


१२ माघ, घाेराही
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतका सबैखाले गल्ती कमजोरीकाे गहिराे समीक्षा गरेर आत्मालाेचित हुँदै जनताकाे बिचमा गइरहेकाे बताएका छन् । आफूहरुले जनताका वास्तविक पिर मर्का बुझ्न र हिजाे जनतामाझ बाँडेका सपनाहरुकाे पुनरागमन गराउन जनतामाझ गइरहेको बताए । पार्टीको याे अभियानमा जनताहरुकाे राम्रो सहयोग र सहभागीता रहेकाेले आगामी चुनाबमा माओवादीलाई बहुमत दिन आग्रह गरिएको बताए । उनले भ्रष्टाचार, बेथिति, कुशासन लगायतकाे विरुद्ध सशक्त आवाज बाेक्ने सबै परिवर्तनकर्मी एवम् क्रान्तिकारी जनसमुदायको पार्टीप्रति सकारात्मक धारणा रहेको बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । “जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ”, उनले भने ।
सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए । यद्यपि याे सरकार आफ्नै भारीले थिचिइरहेकाेले त्यसकाे ओभरलाेडले चाँडै पल्छिहाल्ने बताए ।