नेपाली राष्ट्रिय टोलीका दुई मिडियम पेस बलर हुन् करण केसी र सोमपाल कामी । उनीहरुले राष्ट्रिय टिममा नयाँ बल बलिङ गर्छन् र धेरै सफलता दिलाएका छन् । आवश्यक पर्दा ब्याटिङमा पनि योगदान दिन्छन् । सोमपाल ब्याटिङमा जुनसुकै पोजिसनमा खेल्न सक्छन् र रन जोड्न सक्छन् । करण हिटर हुन् । अन्तिमतिर आक्रमक रन हान्ने । स्कोर बढाउने ।
तर दुवै खेलाडी मार्की तथा कप्तान रहेको टिमले भने नपाल प्रिमियर लिग एनपीएलमा राम्रो सुरुवात लिन सकेन ।
करणको कप्तानीमा रहेको काठमान्डु गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भयो । करणको बल र ब्याट कुनैमा जादु चलेन । उता लिग अघि सबैभन्दा धेरै चर्चा भएको र भारतीय स्टार ब्याटर शिखर धवन ल्याएर सामाजिक सञ्जालदेखि जताततै चर्चा बनाएको कर्णाली पनि पहिलो खेलमा जनकपुर रोएल्ससँग ८ विकेटले सहजै पराजित भयो ।
त्यही दुई टोली गुर्खाज र याक्स एनपीएलमा आज भिड्दैछन् । एनपीएलको चौथो दिन बुधबार गुर्खाज र याक्सबीचको पहिलो खेल सुरु हनेछ टीयू मैदानमा बिहान ९ बजे ।
पहिलो खेलमा पराजित भएपछि दुवै टोली आज पहिलो जितको खोजीमा छन् । दुवै टोलीको चर्चा उत्तिकै छ । काठमान्डु गुर्खाजको राजधानीको टिम भएकोले यहाँको स्थानिय समर्थन पाउने गर्छ र राम्रो प्रदर्शन गर्न सधैँ दबाब हुने गर्छ । त्यसमा पनि नेपालमा खेलिसकेका अनुभवी विदेशी क्रिकेटर र इंग्ल्याण्डको खेलाडीहरु अनुबन्ध गरेको काठमान्डु टिमबाट आशा पनि छ ।
अर्कोतर्फ कर्णालीमा नेपाली र विदेशी खेलाडी सबै राम्रा छन् । अक्सनमा भाग्यमानी बनेको अनी धवनसहित नेपालमा यसअघि लिग खेलिसकेका खेलाडीहरु अनुबन्ध गरेको कर्णालीको टिम सन्तुलित नै देखिन्छ ।
पहिलो खेलमा भने मैदानमा दुवै टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन् । जसले दुवै टिममा केही निराशा छ । तर एकै खेलमा टिमको बारेमा जज पनि गरिहाल्नु हुँदैन । त्यसैले दोस्रो खेलमा मैदान उत्रँदा दुवै टोली नयाँ जोश र उत्साहका साथ खेल्नेछन् । जनकपुरसँग पहिलो खेलमा पराजित भएपछि कर्णालीका कप्तान सोमपाल कामीले पनि एकै खेलमा जज गर्न नहुने बताएका थिए ।
दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् । त्यही अनुसारको प्रदर्शन भने दर्शकले हेर्न पाएनन् पहिलो खेलमा ।
कर्णालीको टिममा सोमपाल सहित राष्ट्रिय टिमका गुल्सन झा र देव खनाल छन् । यस्तै राष्ट्रिय टिमको अनुभव लिइसकेका दुई स्पीनर भुवन कार्की र मौसम ढकाल छन् । उमेर समूहको कप्तानी नै गरेका रित गौतम पनि छन् । यसैगरी कर्णाली प्रदेशका दीपेन्द्र रावत, अर्जनु घर्ती जस्ता खेलाडी पनि छन् । पहिलो खेलमा अर्जुन घर्तीले एकै ओभरमा २२ रन हान्दै सबैको ध्यान तानेका थिए । त्यो पनि क्यानडाका हर्श थाकरविरुद्ध । थाकेर अलराउण्डर हुन् । १९औं ओभर बलिङ गर्दा अर्जुनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।
विदेशीमा शिखर धवन सँगै हङकङका पूर्व कप्तान बाबर हायत, ओमानका पूर्व कप्तान अलराउण्डर जिसान मक्सुद अनि वेष्ट इन्डिजका भेट्रान चाडविक वाल्टन छन् । बाबर, मक्सुदसँग नेपालमा धेरे खेल खेलेको अनुभव छ । यस्तै वाल्टनले २ वर्षअघि नेपाल टी२० लिग खेलेका थिए ।
उता काठमान्डु टिममा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् । राष्ट्रिय टिमको अनुभव भएका स्पीनर शाहब आलम देखि मिडियम पेस बलिङ अलराउण्डर रासिद खान पनि छन् । यसैगरी उमेर समूहबाट आएका युवा स्पीनर दिपेश कँडेल पनि छन् ।
यसबाहेक घरेलु क्रिकेटमा नियमित खेलिरहेका शंकर राना, सुमित महर्जन र कृष्ण कार्की पनि छन् ।
विदेशी खेलाडीमा नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिट छन् । यसबाहेक बिग बास लिग खेलेका इंग्ल्याण्डका आक्रमक ओपनर स्टफेन इस्किनाजीसहित काउन्ट्री क्रिकेटका अनुभवी अलराउण्डरद्वय डान डौथवेट र नाथन सोटर छन् । डौथवेट पेस बलिङ र नाथन स्पीन बलिङ गर्छन् ।
पहिलो खेलमा दुवै ओपनर लेभिट र इस्किनाजी चाँडै आउट हुँदा काठमान्डुले ब्याटिङमा संघर्ष गर्नुपरेको थियो । डौथवेटले औषत प्रदर्शन गरेका थिए ।
जारी एनपीएलमा स्पीनरले राम्रो प्रदर्शन गरिरहेका छन् । काठमान्डुमा शाहब र दिपेश दुई स्पीनर छन् र एरासमसले पनि साथ दिनेछन् । उता कर्णालीको टिममा नेपालका भुवन कार्की, मौसम ढकाल र दीपेन्द्र रावत छन् भने अलराउण्डर जिसान मक्सुदले पनि स्पीन बलिङमा साथ दिनेछन् ।
खेल : काठमान्डु गुर्खाज भर्सेस कर्णाली याक्स
मिति र समय : १९ मंसिर, विहान ९ बजे
स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
काठमान्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, डान डौथवेट, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल
कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, रित गौतम, बाबर हायत, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, भुवन कार्की, दीपेन्द्र रावत, नन्दन यादव
अ.ख.