म कायम राख्ने सवालमा स्टालिनले जुन भूमीका निर्वाह गर्नुभयो, त्यो निकै महत्वपूर्ण छ । स्टालीनलाई हामीले लेनिनबाट अलग गरेर हेर्ने गल्ती गर्नुहुँदैन ।
लेनिनले एउटा नयाँ ढंगको कम्युनिष्ट पार्टी या सर्वहारा वर्गको अग्रदस्ता हुनका लागि मुख्य तीनवटा सर्तहरु औल्याउनुभएको छ । ती हुन–माक्र्सवादप्रतिको पकड, फलामे अनुशासनसहितको एकढिक्का पार्टी र जनतासँगको व्यापक र अटुट सम्बन्ध । कम्युनिष्ट पार्टीसम्बन्धि यो बुझाई आज पनि उत्तिकै सही छ जति लेनिनकालमा थियो । यो कुरालाई नजरअन्दाज गर्नु या कुनै पनि बहानामा पन्छाउनु भनेको पूँजीपति वर्गको सेवामा गर्ने ठाउँमा पुग्नु हो । सिद्धान्तप्रतिको उपेक्षाले अन्ततः वर्गसंघर्ष, क्रान्ति र समाजवादलाई कम्जोर बनाउछ । जनवादी केन्द्रियताको उपेक्षा गर्नु बहुकेन्द्र, गुटबन्दी या अराजकताकै पक्षपोषण गर्नु हो । जनतासँग अलग–थलग संगठनले इतिहासका निर्माताको रुपमा जनताको महत्वलाई उपेक्षागर्छ र क्रान्तिको अगुवाई गर्नसक्दैन ।
आज विगतका क्रान्तिहरुको समीक्षा गर्ने, प्रतिक्रान्तिहरुबाट पाठ सिक्ने र नयाँ युगको नयाँ ढंगको समाजवाद निर्माण गर्ने नाउँमा देखा परेको संशोधनवादले यही कुरालाई उपेक्षा गर्छ । जसरी विगतमा लेनिनविरोधीहरुले गर्थे । अर्थात् वर्गसंघर्षलाई खारेज गर्नु, सर्वहारा वर्गको अधिनायकत्वलाई खारेज गर्नु र शान्तिपूर्ण संक्रमणको वकालत गर्ने अवसरवादी पूँजीवादी औजारको रुपमा कम्युनिष्ट पार्टीको ब्याख्या गर्नु ।

लेनिन, आजको समय र हाम्रो कार्यभार

यतिखेर विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यसको अर्थ आन्दोलन शून्यमा छ भन्ने होइन । दुनियाँभरि क्रान्तिकारिहरुसंगठित हुने दिशामा छन् ।जनताको पक्षमा विभिन्न संघर्षहरु पनि संगठित हुने प्रयत्नमा छन् । यतिखेर नेपालको कम्युनिष्ट आन्दोलनको कुरा गर्दा यो विचारधारात्मक रुपमा विचलित र सांगठनिक हिसाबले विघटित अवस्थामा छ ।साम्राज्यवाद राजनीतिक तथा सामारिक हिसाबले बलियो छ तर त्यो लेनिनले भनेझैं ऐतिहासिक हिसाबले मरणासन्न, पतनशील र सडेको छ । ऐतिहासिक हिसाबले संसदवाद कम्जोर छ, तर राजनीतिक दृष्टिकोणले बलियो छ ।
नेपाली कम्युनिष्ट आन्दोलन सुरुवातीकालदेखि नै अन्धानुकरण या कार्यक्रमविहिनताको शिकार हुँदै आएको छ । अन्य देशका क्रान्तिका अनुभव या कार्यक्रमको अन्धानुकरण, आफ्नो देश, काल र परिस्थिति सम्बन्धी बुझाईमा अनभिज्ञता, खास समयमा कुनै अमुक नेताले निकालेको निस्कर्षलाई सदाकाल बोकेर हिड्ने, सर्वहारा विश्वदृष्टिकोण निर्माणलाई गौण स्थानमा राख्ने प्रवृत्तिहरु कायम छन् । नेपाली समाजको उत्पादन सम्बन्ध अद्र्धसामन्ती अवस्थामा छ या पूँजीवादी भैसक्यो ? क्रान्तिको स्वरुप नयाँ जनवादी क्रान्ति हुने या समाजवादी ? क्रान्तिको अगुवाई मास पार्टील गर्छ या विचारधारात्मक हिसाबले प्रतिबद्ध लडाकु अग्रदस्ताले ? चुनावको क्रान्तिकारी उपयोग सही हो या गलत ? यी सवालहरुमा मौलिक सैद्धान्तिक निस्कर्ष, ब्याख्या र प्रयोग होइन अनुभववादी या अन्धानुकरणमा अधारित निस्कर्ष, ब्याख्या र प्रयोगहरु भइरहेका छन् । लेनिनको ठोस परिस्थितिको ठोस विश्लेषण अनि त्यस आधारमा कार्यक्रमहरुको तय गर्ने कुरामा कम्युनिस्ट आन्दोलन चुकेको छ । अर्कोतिर समाजको बौद्धिक सम्पदा निकै कम्जोर छ, जहाँ निम्नपूँजीवादी चिन्तन प्रवृत्ति निकै बलियो हुने गर्छ । यसका लागि भित्र र बाहिर विचारधारात्मक एवं सांस्कृतिक संघर्षको निकै महत्व हुनेगर्छ । जनताको नाउँमा पार्टी अनि पार्टीका नाउँमा एकाध व्यक्तिहरुले शासन गर्ने प्रवृत्ति बलियो छ । यसका लागि आजका चुनौतिहरुसँग लड्न सक्ने पार्टी र नेतृत्वको निर्माण एउटा महत्वपूर्ण कार्यभार हो ।
आज कम्युनिष्ट पार्टीका नाउँमाएकथरि कम्युनिष्ट नाम बेचेर पूँजीवादी राजनीति गर्नेहरु छन् । अर्कोथरि छन् जसले कम्युनिष्ट विचार मान्छन्, तर कम्युनिष्ट विचार अनुरुप आफूलाई ढाल्न सकेका छैनन् । कम्युनिष्ट विचार मान्नु र कम्युनिष्ट विचार अनुरुपको कार्यभारलाई पूरा गर्नु अलग कुरा हुन् । वर्गसंघर्षलाई मान्नु र वर्गसंघर्ष चलाउनु अलग कुरा हुन् । पार्टी घोषणा गर्नु र पार्टी निर्माण गर्नु अलग कुरा हुन् ।दार्शनिक विचारधारात्मक अन्योलग्रस्तता, लेनिनवादी संगठनात्मक प्रणालीको अभाव, वस्तुवादी कार्यदिशाको अभाव, श्रमजीवी वर्गसँग एकाकार हुननसक्नु, सांस्कृतिक रुपान्तरणको अभाव र नेपाली समाजको उत्पादन सम्बन्ध र वर्गविश्लेषणको अभाव आजको कम्युनिष्ट आन्दोलनका मुख्य समस्याहरु हुन् ।
आज पनि वैचारिक प्रष्टताका निम्ति गरिने संघर्ष, संगठनात्मक प्रणालीका लागि संघर्ष र वर्गसंघर्ष निकै कम्जोर अवस्थामा छन् । एकथरि पार्टीहरु छन्, जो नामका माक्र्सवादी, लेनिनवादी र माओवादी छन् । तर त्यहाँ खोज्दा न माक्र्सवाद भेटिन्छ, न लेनिनवाद र न त माओवाद नै । धेरैमा तिनको उल्लेख, चर्चा र स्विकारोक्ति दस्तावेजहरुमा भेटिन्छ तर संगठनात्मक–राजनीतिक जीवनमा कहीं पनि लागू भएको देखिन्न । अर्थात् वकालत माक्र्सवाद–लेनिनवादको गर्ने तर अभ्यास सामन्तवाद–पूँजीवादको गर्ने रोग कम्युनिष्ट आन्दोलन र पार्टीहरुभित्र जबर्जस्त छ । त्यसैगरि अर्कोथरि छन् जो कम्युनिष्ट पार्टी बन्ने प्रयत्न गरेको देखिन्छ । ती प्रयत्नहरु पनि सम्झौतापरस्त चिन्तन, व्यवहार र भड्कावहरुबाट मुक्त देखिन्नन् । राष्ट्रवाद, पहिचनावाद, प्राविधिक निर्धारणवाद, अर्थवाद, सुधारवाद, वामपंथी भड्कावजन्य चिन्तन लगायत नानाथरि उत्तरआधुनिक भ्रमहरुहावी भएका देखिन्छन् । यसरी हेर्दा नेपालको कम्युनिष्ट आन्दोलनभित्र यतिखेर पनि अवसरवाद या संशोधनवादविरुद्धको लडाईं पहिलो कार्यसूचिभित्र पर्छ ।
निम्नपूँजीवादी व्यक्तिवाद कम्युनिष्ट आन्दोलनभित्रको सबैभन्दा चुनौतिपूर्ण रोग भएको छ । जसरी लेनिन माक्र्सवादको रक्षाका लागि दार्शनिक क्षेत्रमा रहेका तमाम विकृति तथा अधकल्चा विचारहरुसँग लड्नुभयो । जसको परिणामस्वरुप उहाँले सन् १९०८माभौतिकवाद र अनुभवालोचनालेख्नुभयो । यो कृति दार्शनिक संघर्षकै उपज थियो । आज पनि हामी त्यतिखेरकै जस्तो दार्शनिक–विचारधारात्मक संकटको बिचमा छौं । धार्मीक पूर्वाग्रहरु, गैह्रमाक्र्सवादी चिन्तन, अन्धराष्ट्रवाद,सुधारवादी दृष्टिकोण र पूँजीवादले फैलाएका नानाथरी भ्रमहरुले कम्युनिष्ट आन्दोलन निकै प्रभावित बनेको छ ।
संगठनात्मक कार्यदिशाको सवालमा जनवादी केन्द्रियताबाट मुख फर्काउनु भनेको लेनिन र लेनिनवादलाई खारेज गर्नु हो । सर्वहारा सांस्कृतिक क्रान्तिबाट पीठ फर्काउनु नै लेनिनवादलाई इन्कार गर्नु हो । वर्गसंघर्ष, वर्गीय पक्षधरता र सर्वहारा वर्गको अधिनायकत्वलाई तिलान्जली दिएर गरिने ‘समय र माटो सुहाँउदो दर्शन’को वकालत पनि अन्ततः लेनिनवादको अवमूल्यन गर्नु हो । बुझ्नुपर्ने कुरा यो छ कि आज दुनियाभरि र नेपालमा पनि संशोधनवादी जमातहरुले माक्र्स, लेनिन र माओका नाम र कम्युनिष्ट पार्टीको झण्डालाई साक्षी राखेरै यी सब काम गरिरहेका छन् । आखिरमा संशोधनवाद भनेकै कम्युनिष्ट आन्दोलनभित्र पैदा भएको पूँजीवाद हो । यससँग कठोर विचारधारात्मक संघर्ष र परास्त नगरी, जनतालाई संशोधनवादी भ्र्रमजालबाट मुक्त नगरी क्रान्तिको आशा गर्नु भावुक क्रान्तिवाद मात्र साबित हुन्छ । तसर्थ कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिने र क्रान्तिको सपना पूरा गर्ने कुरा गर्दैगर्दा माक्र्स, लेनिन, माओ हुँदै स्टालिनको कित्तामा उभिने या काउत्स्की, बर्नस्टिन, खु्रस्चेव, ट्रटस्की हुँदै देङहरुको पक्षमा खडा हुने ? यसबाटै लेनिनवादप्रतिको प्रतिबद्धता या त्यसबाट विचलनको भेद छुट्टिन्छ ।
आफ्नो जीवनकालमा लेनिनले नरोदनिकहरु, वहिष्कारवादी र अर्थवादीहरुसँग सम्झौता गरेको भए, दोस्रो अन्तराष्ट्रियका नेता काउत्स्कीहरुसँग मेलमिलापको नीति लिएको भए उनीहरुसँगको एकता त कायम हुन्थ्यो, तर अक्टुबर क्रान्ति संभव हुने थिएन । रुस र दुनियाँभरिका सर्वहारा–श्रमजीवीहरुको सपना साकार हुने थिएन । आज एकातिर सिद्धान्तहीन एकताको गीत निकै गाइन्छ या कम्युनिष्ट पार्टीको शक्ति उसले अंगिकार गरेको विचारमा होइन प्राविधिक गठजोड या मासमा निहित हुन्छ भन्ने चिन्तनले काम गरेको छ ।अर्कोतिर सिद्धान्तनिष्ठ एकताको कुरा गर्दैगर्दा विचारधारात्मक एकताभन्दा पनि विरोधी चिन्तन, शाब्दिक समन्वयको अभ्यास बढि गरिन्छ । जुन समस्याका रुपमा रहेका छन् र क्रान्तिको सेवा गर्न सकेका छैनन् । कि त सिद्धान्त र विचारधारात्मक संघर्षविहिन नोकरशाही केन्द्रियता या त विचारधारात्मक संघर्षका नाउँमा व्यक्तिवादी अराजकता, फूट र यान्त्रिक निषेध । यसले कहींनेर पनि सर्वहारा जनवादको अभ्यास, विचारधारात्मक–संगठनात्मक मजबूत एकता, सामुहिक नेतृत्वको निर्माणलाई टेवा पु¥याउन सकेको छैन । बरु गुटबन्दी र अराजकतालाई नै बढावा दिइरहेको छ ।
निश्चय पनि आजको समाज लेनिन बाँचेको समयभन्दा फरक ठाउँमा उभिएको छ । दुनियाँमा कैयन परिवर्तनहरु आएका छन् । तर यसको अर्थ लेनिनले भनेको साम्राज्यवाद अर्को ठाउँमा पुगेको होइन, जसले दुनियाँलाई कुनै सही विकल्प दिन सकोस् । राजनीतिक हिसाबले यो आक्रामक देखिए पनि आफैभित्रका समाधानविहिन अन्तर्विरोधहरुले थलिएको छ ।ऐतिहासिक हिसाबले यो मरणासन्न नै छ ।यस अर्थमा यसको आधारभूत चरित्र उही छ, जुन लेनिनले ब्याख्या गर्नुभएको थियो । नेपाली समाज पनि विभिन्न आन्दोलनहरु, विश्व पूँजीवादसँगको संसर्ग, विभिन्न सन्धी सम्झौताहरु, वित्तीय पूँजीको प्रवाह लगायतका कारणहरुले पूँजीवादी देश बन्न पुगेको छ । देश अझैं अद्र्धसामन्ती रहेको तसर्थ नयाँ जनवादी क्रान्तिको कार्यदिशा सही हुने मत पनि छ । त्यसैगरि पूँजीवादी अवस्थामा देश पुगेको भन्नेमा ठूलो मत छ, तर समाजवादमा पुग्ने सवालमा एउटा निस्कर्षले भन्छ–उत्पादक शक्तिको पर्याप्त विकास गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । त्यसले शान्तिपूर्ण चुनावी बाटोबाटै समाजवाद निर्माण गर्ने कुरा गर्छ । त्यसैगरि अर्को मत रहेको छ, जसले वर्गसंघर्षलाई केन्द्रमा राख्छ र त्यसैमार्फत समाजवादमा पुग्ने कुरा गर्छ ।

आज समय र परिस्थिति बद्लिएको नाउँमा लेनिनवादलाई पुरानो करार गर्ने, यसका आधारभूत सिद्धान्तहरुलाई खारेज गर्ने प्रवृत्ति निकै मौलाएको छ ।

‘नेपाली क्रान्तिको विशिष्टता’को वकालत गर्ने नाउँमा ख्रुस्चेवी शान्तिपूर्ण संक्रमणको पक्षमा उभिने, चुनावदेखि चुनावसम्मको संसदवादी भाषमा गएर विसर्जित हुने प्रवृत्ति बलियो छ ।बहुदलीय जनवादी होस् या एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा दुबैले अंगिकार गरेको बाटो एउटै छ । हरेक संशोधनवादी राजनीतिले सिद्धान्तको मौलिक विकासकै नारा दिएर आफूलाई सही सावित गर्ने प्रयास गर्छ । अर्कोतिर बद्लिएको समय, समाज र विज्ञान–प्रविधि र सुचना–सञ्चारको क्षेत्रमा भएको क्रान्तिको हवाला दिदै वर्गसंघर्षको पुरानो फर्मूला काम नलाग्ने दाबी गरिदैछ । समाज समाजवादी युगमा प्रवेश गरिसकेको दाबी गरिंदैछ भने समाजवादका लागि वर्गसंघषको कार्यदिशा होइन सुधारवादी कार्यक्रमहरु अगाडि सारिदैछन् । यसको अर्थ यो होइन लेनिनवाद सुधार र सुधारमुखी कार्यक्रमहरुको विरुद्धमा हुन्छ । क्रान्तिका हरेक प्रश्नहरुलाई सुधारमा मात्र सीमित गर्ने र मात्रात्मक परिवर्तनभन्दा अगाडि बढ्न नचाहने कुराको भने लेनिनवाद विरुद्धमा छ । सुधारवादी–अर्थवादी राजनीतिको अर्थ हो–लेनिनवादको परित्याग, वर्गसंघर्षको परित्याग । जनवादी केन्द्रियता र सांस्कृतिक क्रान्तिको उपेक्षा । पूँजीवादी व्यवस्थाको मातहतमै समाजवादको अभ्यास ।श्रमिक वर्गको क्रान्तिकारी पार्टीको उपेक्षा । यो नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखापर्न थालेको पछिल्लो विचलनकारी सैद्धान्तिक प्रवृत्ति हो ।
जुनसुकै देश र कालको समाजवादमा पनि सार्वभौकिता र विशिष्टता दुबैका लक्षणहरु हुन्छन् ।समाजवादी राज्यसत्ता वर्गसंघर्ष, सांस्कृतिक क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वबाट मुक्त हुन संभव छैन । यी समाजवादभित्रका सार्वभौम विशेषताभित्र पर्ने कुरा हुन् । बाँकि विशेषताहरु त्यो देश, काल र परिस्थितिले निर्धारण गर्छ जुन समाजवादको विशिष्ट गुणहरुभित्र पर्दछन् ।नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीबिना न पूँजीवादलाई परास्त गर्न सकिन्छ न त प्रक्रिान्तिसँग लड्न र समाजवादको रक्षा गर्न नै सकिन्छ ।
यसको अर्थ यो होइन कि आज नेपालमाकठमुल्लावाद या वामपंथी अवसरवादको समस्या छैन । त्यो विभिन्न रुप–रंगहरुमा कायम छ । विचारधारात्मक संघर्षको दौरानमा लेनिनबाट प्राप्त शिक्षा के हो भने एउटासँग संघर्ष गर्दा अर्को प्रवृत्तिसँगको नरम या सम्झौतापरस्त नीति सही होइन । यी दुबै भड्कावहरु क्रान्तिका निम्ति घातक छन् ।नेपालको कम्युनिष्ट आन्दोलनको डरलाग्दो समस्या भनेको उपयोगितावादको समस्या पनि हो । उपयोगका नाउँमा जस्तोसुकै प्रवृत्ति र विरोधी सिद्धान्तसँग पनि घाँटी जोड्न तयार हुनु । त्यसैगरि बखान श्रमजीवी वर्गको अग्रदस्ताको गर्ने तर जस्तासुकै पात्रहरुलाई पनि संगठनभित्र प्रवेश गराउन तयार हुनु ।

आज नेपालका अधिकांश कम्युनिष्ट दाबी गर्ने पार्टीहरुले अंगिकार गरेको लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रियता केबल कागजी वकालतमा सिमित छ ।विचारधारात्मक संघर्ष, आलोचना–आत्मालोचनाजस्ता कुराहरुउनीहरुको सांगठनिक जीवनबाट गायब छन् ।बरु तिनको नाउँमा गुटबन्दी, पद–प्रतिष्ठा र बुर्जुवा अवसरहरुका लागि गरिने संघर्षहरुले लिएका छन् ।गुटबन्दी र संशोधनवाद एउटा सच्चा क्रान्किारी कम्युनिष्ट पार्टीका दुश्मन हुन्,

निम्नपूँजीवादी महत्वाकांक्षाको तिब्र लालशा, त्यो प्राप्त नभएमा कथित विद्रोह र क्रान्तिको हवाला दिंदै एकपछि अर्को समूह निर्माण गर्ने, पदीय मोलमोलाइकै लागि रातारात पार्टी घोषणा गर्ने प्रवृत्ति पनि निकै मौलाएको छ । अर्थात् नियत जेजस्तोसुकै भएपनि विचारधारात्मक विभ्रम, अन्योलग्रस्तता, कम्जोर सैद्धान्तिक धरातल, क्रान्तिकारी दृष्टिकोण र रुपान्तरणको नितान्त अभाव, निम्नपूँजीवादी–व्यक्तिवादी प्रवृत्ति यतिखेरको कम्युनिष्ट आन्दोलनका ठूला चुनौतीहरुहुन् ।

यी चुनौतीहरुलाई परास्त गर्नका लागि आज पनि लेनिनवाद एउटा सशक्त हतियार हो ।
लेनिनवादी हुनुको अर्थ माक्र्स, लेनिन र माओका उक्तिहरुलाई बारम्बार दोह¥याउनु, तीप्रति ओठेभक्ति प्रदर्शन गर्नु मात्र होइन । त्यतिले मात्र क्रान्तिकारी दायित्व निर्वाह हुने कुरामा विश्वास गरेर बस्न पनि होइन । लेनिनवादी हुनुको अर्थ हो माक्र्सवादी विज्ञानको गहिरो अध्ययन र सही बुझाई कायम गर्नु । संशोधनवादका विरुद्ध संझौताहिन संघर्ष, गुटबन्दीबाट मुक्त सर्वहाराकृत सामुहिक नेतृत्व र एकढिक्का पार्टी निर्माणको दिशामा होमिनु, सांस्कृतिक क्रान्तिलाई मनैदेखि आत्मसात गर्नु, वर्गसंघर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई दह्रोसँग आत्मसात गर्नु । इतिहासको भौतिकवादी अध्ययन र ब्याख्या गर्नुका साथै कम्युनिष्ट आन्दोलनको सम्यक समीक्षा गर्दै, त्यसका सकारात्मक–नकारत्मक कुराहरुबाट पाठ सिक्दै अगाडि बढ्नु ।यी कुराहरुलाई पुराना या काम नलाग्ने भैसकेको ठान्नु फेरि पनि कुनै न कुनै भड्कावमा जानु या किस्ता–किस्तामा आफूलाई बुर्जुवा वर्गको हवाला गर्नु नै हुन्छ ।
माक्र्सवादको सृजनात्मक विकास माक्र्सवादी विज्ञानबाट बाहिर गएर हुँदैन । यसको विकास त माक्र्सवादका सार्वभौम नियमहरुलाई दह्रोसँग पकडेर मात्र गर्न सकिन्छ । हाम्रो आन्दोलनभित्र माक्र्सवादको सृजनात्मक विकासका नाउँमा एकातिर यसको संशोधन गर्ने र पूँजीवादी राजनीतिको सेवा गर्ने संशोधनवादी प्रवृत्ति बलियो छ भने अर्कोतिर माक्र्सवादको रक्षाका नाउँमा त्यसका सूत्रहरुलाई दोह¥याएर मात्र पुग्छ भन्ने खालको जडसूत्रवादी बुझाई छ । माक्र्सवादलाई दह्रोसँग पकड्ने र त्यसलाई क्रान्तिकारी व्यवहारमा लैजाने कुरा नै सही हो, तर दक्षिणपंथी संशोधनवादले त्यसलाई पनि जडसूत्रवाद देख्छ । सिद्धान्तको रक्षा, त्यसको प्रयोग र विकासलाई अलग गरेर हेर्ने, बुझ्ने र लागू गर्न खोज्ने कुरा द्वन्द्ववादी नभएर अधिभूतवादी यान्त्रिक बुझाई हो । कुनै पनि सिद्धान्तको रक्षा त्यतिखेर मात्र हुनसक्छ जब त्यसको ठीक ढंगले प्रयोग र विकास हुन्छ । सिद्धान्तको प्रयोग र विकास पनि त्यतिखेर मात्र जब त्यसको रक्षा हुन्छ ।यी एकअर्कोबाट छुट्याएर हेर्ने विषयहरु होइनन्, बरु एक अर्काका परिपूरक र सहयोगी हुन् ।

कस्तो र कस्को पार्टी ? एकता कुन उदेश्यका लागि ?

कम्युनिष्ट पार्टीलाई वर्गीय मुक्तिको औजारको रुपमा लिने भन्दा पनि साध्यको रुपमा लिने मानसिकता हामीकहाँ बलियो छ । साध्य या लक्ष्य मुख्य कुरा हो । त्यो अनुकूलको यदि संगठन छैन भने त्यस्तो संगठनसँग सम्बन्ध बिच्छेद या बिघटन गर्न क्रान्तिकारीहरु तयार हुनुपर्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो सच्चाईलाई उपेक्षा गरेर यदि कुनै संगठन, नेतृत्व र उसबाट सञ्चालित गतिविधिहरु फगत राजनीतिक पहिचान या जिविका धान्नका लागि मात्र जिवित छन् भने बुझ्नुपर्छ तिनले जनताको क्रान्तिकारी भावनासँग खेलवाड गरिरहेका छन् । दोस्रो अन्तराष्द्रियको पतन किन भयो ? जब त्यसले सर्वहारा अन्तराष्द्रियतावादको झण्डालाई पकड्न सकेन अनि विघटन अनिवार्य हुनपुग्यो । लेनिनजस्ता नेताका कारणले नभएर त्यो विश्वयुद्धताका ‘पितृभूमीको रक्षा’को नाउँमा पूँजीपति वर्गसँग घाँटी जोड्न पुग्ने काउत्स्की जस्ता अन्धराष्द्रवादीहरुका कारणले त्यसको पतन भयो । माक्र्सदेखि माओसम्मका प्राधिकारहारुबाट हामीले पाउने शिक्षा के हा भने त्यो संगठनलाई विघटन गर्न रत्तिभर ढिलाई गर्नुहुँदैन जुन क्रान्तिको बाटोमा बाधक बन्छ ।
पार्टी निर्माणको कुरा गर्दा त्यसको उद्देश्य के हो ? प्रष्ट हुन र पार्न जरुरी हुन्छ । साथै त्यो पार्टी कुन वर्गका निम्ति लड्ने पार्टी हो ? कस्को विरुद्ध परिलक्षित पार्टी हो ? यो कुरा पनि महत्वपूर्ण छ । साथै त्यस पार्टीको रणनीति र त्यसलाई सेवा गर्ने आजको कार्यनीति केबल दस्तावेज, भाषणबाजी र गफमा सीमित छ या त्यो बाटोमा साँच्चिकै समर्पित छ ? यसको पनि भरपर्दो जवाफ दिन जरुरी छ ।
नेपालको सन्दर्भमा यतिखेर दुईथरि अतिवादको खेती नै भइरहेको छ भन्दा अतिशयोक्ति हुँदैन । एउटा निरपेक्ष सिद्धान्तहीन एकताको खेती छ भने अर्कोतिर सिद्धान्तहीन र औचित्यहीन विकल्प, विद्रोह या पार्टी निर्माणको खेती । यी दुबै व्यवहारहरु माक्र्सवाद–लेनिनवाद या समाजवादी आन्दोलनको सेवा गर्ने भन्दा पनि निम्नपूँजीवादी महत्वाकांक्षाको अतृप्त भोक शान्त गर्ने ध्येयबाट निर्देशित छन् । यसको अर्थ आन्दोलन शून्यमा छ भन्न खोजेको होइन । बरु कम्युनिष्ट आन्दोलन निर्माणको जिम्मेवारीबोध र गाम्भिर्यता निकै कमजोर स्तरमा छ भन्ने निश्कर्ष हो । यसको एकमात्र समाधान भनेको आज पनि नयाँ सन्दर्भमा, आजकै समयमा उभिएर लेनिन लेनिन बुझ्नु र लेनिनवादको सारतत्वलाई हृदयदेखि आत्मसात गर्नु हो । यसको अर्थ त्यसलाई जीवन व्यवहार र आजकै धरातलमा लागू गर्न प्रतिबद्ध र इमान्दार हुनु पनि हो ।
निश्चय नै यो काम कष्टसाध्य छ, तर यसको विकल्प छैन । आजको समयमा पनि लेनिनवादी बन्नु भनेको यसका सांगठनिक सिद्धान्तहरुलाई झन दह्रोसँग पकड्नु हो । पूँजीवाद बदलिएको निश्चित छ, तर यसको शोषणकारी, मानवद्रोही र कुरुप चरित्र उस्तै छ । त्यसकारण पनि कम्जोर सैद्धान्तिक स्तरसहित, ढिलाढाला, अराजक र कम्जोर संगठनले पूँजीवादसँग लड्न सक्दैन । यो लेनिनवादी संगठनात्मक मान्यता हो ।
आजको समयमा पनि लेनिनवादी बन्नु भनेको तमामखाले अवसरवादी तथा संशोधनवादी चिन्तनरुसँग कहीनेर मायामोह नराखी संघर्ष चलाउनु हो । आजको समयका ती प्रवृत्तिहरु भनेका तमामखाले उत्तरआधुनिकतावादी विचारहरु, अर्थवाद, विसर्जनवाद, संसदवाद, पहिचानवाद, प्रविधिवाद, अन्धराष्ट्रवाद र जातीवाद रहेका छन् । माक्र्सवादको विकसित रुप नै लेनिनवाद हो । तसर्थ हामी लेनिनवादी युगमै छौं । लेनिनवाद, जनवादी केन्द्रियता पुराना भएका होइनन् बरु यिनलाई लागू गर्ने सवालमा कम्युनिष्टहरु नै असफल भएका र पछाडि फर्किएका हुन् ।
लेनिनका शिक्षाहरु अमर छन् ।तसर्थ लेनिन अमर छन् ।यस अर्थमा हाम्रो दायित्व यही हुन जान्छ कि लेनिनका शिक्षाहरुको गहन अध्ययन । त्यसका सार्वभौम सच्चाईहरुको जीवन र जगतमा कार्यान्वयन । समाजको गहन अध्ययन, विश्वका साथै नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन र मिहिन समीक्षा । आजको विश्व परिस्थितिको अध्ययन, नेपाली समाजको अध्ययन, उत्पादन सम्बन्धको अध्ययन र सही वर्गविश्लेषण । लेनिनका शिक्षा र प्रयोगहरुको उज्यालोमा सर्वहारा वर्गको आफ्नै पार्टीको निर्माणको पहल । लेनिनकै भाषामा ठोस परिस्थितिको ठोस विश्लेषण सहित क्रान्तिकारी कार्यदिशाको निर्माण । यस अर्थमा अक्टुबर क्रान्तिको नयाँ संस्करण निर्माणका लागि अगाडि बढ्नु नै आजका सच्चा लेनिनवादीहरुको जिम्मेवारी हो ।

प्रस्तुत विचार लेनिन स्मृति शतबार्षिकीको आयोजनामा दाङको घोराहीमा यही कार्तिक १० गते भएको विचार अन्तरक्रियात्मक कार्यक्रम ‘लेनिन र आजको समय’ मा संयोजक प्रमोद धितालद्वारा सहभागिहरुमाझ प्रस्तुत गरिएको कार्यपत्रलाई यहाँ प्रस्तुत गरेका हौँ – सम्पादक

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2024 Pranmancha All right reserved Site By : Himal Creation