गरिबीको आर्तनात पीडा ! बुबाले जंगलमा फालेकी १५ महिने बालिकाको भोकप्यासको प्रलयबाट मृत्यु

आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छिन् । बाग्लुङ नगरपालिका– ६ लमगाउँका दीपक बोहराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबीस घन्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर मृत्यु भएको आफन्तजनले बतााएका छन् ।

शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका– १ अर्जमको जंगलमा गम्भीर अवस्थामा भेटिएकी थिइन् । उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको उनका काका गौतम बोहराले जानकारी दिए ।
धवलागिरि अस्पतालले मृत घोषणा गरेको थियो । त्यसअघि उनलाई बेनी– १ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा लगिएको थियो ।

स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्‍याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । ‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो,’ काका गौतमले भने, ‘अस्पताल पुर्‍याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।’

उद्धारमा पुगेका बेनी– १ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले बच्चा रोएको सुनेपछि बालिका फेला परेको सुनाए । ‘अर्जमदेखि खबरा जाने सडकनजिक गैँडाराको जंगलमा भेटिएकी थिइन् । झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो, तर भित्र गम्भीर असर गरिसकेको रहेछ,’ उनले भने ।
रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । बालिका रातभरको वर्षामा भिजेकी थिइन् ।

परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीको दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यसदिन छोरीलाई श्रीमानसँग छोडेर सरस्वती काममा गएकी थिइन् ।

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको बाध्यता थियो । तर, माया र विश्वास गरेको श्रीमान् छोरीलाई अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्था’का कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका थिए । खोजतलास गर्ने क्रममा उनी निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।

‘निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरीकहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा पनि केही बोल्नुभएन, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो । उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौँ,’ दीपकका भाइ गौतमले भने, ‘छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ ।’

बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कलकलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बनेकी छिन् । परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्‍याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् ।
स्थायी घर पर्वतको जलजला गाउँपालिका– ४ मा भए पनि बोहरा परिवार अहिले ज्याला–मजदुरीका लागि पुर्ख्याैली गाउँमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation